Pages

Monday, October 27, 2014

रिपोर्टर्स क्लब नेपालको प्रतिनिधिमण्डलसँग


स्थानः बालकोट 
मितिः २०७१।७।३
     सबै नेपालीहरुमा यहाँहरु मार्फत तिहारको, दीपावलीको शुभकामना दिन चाहन्छु । नेपाल संवत् नयाँ वर्ष प्रवेशको सन्दर्भमा शुभकामना भन्न चाहन्छु । जहाँसम्म संविधान निर्माणको प्रश्न छ, संविधानविहीन अवस्थामा देशलाई राख्ने प्रयास सफल हुन सक्दैन । यस प्रक्रियालाई लम्व्याएर अनन्तकालसम्म लाने, अराजकता सिर्जना गर्ने, अस्तव्यस्तता सिर्जना गर्ने र त्यसबाट लाभ लिन सकिन्छ भन्ने भ्रान्त दृष्टिकोणसँग सहमत हुन सकिँदेन । हामीले प्रतिबद्धता जनाएका छौँ, सबै पार्टीहरुले आफ्नो घोषणापत्रमा जनाएका छन्,  पटकपटक भनेका छन्, एक वर्षभित्र संविधान दिन्छौँ भनेर । एक वर्षको सुरुवात माघ ८ गते संविधान सभाको पहिलो बंैठकबाट गरिने भन्ने धारणाअनुरुप माघ ८ गतेभित्र नयाँ संविधान जारी गरिनेछ । पहिलो कुरा तपाईंहरुलाई आश्वस्त पार्न खोजेको, ढुक्क पार्न खोजेको यो हो कि माघ ८ गतेभित्र हामी संविधान जारी गर्छौँ । दोस्रो, संविधान सभामा कसैको पनि एक तिहाइ वा त्यसको आसपास भन्दा बढी छैन । संविधान जारी गर्न कम्तीमा दुई तिहाइ नभई हुन्न । त्यसैले संवाद, सहमति र सहकार्य हाम्रा निम्ति अनिवार्य छ । यो कुरा हाम्रो इच्छा पनि हो र इच्छा नभए पनि बाध्यता पनि हो । एक तिहाइ भन्दा बढी कसैसँग छैन, दुई तिहाइ नभई संविधान जारी हुँदैन भने संवाद, सहमति जरुरी छ । त्यस कारण हामीले हिँड्ने बाटो संवाद, सहमति प्राप्त गर्ने बाटै हो । यसो गर्दा हामी संविधानको पक्षमा कसैको मत अछुतो हुन्छ भन्ने ठान्दैन । सबैले संविधानको पक्षमा मत जाहेर गरून् भनेर हामी प्रयास गर्छौँ । मतभेदहरु होलान्, कसैले कसैलाई चरम दक्षिणपन्थी ठान्ला, कसैले कसैलाई उग्रपन्थी ठान्ला, कसैले कुन कुरामा असहमति जनाउला, तर जे सुकै भए पनि सबैलाई हामी आग्रह अनुरोध गर्दछौँ, संविधानका पक्षमा हामी एकमतले जाऔँ र सबैले संविधान जारी गर्ने कुरामा सहमति जनाऔँ । हाम्रा यी प्रयासहरु अथक रूपमा हामी अगाडि बढाउँछौँ र सहमति प्राप्त गछौँ । अब कथंकदाचित् कसैले समाजमा अस्तव्यस्तता, अराजकता सिर्जना गरेर आफूले फाइदा लिन सकिन्छ भन्ने भ्रम पाल्छ भने त्यस भ्रमअन्तर्गत वा अन्य कुनै कारणबाट दुष्प्रभावित भएर संविधान बन्न नदिने नियत राख्छ भने सहमतिका साथ संविधान बन्न दिनुहुन्न भनी ठान्छ भने र सहमति गर्दिनँ भनेर पानी समाउँछ, कसम खान्छ भने त्यस्तो एक दुई असहमतिका कारण संविधान जारी गर्ने कामा रोकिन सकिँदैन, किनकि यो संविधान सभा कतिपयले वहिप्कार गर्दागर्दै संविधान बनाउनका लागि लगभग असी प्रतिशत सहभागिताका साथ जनताले  पठाएको हो । विश्वास फैलाउन खोज्नेका बीचवाट उत्साहका साथ जनता संविधानका लागि मतदान भएको हो । संविधान बनाउने हाम्रो उद्देश्य कसेका एकदुई असहमतिका कारण रोकिने छैन, प्रक्रियाबाट संविधान बन्छ नै । 
     अर्को कुरा संविधान जारी गर्ने सन्दर्भमा ऋषिजीले भनेको तेस्रो कुरामा जानु जरुरी छैन । सहमतिको हाम्रो अथक प्रयास जारी हुनेछ । कदाचित् कुनै कारणले सहमति हुन सकेन भने आवश्यक संख्या नपुगी संविधान जारी हुँदैन, आवश्यक संख्या पुगे पछि रोकिँदेन, कसैले रोक्न खोज्यो भने त्यसको सामना गरिन्छ । देशलाई अन्धकारमा राख्न खोज्ने, देशमा संविधान आउन नदिने, सहमति गरौँ न भन्दा कुनै हालतमा पनि सहमतिमा आउन नखोज्ने, सहमति बिना लौ संविधान जारी गर त भन्ने २२ दलका २२ सय मानिसको विरोध प्रदर्शन गर्ने । यस्ता खालका प्रयासहरुलाई हामी बुझ्छौँ, यो संविधान बन्न नदिने प्रयास हो । सहमति नगर्ने, सहमति बिना संविधान जारी गर्न नपाइने भनेको के ? यो अनौठो कुतर्क हो, यति सारो कुतके दुनियाँमा कसैले गर्न सक्दैन । नेपालमा मात्रै छन् यस्तो चरम कुतर्क गर्न जान्ने । सहमत नहुने, सहमति बिना कार्य गर्न नपाइने । भने पछि उनले जे भन्छन्, त्यो मात्रै जारी गरिदिनुपर्ने । उनीहरु जे भन्छन् त्यसमा मात्रै सहमत हुन्छन्, अरुले मानिदिनुपर्ने । 
     यता संविधान निर्माणको उद्देश्यका निम्ति वातावरण सहज बनाउनका लागि एमाले, काँग्रेस, एमाओवादी र अरु सम्मिलित राजनीतिक समिति बनेको छ । एक जना मित्रले संयोजक आपूmलाई नभई हुँदैन भनेर महिनौँ साह्रै जिद्दी गर्नुभयो र लौ त भनेर संयोजक उनलाई बनाइयो । संविधान बनाउने राजनीतिक समितिको संयोजक बनाइयो । अर्कातिर वहाँ संविधान बन्न नदिने मोर्चा गठन गरेर लाग्नुभएको छ । अचम्म लाग्छ, भुइँ खोस्रेर, भित्ता हानेर, लौरी खेलेर के गरेको थाह छैन, विद्रोह गछौँं, विद्रोहमा उत्रन्छु, यदि लडाउँछ भने म यता आउँछृ, उता जान्न भनेको त्यो त वहाँको छँदैछ । उता जानुहुन्छ वहाँ, यता आउनुहुन्न भनेको संविधान बन्न नदिनेतिरै जानुहुन्छ । जनता भनेको कै? जनताले आफ्नो मतद्वारा पठाएका पार्टीहरु, बनाएको संविधान सभा होइन ? यो संविधान सभा केका लागि जनताले बनाएको त भन्दा संविधान बनाउनका लागि । संविधान सभाको जुन बनावट जनताले तोकेको छ, त्यो केका लागि । अब संविधान सभामा जतताले प्रतिनिधि पठाएपछि र संविधान सभाको काम संविधान जारी गर्ने भए पछि संविधान सभाका अहिले रहेका प्रमुख पार्टीहरुले लोकतान्त्रिक संविधान बनाउँछौँ भन्ने प्रतिबद्धता जनाए पछि फेरि जनमत संग्रह किन? कति पटक जनतासँग भोटै मात्र माग्न जाने ? जनमत संग्रह भनेको छ, संविधान सभा भनेको छ, के सोध्न जाने जनतालाई? लोकतान्त्रिक संविधान बनाउँछु भनेका होइनौ? देऊ न संविधान भन्दैनन् जनताले ? हामीलाई संविधान बनाउन जनताले पठाएको छ, संविधान लिएर जनतामा जानुपर्छ । चार जना मान्छे असहमत भयो भन्दैमा जनमत संग्रह भन्ने हुँदैन, जनमत हामीलाई थाह छैन र ? जनमत प्रतिविम्बित भएको छैन ? त्यस कारण त्यो उलामालाका पछाडि लाग्नु हुँदैन । जनमत त ८० प्रतिशत जनमत हो । सबै प्रतिविम्बित भएकै छ, त्यस कारण जनमत संग्रह जस्तो कुरा गर्ने, फेरि अर्को वितण्डा खडा गर्नै त्यस खालको कुराको आवश्यकता नै छैन । कसैले देश टुक्र्याउन पाउनुप¥यो भन्यो, जनमत संग्रह होस् भन्यो, पाउँछ ? फेरि त्यति छोडिदियो भने देश टुक्र्याउन पाउने सन्दर्भमा उसले अनावश्यक कुतर्क गर्छ नि, जनतामा भ्रम फैलाउँछ । त्यसकारण कतिपय कुरा छलफलका लागि हुँदैनन्, नियन्त्रण गरिन्छ । देशको एकताको पक्षमा सरकार दृढ उभिन्छ, हामी सँधै सरकारमा हुन्नौँ तर पार्टी उभिन्छ । शान्ति खल्बल्याउने खालका विभिन्न साम्प्रदायिकता, घृणा भड्काउने खालका कुनै कुराहरुसँग हाम्रो पार्टीको सहमति हुँदैन । लोकतान्त्रिक मूल्य मान्यताको लोकतान्त्रिक संविधान हामी निर्माण गर्छौँ, कुनै पनि शब्दको कुनै पनि नामको अलोकतान्त्रिकरण, तानाशाहीकरणका दिशामा, अराजकताका दिशामा, अस्थिरतका दिशामा देशलाई लाने काम सफल हुन दिइन्न । चार जना मान्छे उता¥यो, तोडफोड गरायो, अनि जनताले ग¥यो भन्यो । यस्तो कुरा अब चल्दैन ।  
प्रश्नः अब के प्रक्रियामा गएर माघ ८ गते नै संविधान जारी गर्ने हो र?

