Pages

Friday, January 23, 2015

हामी अन्त कतैबाट बोकाउन खोजिएका भारी बोक्दैनौँ ।

 (प्रेस चौतारी नेपालद्वारा मिति २०७१।१०।७ मा आयोजित अन्तर संवादको अध्यक्ष के.पी. शर्मा अोलीज्यूको प्रस्तुतिको प्रमुख अंश)
   
     देश संक्रमणकालबाट गुज्रिरहेको छ । संक्रमणकाल टुङ्ग्याउन हामीलाई संविधान निर्माण गर्नुछ । संविधान निर्माण गर्नका लागि हामीले अहिलेको संविधान सभाको पहिलो बैठकबाट एक वर्ष गनेर एक वर्ष भित्र अर्थात माघ ८ गते भित्र संविधान दिन्छौं भनेर हरेक दलले आफ्ना घोषणापत्रमा लेखे, हरेक दल र नेताहरुले आफ्ना मन्तव्यहरुमा भाषणहरुमा उल्लेख गर्ने गरी आए । सबभन्दा बढी स्पष्ट ढङ्गले एनेकपा (माओवादी)ले भनेको थियो, हामी जनताका अगाडि प्रतिज्ञा गर्दछौं, एक वर्षभित्र संविधान दिन्छौं, ६ महिना सहमतिका लागि प्रयास गर्छौं,     सहमति जुटेन भने प्रक्रियामार्फत लोकतान्त्रिक विधिबाट संविधान दिनेछौं, यो हाम्रो  भीष्म  प्रतिज्ञा   भयो । वहाँहरुले त्यस भाषामा प्रस्तुत गर्नुभएको थियो । चुनाव जित्नका लागि वहाँहरुले त्यसो भन्नुभयो, चुनाव भन्दा पछाडि संविधान बन्न नदिने प्रयास कसरी गर्न सकिन्छ भनेर वहाँहरु लाग्नुभयो । हामीले वहाँहरुलाई वहाँहरु समेतको प्रतिवद्धता याद दिलाउने कोसिस ग¥यौँ । तर भएन ।


     अहिले पक्षधरताको समय होइन । नेपालको सञ्चार क्षेत्रमा, नेपालको बुद्धिजीवी जगतमा एउटा पक्षधरताको प्रवृत्ति देखिन्छ । जो जताको हो उतै उभिनुपर्छ भन्ने । केही केही सञ्चारमाध्यमहरु भारतको संसदमा के भएको थियो, जापानको संसदमा के भएको थियो, कहाँ नराम्रो कुरा भएको थियो, खोज्दै, खोज्दै, खोज्दै हिँडेर यस्तो भएको थियो, यहाँ पनि यस्तै हुनुपर्छ भनेर सन्देश प्रवाहित गर्न हुरुक्क भएर लागेको देखिन्छ । अन्त संसदमा भएको थियो, संविधान सभामा होइन । हामीले संविधान सभा निर्माण गर्दा संसद र संविधान सभाको भिन्नतालाई बुझ्नुपर्छ । संसदमा पक्ष प्रतिपक्ष हुन्छ, हामीले यहाँ पक्ष प्रतिपक्ष भनेका छैनौँ । हामीले संविधान सभा भनेका छौँ, यो सत्तापक्ष र प्रतिपक्ष, बहुमत पक्ष र अल्पमत पक्ष भन्ने जस्तै होइन । संविधान सभा भनेको संविधान बनाउने थलो हो । संविधान देशको हितको संविधान, लोकतन्त्रको पक्षको संविधान र समस्या समाधान गर्ने संविधान खोज्ने । त्यो निर्माण गर्ने ठाउँ हो । संविधानले विगतको हाम्रो गौरवपूर्ण इतिहासको सम्मान गर्नसक्नुपर्छ । आजका गम्भीर र जटिल समस्याहरुको समाधान गर्नसक्नुपर्छ र भविष्यका निम्ति हामीलाई अगाडि बढ्न उपयुक्त बाटो निर्देश गर्न सक्नुपर्छ । त्यस्तो संविधान बनाउने थलो हो संविधान सभा । यसमा कुनै व्यवधान, नाराबाजी, तोडफोड