Pages

Monday, May 18, 2015

विचारका नक्षत्र क. मदन भण्डारी र कुशल संगठक क. जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली

     विचार प्रणालीहरु, चिन्तनहरुको बीचमा उदाएका एक सशक्त नक्षत्र क.. मदनकुमार भण्डारी, र त्यसै गरी नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि विभाजित अवस्थाबाट कम्युनिष्ट आन्दोलनलाई सुगठित र सशक्त ढङ्गले अगाडि ल्याउन सांगठनिक हिसाबले महत्वपूर्ण भूमिका खेल्नुभएका नेकपा (एमाले)का संगठन विभागका प्रमुुख नेता क. जीवराज आश्रितको निधन भएको आज २२ वर्ष पूरा भएको छ । आज हामी वहाँहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र वहाँहरुका विचारहरुबाट निर्देशित भएर अगाडि बढ्ने अठोट गराउन, र वहाँहरुले प्रस्तुत गर्नुभएका विचारहरुलाई कार्यरूप दिएर नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने संकल्पका साथ यहाँ भेला भएका छौँ । यतिबेला म क. मदन भण्डारी र क.जीवराज आश्रितलाई सिङ्गै पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।


     नेपालमा कम्युनिष्ट आन्दोलनले अहिले ६६ वर्षहरु पार गरिसकेको छ । कहिले कम्युनिष्ट आन्दोलन अलिक अगििड बढेको छ, कहिले पछाडि परेको पनि छ । आम रूपमा विचारधारात्मक हिसाबले सहीपनका साथ आफ्ना परिस्थितिअनुसार माक्र्सवाद लेनिनवादका परिवर्तनकारी सिद्धान्तलाई कार्यान्वयन गर्न कति सफलता पाइयो त्यसमा पनि भर परेको छ र अन्तर्र्राष्ट्रिय रूपमा के कस्ता उताचढावहरु आए, कस्ता दिनहरु भए, त्यसमा पनि नेपालको कम्युनिष्ट आन्दोलन भर परेको छ । तैपनि नेपालको कम्युनिष्ट आन्दोलन शासनमा नरहेको सत्ता कब्जा नगरेको र हतियार नभएको पार्टी, आन्दोलन हो र सोभियत संघ र पूर्वी युरोप विघटन भएको बेला नेपालमा एउटा प्रमुख राजनीतिक शक्तिको रूपमा र जनताको आकर्षण र आशाभरोसाको केन्द्रको रूपमा स्थापित हुनसक्यो । हामीलाई थाह छ, त्यसका पछाडि परम्परागत विचार वा व्यवहार होइन, समयानुकूल नीति र समयानुकूल व्यवहारबाट आन्दोलनलाई अगाडि बढाउने कुरा त्यसमा हाम्रो पार्टी अगाडि गयो जसमा जननेता मदनभण्डारीको विशेष योगदान रह्यो । आज नेपालमा कम्युनिष्ट आन्दोलन विभिन्न प्रकारका प्रवृत्तिहरु छेउछाउमा रहेका मुख्य रूपमा कम्युनिष्ट आन्दोलन नेपाली समाजको परिवर्तनको आकांक्षाको रूपमा नेपालको कम्युनिष्ट आन्दोलन न्यायपूर्ण समाज निर्माणको प्रयासको रूपमा स्थापित छ र त्यो विश्वास यसले आर्जन गरेको छ । यसका पछाडि जनताको जनवादको भूमिका छ । हामी यस अवसरमा पनि मदन आश्रितका योगदानहरुलाई स्मरण गर्छौँ, कदर गर्छौँ र जनताको बहुदलीय जनवादको मार्गदर्शनलाई पछ्याउँदै अगाडि बढ्ने फेरि पनि प्रतिबद्धता जाहेर गर्छौँ । 