उत्तरः मैले भनी नै सकेँ, खुलस्त भाषामा माघ ८ गते नै संविधान जारी हुन्छ ।

प्रश्नः तयारी नि?

     हामी अहिले सहमतिकै काम गरिराखेका छौँ, सहमतिकै प्रयास गरिरहेका छौँ, हाम्रो उद्देश्य सहमतिका साथ संविधान जारी गर्ने हो । छ सय एक कोही बाहिर नजाऊन्, हिजो विभिन्न भ्रम पालेर चुनाव वहिष्कार गरेर बाहिर बसेका पनि विरोधमा नरहून् । बाहिर रहेकाले पनि समर्थन गरून्, हामी सबैको त्यो चाहना हो । तर देश तल परे परोस् मेरो कुरा माथि पर्नुपर्छ भन्ने केही मान्छेहरु छन् । देश तल परेर भए पनि आफ्नो कुरा माथि पर्नु पर्ने । त्यसलाई मान्न सकिँदैन । संविधान नबनाउने कुरा कसैको अहंतुष्टिको होला, कोही विभिन्न उद्देश्य र अरु चीजबाट दुष्प्रभावित भएको होला, त्यो मान्न सकिन्न । त्यसकारण सहमति भए पनि प्रक्रियामै जानुपर्छ, सहमति नभए पनि प्रक्रियामै जानुपर्छ । संविधान भनेको कुनै रत्नपार्कबाट घोषणा गर्ने कुरा त होइन । त्यसको एउटा प्रक्रिया छ, निर्णयार्थ पेश हुने प्रक्रिया छ, निर्णय गर्ने प्रक्रिया छ । त्यही प्रक्रियामा जाने हो । अब निर्णय गर्दाखेरि हामीले हेर्नुपर्छ, कतिले मतदान गर्छन्, त्यसबेला मात्र थाह हुन्छ । सहमति त हुन्छ नै, सहमतिका साथै संविधान जारी हुन्छ । तर कोहीकोही एकाधले मानेन भनें......। मौसमविद्हरुले भन्छन् नि आज मौसम सफा छ भनेको आकाशमा बादलका टुक्राटाक्री पनि छैनन् भनेको हो र? हुन सक्छन् नि! टुक्राटाक्री हुँदै गर्छ एकाध, तर मौसम सफा छ । 
     हामी अहिले संक्रमणकालमा छौँ । यसमा विभिन्न पृष्ठभूमिबाट आएका दलहरु छन्, शक्तिहरु छन् । अलोकतान्त्रिक पृष्ठभूमिबाट आएकाहरुलाई लोकतन्त्र स्वीकार्न सहज हुँदेन । मलाई लाग्छ, उनीहरु आफैँ पनि सङ्क्रमणकालीन अवस्थामा छन् भने उनीलाई पनि एउटा प्रक्रिया लाग्छ र त्यसले समयको माग गर्छ । यदि सहमत हुँदैनन् भने एउटा प्रक्रिया र एउटा समयको माध्यमबाट विस्तारै सहमत हुँदै जान्छ । हतियार नउठाउन त भन्दा मान्दैनथे नि, अब गल्ती रहेछ भन्ने ठाउँमा त पुगे । अझै पनि जनताको बीचमा ताउपाउ र विद्रोह रे! विद्रोह भनेको के ? अहिले पनि नेपालमा उत्पात् नै मच्चाउँछु भन्ठानेका छन् कि क्या हो ? त्यो सम्भव छैन । हामी कुन मितिमा छौँ त हामीले थाह पाउनुपर्छ । त्यस्तै कुन ठाउँमा छौँ, कस्तो अवस्थामा छौँ भन्ने पनि थाह हुनुपर्छ । उहिले हाई जम्प गर्ने, लङ्ग जम्प गर्ने भनेर यतिखेर हुन्छ ? त्यसकारण कतिपयलाई पहिलेका सम्झना आउन सक्छन्, तर ती अहिले काम लाग्दैनन् । मेरो नम्र निवेदन यति हो । 