कल्पनै गर्न सकिँदैन । हामीले संविधान निर्माण गर्दा पनि यस प्रकारका गतिविधिहरु संसदमा कहिलेकहिले,  सत्तापक्ष, विपक्ष, रन्का कहिलेकहिले हुनसक्छ । तर संविधानको विषयमा यो कुरा कल्पनै गर्न सकिने कुरा होइन । तर विचित्र, सदन र सडक जोड्न खोज्ने, भित्र तोडफोड गरेर नारा लगाउँदै सडकमा तोडफोड गर्न जाने विचार र प्रबृत्तिका संवाहकहरु समेत संविधान सभामा आएपछि संविधान सभा त अहिले जस्तो देखिएको छ त्यस्तो हुने नै भयो । यो धेर्र अनौठो नै चाहिँ होइन, किनभने त्यहाँ जस्ता शक्ति आएका छन्, त्यस्तो देखिने नै भयो । त्यसकारण अहिले पक्षधरताको समय होइन । हामीले यसलाई समर्थन गर्नैपर्छ जे भए पनि भनेर तर्क खोजेर, कुतर्क खोजेर नराम्रोको पुष्टि गर्ने, नराम्रो पनि ठीकै हो भन्ने कुरा पुष्टि गर्ने अभ्यास गर्ने बेला यो होइन । यति बेला गल्ती कमजोरी गर्ने हामीसँग समय पनि छैन । एक्काइसौँ शताब्दीको दोस्रो दशकको मध्य भागमा आइसक्यौँ, दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । हिजो गरिब रहेका ठाउँहरु आज हामीहरु  जीवन र जीविकाको खोजीमा जानुपर्ने अवस्थामा पुगिसक्यौँ । 
     गौरवपूर्ण इतिहास, विद्वान् र पुरुषार्थी पुर्खा, अत्यन्तै सुन्दर र उर्वर देश, प्राकृतिक स्रोत साधनले सम्पन्न देश, यस्तो देशमा हामी गरिब छौँ । र यस्तो गरिब देशमा क्रान्तिकारीताको लफ्फाजी, अनि जनता भाँड्ने, भड्काउने कुरालाई बहादुरी ठान्ने गलत मनोदशा जस्ता कुराहरु उचित हुन सक्दैनन् ।  त्यस कारण म आग्रह गर्न चाहन्छु, सञ्चार जगतले पनि पहिलो कुरा देश हो  देशलाई माया गरौँ । देशको भविष्यलाई माया गरौँ, यसलाई सुनिश्चित गरौँ । हिजो रहेका असमानता विभेद थिचोमिचोहरु अब लोकतन्त्रमा चल्दैनन्, हामीले त्यसलाई संवैधानिक कानुनी र व्यावहारिक रूपमा अन्त्य गरेका छौँ र गर्छौँ । अब हामी समतामूलक र सभ्य समाजतर्फ अगाडि बढ्छौँ र यसका लागि हामीलाई राष्ट्रिय एकता आवश्यक हुन्छ । जनताको बीचमा जातका आधारमा, भूगोलका आधारमा, समुदायका आधारमा लगायत विभिन्न आधारमा जसरी विभाजित गर्न खोजिन्छ, त्यो उपयुक्त होइन । अत्यन्तै गम्भीर नकारात्मक प्रबृत्ति हो । यति पछाडि परिसक्यौँ हामी, शिक्षामा पछाडि, स्वास्थ्यमा पछाडि, उद्योगमा पछाडि, व्यापारमा पछाडि, सेवाका क्षेत्रहरुमा पछाडि,  हाम्रो कृषि जहाँको तहीं पुरानो कृषि प्रणालीमा आधारित छ, जसमा आधुनिकता छैन, व्यावसायिकता छैन । यत्रा ठूला सम्भावना भएको देशमा हामीले पर्यटनको विकास गर्न सकेका छैनौँ । एन्डोरा भन्ने देशमा पर्यटनको यत्रो विकास गरेको छ कि अर्थतन्त्र त्यसैमा टिकेको छ । त्यहाँ केही पनि छैन । एउटा खोलो छ । हामीकहाँ त हिमाल छ, पहाड छ, जंगल छ, हात्ती छन्, गैँडा छ । यस्तो देशलाई रसातलमा धसाउने अनि हामी त क्रान्तिकारी भनेर ठूला कुरा गर्ने । 