     हामी संविधान निर्माणको  एउटा प्रक्रियामा अगाडि बढिरहेका छौँ । केही वैचारिक, केही वर्गीय हितका, केही शक्तिहरुका स्वार्थहरुका पनि टकराव छन्, जसले गर्दा संविधान निर्माण एउटा अवधि एउटा संविधान सभा असफल भइसकेको पृष्ठभूमिमा दोस्रो संविधान सभा, यस संविधान सभालाई असफल हुन नदिने गरी हामी अगाडि बढिरहेका छौँ । हाम्रो पार्टीले राष्ट्रहितका सन्दर्भमा, राष्ट्रिय एकताका सन्दर्भमा सामाजिक न्याय र समानताका सन्दर्भमा, शान्ति स्थापनाका सन्दर्भमा राष्ट्रिय एकताका सन्दर्भमा र समृद्धिको बाटोमा नेपाललाई अगाडि बढाउने सन्दर्भमा स्पष्ट नीति निर्धारण गरेर अगाडि बढिरहेको थियो र नेपाली समाजमा व्यापक सकारात्मक प्रभाव पारिरहेकै थियो । 
     यस्तो बेलामा अचानक वैशाक १२ गतेबाट अचानक भयानक भूकम्पको सिलसिला सुरु भयो । पहिले हामीले लियौँ, एउटा भूकम्प गयो, त्यस भूकम्पका अन्य पराकम्पनहरु अरु हुन्छन्, तर त्यस दिन एकै छिन पछि अर्को भूकम्प गयो । भोलिपल्ट २४ घण्टामा लगभग अर्को शक्तिशाली भूकम्प गयो र फेरि धेरै दिनपछि १७, १८ दिन पछि फेरि २९ गते लगभग ७ रेक्टर स्केलको अर्को भूकम्प गयो । जहाँ चर्किएको घर, चर्किएको जमिन र अलिकति क्षतिग्रस्त भएका संरचनाहरु ध्वस्त भए । भूकम्पले पनि आफ्नो एपिसेन्टरलाई विभिन्न तिर सारिरहेको छ र एपिसेन्टर सरेअनुसार नै विशाल क्षति पनि भइरहेको छ । कहिले गोरखा बारपाकमा एपिसेन्टर भयो, त्यसले हाम्रो मध्यनेपालका खास गरी पहाडी जिल्लाहरु र त्यसको पनि उत्तरी भेग हिमाल छेउका जिल्लाहरु ध्वस्त बनाए । त्यसपछि सिन्धुपाल्चोक एपिसेन्टरले भोलिपल्ट झनै क्षतिग्रस्त बनायो । फेरि अर्को २९ गतेको दोलखा एपिसेन्टर गरी आएको भूकम्पले अरु क्षति बनायो । 
     हामी यतिबेला एउटा राष्ट्रिय शोकको घडीमा छौँ, राष्ट्रिय विपत्तिको घडीमा छौँ र राष्ट्रिय शोक र विपत्ति असाधारण छ, एउटा हिसाबको छैन । हामी साधारणतया भन्नसक्छौँ, १० हजार जति मान्छेको ज्यान गयो । १५, १६ हजार भन्दा बढी घाइते भए । सात लाख घरहरु या त पूर्ण रूपमा वा पूर्ण रूपमा जस्तै बस्न नमिल्ने गरी ध्वस्त भए । नेकपा (एमाले)को कार्यालय हेर्दा उभिएको छ, तर भर्खरै पनि हाम्रा सचिव कमरेडले साथीहरुलाई घरको नजिक नजान आग्रह गर्नुभयो किनभने घर अत्यन्त खतरनाक अवस्थामा उभिएको छ । यसरी काम नलाग्ने अवस्थामा ७ लाख घरहरु छन् । लगभग आधा जनसंख्या प्रभावित छ, सरदर ८० लाख जनसंख्या यसबाट प्रभावित छ । मनसुन आउँदैछ, लामो वर्षायाम आउँदैछ, आम रूपमा हाम्रा जनता खुला आकाशमुनि छन्, यो पीडाको अवस्था छ । विद्यालयहरुको