प्रश्नः प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ गते संविधान जारी नभए पनि संविधान जारी नहुँदासम्म म नै प्रधानमन्त्री रहन्छु भन्नुभएको छ, यसमा तपाईंको भनाइ के रहेको छ? 

उत्तरः यसमा एउटा कुरामा मात्र आशंका गर्न सकिन्छ, कहीं माघ ८ मा संविधान जारी नगरेर रहन खोजिएको त हैन ? यस्तो आशय त छैन ? तर हामीले के भनेका छौँ भने माघ ८ गतेभित्र संविधान जारी गर्ने हो र संविधान जारी भए पछि सरकार परिवर्तन हुन्छ । माघ ८ गते संविधान जारी भयो भने सरकार परिवर्तन भन्दा अघिल्लो कुरा भयो । त्यही चाहिँ भएन र त्यसको अगुवाइ सरकारले गरेन भने त त्यहीँ गइगयो नि! माघ ८ गते भित्र संविधान जारी गछौँ, संविधान जारी भए पछि सरकार परिवर्तन गर्छौँ भने पछि माघ ८ गते भित्र संविधान जारी गर्न नसके प्रधानमन्त्री चाहिँ म बसिरहन्तु भन्ने कुरा वहाँले कसरी गर्न सक्नुहुन्छ ? त्यो एउटा कथंकदाचित् भन्ने केही भन्नुभएको होला । मलाई त्यस्तो लाग्दैन । वहाँले पटकपटक भन्नुभएको छ, माघ ८ गते संविधान जारी गर्ने र मलाई संविधान जारी गरेपछि रहन पनि मन छैन र संविधान माघ ८ गतेभित्र हुन्छ र त्यसपछि मैले छोड्छु ।

Tuesday, October 14, 2014

बंगालीको अनुवाद गरेर, युरोप हेरेर नेपालमा प्रदेश बन्दैन ।

(एमाले संसदीय दलको बैठकमा दिनुभएको मन्तव्यको अंश, २०७१।६।२३)