     अब देशको हातमा शासन छ, राजतन्त्र छैन, कुनै जहाँनिया शासन छैन, राजामहाराजाको थिचोमिचो अन्तर्गत जनता बस्नुपरेको छैन । तर जनताले निर्णय गर्ने ठाउँ संविधान सभामा हेर्नुस् त । संविधान सभा स्थगित भइसकेपछि एक हूल त्यहीं बसेर तोडफोड, कुर्सी उचालेको छ, ठोकेको छ, सभा सिद्धिसकेपछि सबभन्दा बढी तोडफोड कच्याककुचुक भयो । 
    वहाँहरुको यो कस्तो सभ्यता, सभा सुरु भयो भन्ने बित्तिकै बुरुरर कुदेर सभाध्यक्षमाथि आक्रमण गर्न गए । मर्यादापालक मानिलिउँ ती मान्छे नै होइनन् । एउटाको हात भाँचिएको छ, अर्कालाई चिथोरेको छ, अर्कालाई हानेको छ । ती छेक्न मात्र बसेकालाई हातै भाँचिदिनुपर्ने ?छेक्न पनि नपाइने ? एउटाको हात भाँचिदिएको छ, अर्कालाई चिथोरिदिएको छ, अर्कालाई डिस्लोकेट गराइदिएको छ, अर्कालाई के गरेको छ । छेक्न नपाइने ? उपद्रव गर्न दिनुपर्ने ?अब म माथिको आक्रमण त भन्नै परेन, वहाँहरुको लामो समयदेखि योजना रहेछ । वहाँहरुको केन्द्रीय समिति सदस्यले साविती बयान मजाले दिइरहेकै छ, तपाईं पत्रकारहरु मार्फत आइरहेकै छ । अलिक लामै समयदेखि वहाँहरु प्रयास गर्दै आउनुभएको, खाली मौका मात्र नमिलेको रहेछ । अस्ति एउटा माइक हान्नुभयो, (माइक पनि त्यतिको तौल भएको पो हुँदो रहेछ हो, त्यो त तौल भएकै माइक रहेछ !) तर नजिकैबाट हान्दा पनि त्यो घुमेर सीधा नलागेर यस्तो पट्टिबाट लाग्दाखेरि फोर्स बाँडिएर अलिकति बच्यो । संजोग म त्यसदिन संसदभित्र जानका लागि होइन, अरुअरु कामले पहिले जाने, त्यसपछि बाहिर आउने भनेको वार्ताको वार्तामै रात गुजारी दियो । किन त्यस्तो गुजा¥यो भनेको त त्यस्तो योजना रहेछ । चार माइक हानेका थिए, पहिलो माइकले लाग्यो । दोस्रो माइक मोरङ्गका ऋषि पोखरेल माननीयलाई लाग्यो । वहाँलाई चोट लाग्यो । तेस्रो माइक पल्ला पट्टि बस्नुभएका विद्या भण्डारीजीलाई खुट्टामा लाग्यो । चौथो माइक चाहिँ त्यतिक्कै आएर खस्यो मात्रै । जे होस् वहाँहरुको योजना नै रहेछ । 
     मलाई वहाँहरुको सभ्य सम्भ्रान्त क्रान्तिकारी परिभाषामा र व्यवहारमा खासै केही कमेन्ट गर्नु छैन । मैले वहाँहरुलाई राम्रै चिनेको छु र धेरैपल्ट भन्ने गरेको छु, गोरु नाङ्गै देख्दा मलाई लाज लागेको छैन अहिलेसम्म । स्वाभाविक कुरा हो नि । बहाँहरुले ममाथि त एउटा कुरा भयो । सभाध्यक्षमाथि त्यसरी आक्रमण गर्नु र संविधान सभासँगै त्यो शत्रुता, सभा सिद्धियो, सभा स्थगित भयो, तैपनि तोडफोड, तोडफोड । अचम्मै छ तोडफोड जारी छ । पन्ध्रबीस मिनेट कति समयसम्म  त उचाल्ने, पछार्ने, माथि चढेर टेबलमा ढ्याङ्गढ्याङ्ग गर्ने, भत्काउने, माइक भत्काउने आदिको तमासा !  