पठनपाठन अहिले रोकिएको छ । १५ गतेदेखि सुचारु गर्ने हामीले भनेका छौँ, तर विद्यालय भवन नै सात हजार भन्दा बढी भत्किएका छन्, जहाँ सञ्चालन गर्न गाह्रो भइरहेको छ । तिनीहरुको संरचना फेरि कसरी तयार पार्ने, कहाँ विद्यार्थी राखेर पढाउने ? अब प्रिमनसुन र त्यसपछि मनसुन आउँछ र त्यो मनसुनले लगातारको वर्षाले यो धकधकाएको, यो फुटाएको, चर्काएको जमिनलाई पहिरोमा परिणत गर्ने र धेरै पहिरो जाने र धेरै क्षति फेरि हुने सम्भावनाहरु छन्, जसको हामीले अहिलेदेखि तयारी र ध्यान पु¥याउनुपर्ने अवस्था छ । अघि नै कमरेड प्रदीप ज्ञवालीले भनिसक्नुभयो, हाम्रा पुरातात्विक महत्वका ऐतिहासिक धरोहरहरु धेरै ठूलो मात्रामा ध्वस्त भएका छन् । हाम्रो नामै धरहरा गरिएको धरोहर ध्वस्त भएको छ, अरु यस्ता धेरै धार्मिक, पुरातात्विक महत्वका संरचनाहरु ध्वस्त भएका छन् । जहाँ हजारौँ वर्षको हाम्रो सम्झना, हाम्रो स्मरण, हाम्रो इतिहास, हाम्रा कलासंस्कृति ती पनि समाप्त भएका छन् । र जनजीवनलाई सामान्यमा ल्याउन गाह्रो छ, हिजो अपरान्ह सम्म पनि ५.५ रेक्टर स्केलको भुइँचालो आइरहेको छ । त्यो अवस्थामा मानिस अलिकति मन अड्याउन खोज्छ । तर फेरि भूकम्प जान्छ । त्यसले मानिसहरु आतंकित हुने, कतिपय हृदयगति नै बन्द भएर देहावसान हुनेसम्मको र कतिपयलाई मानसिक रूपमा काउन्सिलिङ्ग गर्नुपर्ने, केही मनोवैज्ञानिक उपचारको आवश्यक पर्ने, निक्के ठूलो संख्यामा अनुभव हुन थालेको छ, यस्तो अवस्थामा हामीले पुनर्संरचनाका काम, समाजलाई सामान्यतिर फर्काउने काम गर्नुपरेको छ र यस निम्ति पनि हामीले दृढ अठोट लिनुपरेको छ । धेरै प्रकारका विचारहरु कोही अव्यावहारिक, कोही आंशिक, कोही अरु प्रकारका साथसहयोगलाई पनि सफल ढङ्गले प्राप्त गर्ने र सञ्चालन गर्ने कामहरु गरेर अगाडि बढ्न हामीलाई जनताको बहुदलीय जनवादले मद्दत गर्छ र हामीले त्यसअनुसार नै देशको पुननिर्माण गर्ने, देशलाई सामान्य अवस्थामा फर्काउने कामहरु गर्न जरुरी छ । 
     यतिबेला मैले धेरै समय लिने भन्दा हामीले यस राष्ट्रियरू विपत्तिबाट कुन ठाउँमा हामीले बस्ती बसाउने हो, कुन ठाउँमा बस्ती बसाउन नहुने हो, असुरक्षित बस्तीहरुलाई सुरक्षित ठाउँमा, असुरक्षित प्रकारका घरहरुलाई भवनहरुलाई सुरक्षित प्रकारकामा कसरी परिणत गर्ने भन्ने कुरा पनि एउटा चुनौतिको रूपमा छ । यसलाई हामीले एउटा शिक्षाको रूपमा लिनुपर्दछ । अहिले पश्चिम नेपालका घरहरु, कास्कीभन्दा उताका घरहरु त्यति भत्किएनन् । अथवा रामेछाप, ओखलढुङ्गा भन्दा पूर्वका घरहरु कम हुँदै गएर भत्किएनन् । घरहरु किन भत्किएनन् भन्दा कुृनै राम्रा पक्की घर भएर नभत्किएका होइनन्, जस्ता घरहरु