     हाम्रो राष्ट्रको, हाम्रो समाजको बनावट मिश्रित खालको छ । १२५ जातजाति, १२३ भाषाभाषीको मिश्रित बनावट हाम्रो सुन्दरता हो, हाम्रो सम्पदा हो, हाम्रो सम्पत्ति हो । यसलाई विभेद, विभाजनको कारण बनाउनहुँदैन । धाँजो जहाँ छ, त्यहीं फेसा ठोक्ने र समाजमा पहाड र मधेशका बीचमा, पूर्व र पश्चिमका बीचमा, लेक र बेँसीका बीचमा, अनि विभिन्न जातिहरुका बीचमा भाँजो हाल्ने खालका कुरा भयो भने त्यसले नेपालको राष्ट्रियतालाई कमजोर पार्छ । त्यो होइन, हामी राष्ट्रिय एकतालाई सबल बनाउने संविधान बनाउँछौँ । हाम्रो राष्ट्रिय एकता र राष्ट्रलाई महत्व दिऔँ भन्ने अभियान भनेर हामीले आज राष्ट्रिय झण्डा वितरण पनि गरेका छौँ । हामीले नेपाललाई हाम्रो ध्यानमा राखेका छौँ, हाम्रो मस्तिष्कमा राखेका छौँ, हाम्रो छातीमा राखेका छौँ– नेपाल! त्यो कुराको एकता हुन पनि जनताको एकता बिना हुँदैन । कतिपयले छुट्टै झण्डा, छुट्टै नाम, छुट्टै के बनाउनुपर्छ, झण्डा जलाउनुपर्छ भन्नेदेखिका कुरा गरे । नेपालकै नाम फेर्नुपर्छ भन्नेदेखि लिएर के कुरा आएन? त्यसकारण नेपाल नेपाल रहन्छ, नेपालको झण्डा नेपालको झण्डा रहन्छ, नेपाल राष्ट्र राष्ट्र रहन्छ । यो राष्ट्रै होइन, राष्ट्रै बनेको छैन भनेको पनि तर्कहरु छन् । कतिपयले यो बहुराष्ट्रिय राष्ट्र हो भन्छन् । बहुराष्ट्रिय राष्ट्र होइन, बहुजातीय राष्ट्र हो । राष्ट्र एउटा हो, नेपाल हो, जातिहरु छन् । यो बंगालीको अनुवाद, बंगालीले जाति भनेको राष्ट्र भन्छन् । त्यो जाति राष्ट्र भनेको हुनाले त्यसबाट नेसन्यालिटीज भन्दाखेरि यस्तो हो भन्न खोजेको होला । कतिपय शब्दहरुका आफ्ना अर्थहरु विभिन्न भाषामा हुन्छ । हाम्रो त रेस, कास्ट, एथ्निक ग्रूप अथवा नेसन, यी कुराहरु पृथक् पृथक् अर्थका कुरा हुन् । कलिलो छ, त्यसैले नेपाल राष्ट्र बनेको छैन भन्छन् । हामीमा कुनै कन्फ्युजन रहनु हुँदैन । हाम्रा हिमालहरु कलिला छन्, हाम्रा पहाडहरु कलिला छन् । के कलिलो हुँदैमा हिमाल होइन? कलिलो हिमाल छ, भूगर्भविद्हरुलाई सोध्नुस् । हाम्रा पहाडहरु कलिला छन्, सोध्नुस् त भूगर्भविद्लाई ! कलिला छन् भन्दैमा हुँदै होइनन् र पहाड? मान्छे कलिलै जन्मन्छ, के मान्छे नै होइन? के जन्मेको हो त? त्यसकारण कलिलो हुँदैमा हुँदेन भन्ने कुरा होइन । नेपाल कलिलो होला, तर यसको उतारचढावको इतिहास, यसको विकास र सभ्यताको इतिहास पाँचौँ, दसौँ हजार वर्ष पुरानो छ । 