कुन ग्रहबाट आए होलान् यस्ता जस्तो लाग्छ । के हुन् यी जस्तो लाग्यो । दृश्य पनि हे¥यो, मान्छे जस्ता छन् । तर तमासा देखियो । खैर हिजो दिउँसोको सभा पनि वहाँहरुले बिथोल्नु नै भयो । आज ११ बजेको पनि वहाँहरुले बिथोल्नु नै भयो । तर म नेकपा (एमाले)को तर्फबाट नेपाली जनतालाई भन्न चाहन्छु, यो संविधान सभा विघटनको नियति भोग्नका लागि बनेको होइन, असफलताको नियति भोग्नका लागि यो संविधान सभा बनेको होइन । यो संविधान सभा विगतका गल्तीहरु सच्याएर अनुपयुक्त बनावटलाई अस्वीकार गरेर उपयुक्त बनावटका साथ बनेको र संविधान निर्माण गर्नका लागि बनेको यो संविधान सभा हो । त्यस कारण म नेपाली जनतालाई भन्न चाहन्छु, यस संविधान सभाले संविधान दिनेछ । हामीले माघ ८ गते भनेका थियौँ, हाम्रो दौड माघ ८ गते अगाडि नै हामी पूरा गथ्र्याैँ, तर तीन महिना हाम्रो खुट्टा माओवादी नेता बाबृराम भट्टराईले समात्यो,  संवाद समितिको नाउँमा । एक पाइलो कुद्न खोज्यो फेरि समाउँछन् । अर्को पाइला कुद्न खोज्यो फेरि समाउँछन्, गर्दागर्दा हामी धेरै समय अल्झ्यौँ । धेरै मान्छेलाई बुझ्न पनि गाह्रो हुन्छ । किनभने माओवादी शब्द प्रयोग बहुतै चलाखीसाथ गर्छन् र उसको कतिबेर के शब्द प्रयोग हुन्छ भन्न पनि गाह्रो हृन्छ, मान्छेलाई । एक छिनमा एउटा कुरा गर्छ, अर्को छिनमा अर्को कुरा गर्छ र फेरि अर्को छिनमा अर्को कुरा गर्छ । राती त्यो गर्नुभयो वहाँहरुले, हिजो बिहानै देखि नेपाल बन्दको नाममा सञ्चार माध्यमहरु, सञ्चार माध्यमका सामग्रीहरु, पब्लिकेसनका सवारी साधनहरु, पब्लिकेसनका सामग्रीहरु र पत्रकारहरुलाई लिएर हिँडेका सवारी साधनहरु माथि र पत्रकारहरु समेत माथि आक्रमण गरे । मैले भनिरहनुपर्दैन, तपाईंहरुलाई नै थाह छ । 
     हुन त सञ्चारमाध्यम एकोहोरियो भने के हृन्छ भने, कसैले हल्ला चलाइदियो, केपी ओलीले फलानालाई संरक्षण गरिबस्यो भनेर, एक हप्तासम्म छोडेन, सिट्ठी बजाएर बस्यो । हल्लाको भरमा । म पनि छक्क परेँ के भएको होला । 
     तर अब माओवादीले यति गर्दा पनि मान्छेहरुलाई यस्तै हो भन्ने परेको देखिन्छ । त्यसले त्यसै गर्छ । एउटाले भनेको छ, कुकुरले मान्छे टोकेको कुनै समाचार हो ? मान्छेले कुकुर टोक्यो भने गम्भीर हुन्छ । त्यस कारण सञ्चार माध्यमलाई त्यही परेको होला । धेरै अनौठो रूपमा नलिएकै हुनसक्छ । तर देशको अर्थतन्त्रलाई ठूलो नोक्सान छ, अर्थतन्त्रलाई मात्र होइन, बिरामीहरु छन् । अरु छन् । यी सबै कुराहरुमा पनि असर हुन्छ । कतै आवागमनमा असर हुन्छ । कोही कहाँ हिँडेको हुन्छ । यी सबै कुरामा