भत्किएका छन्, त्यस्तै घरहरु पनि छन्, तर त्यहाँ धक्का नपाएको, झट्का नपाएको, भुइँचालो महसुस नभएको हुनाले भत्किएनन् । भत्किएका यस ठाउँमा नभत्किएका तर कमजोर घरहरुलाई पनि, अर्को विपत्ति निम्त्याउनु छैन, हामीले विस्थापित गर्नुछ,। अरु घरहरु अरु ठाउँमा सार्ने कुरामा पनि ध्यान दिनुछ । यी यावत् कामहरु गर्नका लागि हामीले ध्यान दिनुपरेको छ । यस्तो बेला सिङ्गै देशले एकताबद्ध हुने, सिङ्गो देशले एउटा नयाँ अठोटका साथ यस शोकलाई शक्तिमा बदलेर अगाडि बढ्ने कुराको अहम् महत्व छ । 
     अलिकति म सरकारको पनि ध्यान आकर्षित गर्न चाहन्छु । सुनिन्छ, सरकारले सबैलाई समेटेर, जुन व्यापकताका साथ लाग्नुपर्ने त्यो भइरहेको छैन । कहाँबाट कति राहत आएको छ, कति सहयोग आएको छ, त्यो जनतालाई बताइराखेको छैन । कुन कुन सहयोग कहाँकहाँ पु¥याइयो र कहाँकहाँ वितरण गरियो कमसेकम बेलुका एउटा समयमा भनिदिए पनि हुन्छ नि ! रेडियोमा भनिदिनुप¥यो, टेलिभिजनमा भनिदिनुप¥यो । सरकारले यो यो ठाउँबाट यति यति राहत आयो, यसरी राहत फलाना ठाउँमा पु¥याइयो, त्यो कुरा बताउनुप¥यो । बङ्गलादेशबाट एक लाख क्विन्टल चामल आयो, त्यो कहाँ वितरण भइरहेको छ, कसरी पठाइएको छ, नेपाली जनतालाई बताउनुप¥यो । अब पालहरु कति आयो, कहाँकहाँ वितरण भयो भन्नेदेखि लिएर अरु कामहरु पनि गर्न जरुरी छ । (मलाई बताउने भन्दा पनि एउटा मेकानिज्म बनाएर नेपाली जनतालाई बताउनुुप¥यो ।¬) म आग्रह गर्न चाहन्छु, सरकारले त्यो गर्नुप¥यो । 
     हाम्रो पार्टी प्रमुखै पार्टी हो, हामी सरकारमै छौँ, तै पनि सबै कुरा हामीलाई नै थाह छैन भने सर्वसाधारण जनतामा कसरी थाह होला ? यसर्थ म सरकारलाई भन्न चाहन्छु, यति बेला सबै जनताको साथ बिना हामी अगाडि जान सक्दैनौँ, सबै पार्टी, सबै पक्षहरु, संघसगठन, संघसंस्था, सबै जनता, सबै क्षेत्रको साथ लिने विधिहरु अपनाउन जरुरी छ, यस परिस्थितिको हामीले सामना गर्न जरुरी छ, आज जेठ तीन गते मदन आश्रितको २२औँ स्मृति दिवस, यतिबेला हामी हाम्रा अत्यन्त दूरदर्शी, अत्यन्त सही विचार भएका नेताहरुलाई स्पमरण पनि गरिरहेका छौँ, श्रद्धाञ्जली पनि दिइरहेका छौँ, वहाँहरुको  विचार र कामहरुबाट प्रेरणा लिने काम पनि गरिरहेका छौँ भने यतिबेला यस स्थितिको सामना गर्नका लागि पनि हामी यी कामहरुलाई बढाऔँ भन्ने आग्रह गर्न चाहन्छु । 
     मैले धेरै कुरा भन्नु भन्दा पनि कमरेड मदन भण्डारी, जीवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, सिङ्गै पार्टीको तर्फबाट, हामी सबैको तर्फबाट र मेरो तर्फबाट पनि भन्दै आफ्नो भनाइ यहीं टुङ्ग्याउन चाहन्छु, धन्यवाद!

No comments:

Post a Comment