     हामी एकै जातिको एउटा राष्ट्र भएर युरोप बनेजस्तो होइन । युरोपमा चाहिँ जर्मन भाषा छ, जर्मन जाति छ, त्यो भूगोल छ एउटा र जर्मन देश । फ्रेञ्च भाषा छ, फ्रेञ्च जाति छ र फ्रान्स देश छ । स्पेनिश भाषा छ, स्पेनिश जाति छ र स्पेन देश छ । इङ्लिस भाषा छ, इङ्लिस जाति छ र इङ्ल्यान्ड देश छ । यस्तो नेपाल होइन । नेपाल बहुजातीय, बहुभाषिक, विविधताले युक्त मिश्रित बसोवास भएको देश हो, जहाँ शताब्दीयौँदेखि मिलेर नेपालीहरु बसेका छन् । यो एकतालाई खल्बल्याउने प्रयास भइराखेको छ । हामी पूर्वीयहरुको एउटा सभ्यता छ । अनि किरातहरुले राज्य गर्दाखेरि कुन सभ्यताअनुसार गथ्र्यो ? किराती राज्य त थियो नि, त्यतिबेला पूर्वीय सभ्यता त थियो नि, त्यतिबेला पूर्वीय सभ्यताका ठेकेदारहरु बाहुनहरु त थिएनन् । यो सभ्यता भनेको एउटा जाति विशेषको होइन । पूर्वीय सभ्यता, लिच्छविहरु त्यही सभ्यतामा, किरातहरु त्यही सभ्यतामा, हूणहरु त्यही सभ्यतामा, गोपालवंशीहरु त्यही सभ्यतामा । त्यसै पूर्वको सभ्यता, हाम्रो सामाजिक प्रबन्ध, त्यसलाई विकास गर्ने क्रममा उनीहरुले राज्य पनि सञ्चालन गरेर आए, सामाजिक पनि प्रबन्ध गरेर आए र यो देश चाहिँ राजनीतिक कारणले किरात र लिच्छविको बीचमा, शाह र मल्लका बीचमा द्वन्द्व परेको होला, तर जातिका कारण परेको छैन । त्यस कारण जातीय मुद्दामा, जातीय विषयमा विकास गर्ने अवसर दिनुपर्छ, शिक्षा, स्वास्थ्यका अवसर दिनुपर्छ, तर हामी घरघरमा राज्य पु¥याउन सक्दैनौँ । एक एक जातको एक एक वटा राज्य भनेको त घरघरमा राज्य भनेको भयो ।
     अब लालबाबुजीको छिमेकमा भन्ने हो भने त्यहाँ अर्को पण्डित छैन, अर्को क्षेत्री, बाहुन, साह, मारवाडी छ । मेरो घरको वरिपरि हेर्ने हो पनि एउटै पनि ओली छैनन्, कोही भोजपुरी बोल्छन्, कोही कानपुरी बोल्छन् । त्यसैले हामी राष्ट्रिय एकतामा जोड दिन्छौँ । अर्को कुरा, सर्वोपरि कुरा हाम्रो देश पछाडि परेको छ, त्यसलाई अगाडि बढाउने, आधुनिकतामा लाने र जनता, देशमा गरिबी छ, त्यसलाई समृद्धिमा लाने । त्यसका लागि हामीले संविधान गर्ने हो । 
     यी कुरामा हाम्रो संविधानमा हामीले कम्प्रमाइज नगर्ने हो । अरु कुरामा हाम्रो लेनदेन हुनसक्दछ । हाम्रो आधारभूत अडानहरु के हुन् भन्दाखेरि राष्ट्रिय एकताविरुद्ध हामी जान दिँदैनौँ, फुट, विभाजनतिर हामी जान दिँदैनौँ । अलोकतान्त्रिक प्रणालीतर्फ हामी जान दिँदैनौँ । अब लोकतान्त्रिक प्रणाली भित्रका यसो गर्दा हुन्छ कि, त्यसो गर्दा हुन्छ कि भन्ने कुरामा, तात्विक असर नपर्ने कुरामा सहमति हुन पनि सक्दछ । अब कमरेडहरुले के भने एक समयमा एउटा कुरा गरियो भनेर त्यसैलाई हाम्रो एकदमै अडान हो, त्यही संविधान हो किन मिचियो भन्ने खालको कुरा होइन । ती संविधान निर्माण गर्ने क्रममा हाम्रा प्रस्तावहरु हुन् । अहिले पनि हामीले ती प्रस्तावहरु गरेका हौँ । 
     महिला अधिकारको च्याम्पियन पार्टी एमाले हो, जातीय विभेद र थिचोमिचोको सबभन्दा ठूलो विरोधी पार्टी एमाले हो । लक्ष्यकेन्द्रित, उद्देश्य केन्द्रित, गन्तव्यकेन्द्रित हाम्रो यात्रालाई सुदृढ एकताका साथ र सक्रियतापूर्वक अगाडि बढाउँछौँ, यस प्रयासलाई असफल हुन दिँदैनौँ ।