जनजीवन अस्तव्यस्त हुन्छ । यो केका लागि गर्नुप¥यो भन्दा संविधान बनाउन नदिनका लागि । तोडफोड किन गर्नुप¥यो ? संविधान बनाउन नदिनका लागि । अवरोध किन  गर्नु प¥यो ? संविधान बनाउन नदिनका लागि । अरु त केही भनेको छैन नि, संविधान बनाऔँ मात्र भनेको छ । ८ गते भित्र चाहिँ केही पनि सुरु गर्न नै नदिने । एमालेले मात्र भनेको होइन, काँग्रसले मात्र भनेको होइन, माघ ८ गते सबैले भनेको हो । तर त्यही चाहिँ दिन नकटाई नहुने । त्यो दिन कटाए पछि जनतामा अलिकति निराशा पैदा हुन्छ, अविश्वास पैदा हुन्छ, त्यसपछि त्यो अविश्वास र निराशालाई खेल्दै गएर संविधान निर्माणको कुरालाई असम्भव बनाउन सकिन्छ भन्ने एउटा धारणा । तर त्यस्तो हुँदैन । यदि संविधान बनाउने हो भने साम्प्रदायिक विद्वेष भड्किने, साम्प्रदायिक विद्वेष र शत्रुताको जग बसाउने, त्यस कुराको ग्यारेन्टी गरिदिने हो भने संविधान बन्न दिने । अनि यदि भूगोलको आधारमा कटुता, शत्रुता बन्न दिने हो भने संविधान बन्न दिने । एउटा गीत छ– काँचो सुन्तला, नखाँदै यो चाला, खाए के होला । मधेस र पहाडको कुरा गरेका छन् । सप्तरीमा हिजो मात्रै एमालेको कार्यालय जलाइयो, आक्रमण गरियो, तोडफोड गरियो । आज त्यसको विरोध गरेर प्रशासनमा जाँदा फर्केर बाटामा आउँदाआउँदै एमालेको जिल्ला नेता शुभकलाल रामलाई ढुङ्गा प्रहार गरियो, आक्रमण गरियो । प्रदेशको कुरा मात्र गर्दा यस्तो छ, अनि प्रदेश नै त्यसै गरी बनाउने हो भने झन् के होला? 
     हाम्रो देश १२५ जातजातिको देश । १२३ भाषाभाषीका जनताको देश । विभिन्न धर्माबलम्बीहरुको देश । हिमाल, पहाड, तराई, पूर्वपश्चिम, विभिन्न पेसा व्यवसाय भएका जनताको देश हो । यस देशमा सबै प्रकारका असमानता र विभेदको अन्त्य गरिनुपर्छ र अनि सबैलाई समान अधिकार, सबैलाई समान अवसर, सबैलाई उत्तिकै सुरक्षा र वरावरी सम्मानको व्यवस्था ल्याउन चाहन्छौँ । हामीले जातीय घृणा, विद्वेष फैलाउन खोजेको होइन । बलियाले पाउने, कमजोरहरुले नपाउने होइन, लोपोन्मुखहरुको, दुर्बलहरुको, कमजोरहरुको पहिचानको बढी समस्या होला नि । अनि ती लोपोन्मुखहरुको पहिचानको समस्याको कसले कुरा ग¥यो? राउटेहरुको समस्याको कुरा कसैले गर्दैछ ? चेपाङ्गहरुको, कुमालको, धिमालको समस्याको कुरा गर्दैछ ? चमार, दुसाध, च्यामे, डोम, कसैको कुरा गर्दैछ ? होइन । यति भन्दा माथि भएको जातले राज्य पाउने रे । त्यो भनेको के हो ? यति भन्दा माथिकोलाई पहिचान चाहिने, त्यो भन्दा तलकालाई पहिचान नचाहिने, सुरक्षा नचाहिने, संरक्षण नचाहिने, केही पनि नचाहिने के हो ? पहिचान एउटा कपटी शब्दावली हो । नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने कपटी खेल हो त्यो । पहिचान, नेपालको पहिचान, नेपालीको पहिचान । आफ्ना–आफ्ना नामका पछि आफ्ना थरसर नामसाम लेखेकै छ नि । अनि के जिवैपीच्छे सबैको एउटै पहिचान हुन्छ ? रामबहादुर भनेपछि एक ठाउँका मान्छे सबै जानिन्छ ? जानिँदैनन् भने आफ्ना–आफ्ना नाम छन्, आफ्ना–आफ्ना थर छन्, अनि आफ्ना–आफ्ना नामथरले पहिचान त पाएकै छ नि । विष्णु पौडेलजी हुनुहुन्छ । विष्णुप्रसाद पौडेल । वहाँको पहिचान त्यो हो । वहाँ नेपाली हो । अब वहाँलाई राज्य दियो भने के हुन्छ ? त्यो राज्यमा बस्ने जति सबै विष्णुप्रसाद पौडेल हुन्छ त पहिचान ? पहिचानको राज्य कस्तो हुन्छ यो ? एउटा राज्यमा बसेपछि पहिचान हुने ! यो सबै के हो भने जनता अल्मल्याउने, जनतालाई मूर्ख बनाउने, समान अवसर, अधिकार र सुरक्षा अनि सम्मानको स्थिति हुन नदिने, पारस्पारिक घृणा र द्वेष फैलाउने, अनि जनताको बीचमा मारकाट मच्चाउने । मैले थुप्रो ठाउँमा भन्ने गरेको छु, ती अफ्रिकाका हुतु भन्ने, बोको हराम भन्नेहरुले बोकेका भारी यही भारी हो । यही भारी हामीलाई बोकाउन खोजिँदैछ । तिनीहरुलाई त्यहाँ बोकाइयो । अनि तिनीहरु तीन चार महिनामा दस लाख मारिए कहीं पचास लाख मारिए । सुडानको हालत हेर्नुस् । नाइजेरियाको हालत हेर्नुस् । रुवाण्डाको हालत हेर्नुस् । त्यस कारण हाम्रो बाटो त्यो होइन । 
     भर्खरै ट्यूनिसियामा लोकतान्त्रिक विधिले संविधान आयो, परिवर्तन आयो । त्यहाँका मान्छेले विभिन्नका प्रयोगका निम्ति दिएका, वितरण गरिएका भारी बोक्न चाहेनन् । आफ्ना ढङ्गले हिँडे । म खुलस्त ढङ्गले भन्न चाहन्छु, नेपाली जनता पनि अन्त कतैबाट बोकाउन खोजिएका भारी बोक्दैनौँ । हाम्रो आवश्यकता अनुसार जनतालाई अधिकारसम्पन्न बनाउँछौँ, अवसर उपलब्ध गराउँछौँ । यस देशको विकास गर्नुछ, यस देशलाई अगाडि बढाउनुछ । यस देशका जनताका गरिबी हटाउनुछ । हामी आफ्नो आवश्यकतामा आफ्नो देश र आफ्नो जनताका निम्ति काम गर्छौँ ।

Sunday, January 11, 2015

संविधान निर्माणमा समेटिनै पर्ने पक्षहरू

     नेपाली जनताको अहिलेसम्मको कमजोरी नै परिवर्तनलाई संस्थागत गर्न नसक्नु हो । हामी बहादुरीका साथ लड्छौं, बेठीकलाई पराजित गर्छौं, परिवर्तन ल्याउँछौं, जनतालाई अधिकारसम्पन्न बनाउछौं ।  तर त्यस अधिकारलाई सुरक्षित गर्न सकदैनौं । २००७ सालमा राणा धपाइएकै हो । युगान्तकारी पतिरवर्तन भएकै हो । तर जनताको तर्फबाट राख्नुपर्ने सजगता, सतर्कता राख्न सकिएन । १० वर्षसम्मको तानातानीमा जनताका अधिकार खोसिए । जनताका अधिकारलाई संस्थागत गर्ने काममा दक्षता देखाउन सकिएन । २०४६ सालको आन्दोलन पनि अत्यन्तै ऐतिहासिक र सफल आन्दोलन हो । हुन त अहिले केहीकेही मान्छे निस्केका छन्, आफूले हतियार उठाएको हुनाले त्यो चाँही क्रान्ति, जनताको आन्दोलन चाँही केही होइन भन्ने । तर दस वर्ष उठाइएको हतियार क्रान्ति होइन, हिंसा हो । हिंसा र क्रान्ति एउटै हुँदैन । त्यसैले ०४६ मा जनताले असाधारण आन्दोलन गरे । तीस वर्षदेखि फेरि निरङ्कुश भएको राजतन्त्रलाई पछाडि धकेले । 