Monday, October 6, 2014

हामी चाहन्छौँ, कोही पनि हामीले जारी गर्ने संविधानभन्दा बाहिर नहोस्!



(नेकपा (एमाले) का अध्यक्ष क. के.पी. शर्मा ओलीले केही समयअगाडि जितिया पर्वको अवसरमा अायोजित एक कार्यक्रममा दिनुभएको भाषणको सान्दर्भिक अंश यहाँ प्रस्तुत गरिन्छ । – निजी सचिवालय)

     अहिले हाम्रो देशको सन्दर्भमा हामी सबैलाई थाह छ ।  हामी सङ्क्रमण कालमा छौँ र यो सङ्क्रमणकाल हामीले केही तीता अनुभवहरु लिएको अवस्थामा गुज्रिरहेको छ । ०६२÷६३ पछि एउटा विशेष सङ्क्रमणकाल सुरु भयो । यद्यपि नेपालमा ००७ सालको आन्दोलनदेखि, राणाशाहीको समाप्तिछि, नयाँ जमानाको प्रारम्भछि नै नेपाली समाज सामन्ती, निरङ्कुश राजतन्त्रात्मक शासन र जहाँनिया राणाशासनको दूई चक्रव्यूहबाट लोकतन्त्रतर्फको लोकतान्त्रिक गणतन्त्रतर्फको यात्रामा प्रवेश ग¥यो । असमानता र विभेदहरु जो समाजमा थिए, तिनलाई हटाएर लोकतान्त्रिक समाज स्थापना गर्ने दिशामा अगाडि बढ्यो । त्यसै गरी अधिकारविहीन जनतालाई अधिकारसम्पन्न बनाउने दिशामा अगाडि बढ्यो । र देशको समृद्धिको दिशामा अगाडि बढ्यो । यो एउटा सङ्क्रमण, उतारचढावहरु भए, कहिले प्रतिगमन भयो, कहिले अग्रगमन भयो, ती कुराहरु हामीले झेल्दै आयौँ । ०६२÷६३ को आन्दोलन अर्कों एक विशेष आन्दोलनको रूपमा, एउटा मोडको रूपमा हामीले लिएका छौँ र त्यस आन्दोलनले एउटा विशेष सङ्क्रमणकाल सुरु ग¥यो । यो विशेष संक्रमणकालका विभिन्न उपचरणहरु रहे । संविधान सभाको गठन, त्यो भन्दा अगाडिको कुरामा म धेरै जान चाहन्न, किनभने जङ्गलमा रहेको माओवादीलाई फेरि हिंसाको बाटोबाट शान्तिपूर्ण लोकतान्त्रिक बाटोमा फर्कने क्रमको सुरुवात भयो । जब शान्ति सम्झौता भयो, उनीहरु संसदमा र सरकारमा सहभागी भए र संविधान सभाको निर्वाचन भयो । निर्वाचन पछि संविधान सभाको कार्यकाल सुरु भयो, दुई वर्ष थियो, चार वर्ष बनाइयो, तर चार वर्षमा पनि संविधान बन्न सकेन,  बन्न दिएन र संविधान सभालाई, संसदलाई असफल बनाउने, भङ्ग गर्ने काम बलजफ्ती भयो । 
     त्यसपछि हामी एउटा भयावह स्थितिमा फँस्यौँ । राजनीतिक संकट र संवैधानिक संकटको अत्यन्तै जटिल खालको स्थितिमा फँस्यौँ, जहाँ राजनीतिक संकटलाई संविधानले समाधान दिन सक्दैन, संवैधानिक संकटलाई समाधान दिने कुनै प्रतिनिधिमूलक संस्था वा संसद छैन, त्यस्तो स्थितिमा हलचल गर्ने स्थिति छैन । हामीले अर्को एउटा छोटो उपचरण, त्यस्तो अवस्थामा देशलाई असफल राष्ट्र हुनबाट जोगाउने, जो बलियो छ, त्यसले शासन गर्ने स्थितिबाट जोगाउने र लोकतन्त्रतर्फ फर्काउनतिर लाग्नुप¥यो र हामी त्यस दिशामा लाग्यौँ । अर्को कुनै अस्थायी र आवधिक बाटोबाट बाटोबाट भए पनि डिरेल भएको लोकतन्त्रलाई फेरि बाटोमा फर्काउनुपथ्र्यो, त्यसका निम्ति हामीले संविधान सभाको दोस्रो निर्वाचनको आयोजना गर्नुं पथ्र्यो । दोस्रो निर्वाचनको आयोजना भयो र त्यो सफलताका साथ, जनताका अत्यन्तै ठूलो सहभागिताका साथ भयो, त्यो हामीलाई थाह छँदैछ ।            एकातिर संविधान सभा असफल भएको तीता अनुभवहरु हामीसँग छन्, अर्को तर्फ दोस्रो संविधान सभाको निर्वाचनको परिणाको भिन्नता र त्यसको अनुकूलताले संविधान बनाउन सकिने, जारी गर्न सकिने अवस्था हामीलाई दिएको छ । नेपाली जनताले एमाले, नेपाली काँग्रेसलगायतका लोकतान्त्रिक शक्तिहरुलाई जो संविधान बनाउने पक्षमा छन्, उनीहरुलाई दुइतिहाइ भन्दा बढी मत प्रदान गरेको छ । शतप्रतिशत हामीले खोज्यौँ भने, कहीं कसैको पनि आउँदैन । शतप्रतिशत कसैले प्राप्त पनि गर्न सक्दैन । अलिकति असहमति त रहन्छ । संविधान जारी गर्ने पक्षमा दुई तिहाइ हुँदा त्यसलाई हामी उपयोग गर्न सक्छौँ कि सक्दैनौँ ? एउटा तथ्य छ, संविधान सभामा कसैको पनि एक तिहाई भन्दा बढी छैन, दुई तिहाई नभई संविधान बन्दैन । संविधान बनाउने हो भने सहमति सहकार्यको बाटो नहिँडीकन कसैले बनाउँछु भन्छ भने, एकतिहाइ भन्दा बढी कसैको छैन, दुई तिहाइ नभई संविधान बन्दैन, कसैसँग सहकार्य गर्दिन, संवाद गर्दिन भन्ने कुराले संविधान बन्नै सक्दैन । त्यसकारण हाम्रो निम्ति सहकार्यको, संवादको र सहमतिका साथ संविधान जारी गर्ने नै हो । हामी चाहन्छौँ कोही पनि हामीले जारी गर्ने संविधानभन्दा बाहिर नहोस् । 
     मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो संविधानका पाँच वटा मूलभूत कुराहरु हुनेछन् । नेपाललाई शान्ति चाहिएको छ, शान्ति खल्बल्याउने, हिंसा भड्काउने, शान्ति स्थापित हुन नदिने कुनै प्रयास हाम्रो संविधानले बोक्ने छैन, बोक्नुहुँदैन । लोकतन्त्रका मूल्य, मान्यता, अन्तर्राष्ट्रय स्तर र मानवजातिले उचाइमा उठाएका अवधारणाहरु हामी छोड्न सक्दैनौँ । विभिन्न प्रकारका भेदभावलाई हामी सहन सक्दैनौँ र सामाजिक सद्भावसहितको समतामूलक सामाजिक न्यायसमेतको समाज हामी स्थापित गर्न चाहन्छौँ । चौथो कुरा राष्ट्रिय एकता खल्बल्याउने अनेक प्रकारका, अनेक नामका, अनेक रूपका प्रयासहरु भइरहेका छन्, हामी राष्ट्रिय एकतालाई कुनै पनि हालतमा खल्बिलिन दिँदैनौँ । र पाँचौं, नेपाल राष्ट्र र नेपाली जनताले भोगिरहेका पछौटेपन र गरिबीका समस्याबाट देशलाई आधुनिकतातर्फ र समृद्धि र सम्पन्नतातर्फ लिएर जान चाहन्छौँ, त्यसका निम्ति हाम्रो संविधानले यी पाँच वटै कुरामा बाटो दिनुपर्दछ । 
     यी कुराहरु प्राप्त नहुने गरी, शान्ति खल्बलिने गरी कुनै सम्झौता हुन्न भन्ने कुरा हामी सबैलाई भन्न चाहन्छौँ । लोकतन्त्रलाई अस्वीकार गर्ने गरी कसैसँग सम्झौता गर्न सकिन्न । असमानता र विभेद कायम राख्ने गरी पनि कसैसँग सम्झौता गर्न सकिन्न । राष्ट्रिय एकता खल्बल्याउने खालका प्रयास र विचारहरुसँग सहमत हुन सकिँदैन । र समृद्धितर्फको हाम्रो यात्रालाई विभिन्ने नाममा भड्काउने, बिथोल्ने प्रयासलाई पनि हामी छूट दिनसक्दैनौँ । तर संवाद, सहमतिबाट नै संविधान बनाउन चाहन्छौँ, सबैसँग कुरा गर्छौँ र हामी अत्यन्तै लचिलो भएर प्रस्तुत हुन्छौँ । यावत् विषयहरुमा मैले भनेको पाँच वटा कुरा हाम्रा आधारहरु हुन्, हामीले छोड्नसक्दैनौँ ।