     जनतालाई अधिकारसम्पन्न बनाए । तर त्यसलाई पनि समुचित ढङ्गले संस्थागत गर्न सकिएन । आन्दोलनको मर्म, भावनाअनुसार अगाडि बढ्न सकिएन । जसले गर्दा सिद्धान्तको विषय, रोजाइको विषय, छनौटको विषय बनाएर हिंसा मच्चाउनेहरूलाई आफ्ना अधकल्चा सिद्धान्तहरू अन्त असफल भएका खोटा सिद्धान्तहरू, यहाँ प्रयोग गर्ने र जनताको जीवनमा परिवर्तन नआएको कारणबाट भएको असन्तुष्टिलाई प्रयोग गर्ने मौका मिल्यो । वास्तवमा फेरि पनि जनताका अधिकारहरू सुनिश्चित हुन सकेन । हिंसाको बहाना बनाएर, स्थिरता र स्थायित्वको ठेकेदार पल्टिएर फेरि राजतन्त्र आश्विन १८, माघ १९ हुँदै आयो र जनताको अधिकार सम्पूर्ण खोस्यो । त्यसबेला टेलिभिजन हेरिरहेको थिएँ, छाँटकाँट पुस १७ गतेकै जस्तो थियो । पुस १७ गते महेन्द्रको लोकतन्त्र मास्ने संबोधन र उनका छोरा ज्ञानेन्द्रको सम्बोधन उस्तै थियो । 
पञ्चायत कालमा जेलबाट छुटेपछि तत्कालीन राजाले बोलाए, म भेट्न गएँ । राजा बस्ने डम्म सोफा थियो । कहाँबाट खोजेर ल्याएको हो थाह छैन । पर एउटा काठको कुर्सी थियो, हात राख्ने नभएको । त्यस्तो कुर्सीमा बसौँ भने, बसेँ । म त सुकुलमा बसेर आएको मान्छे, पेटीमा, भुइँमा बसेर आएको मान्छे, मलाई बस्नलाई कस्तो कुर्सी भन्ने होइन, तर यिनीहरूको मानसिकता कस्तो छ भन्दा आफूहरू सोफाबाला, हामीहरू टक्रक्क काठको कुर्सी ! यो प्रसङ्ग किन भनेको भन्दा माघ १९ पछि फेरि म तत्कालीन राजाले बोलाउन पठाए, भेट्न गएँ, २०४४ सालको त्यो कुर्सी त त्यहीं हाजिर रहेछ । त्यसबीचमा म धेरै दरबार गएको छु, धेरै पल्ट राजासँग भेटेको छु । सोफा कुर्सीमै बसेर भेटिन्थ्यो, जाँदा त उस्तै सोफा, उस्तै काठको पर टिक्रिक्क राखेको छ । मैले भनेँ, ‘नेपाल कहाँ पुगेछ, मलाई यही कुर्सीले सम्झना दिलायो । पञ्चायतकालमा जेलबाट छुट्ने बित्तिकै पनि म यहाँ आएको थिएँ, यही कोठामा यस्तै थियो, बीचमा हराएको थियो, फेरि फर्केछ ।’ 
     हामी प्रजाहरूका लागि भनेर उही पुरानै कुर्सी जतन गरेर राखेको थियो कि के हो मलाई थाह छैन । तर उस्तै थियो, अचम्म लाग्यो । हिंसाको बहाना बनाएर त्यसरी जनताका अधिकार खोस्ने कुरा, एक ठाउँ त्यसरी सम्पूर्ण अधिकार मात्र खोस्न कुरा होइन नि । दरबारमा बस्नेमा पनि भिन्नता कस्तो ? भेट्न बोलाउने, बोलाएर कस्तोमा राख्ने । भन्दा मानिलिउँ हामी मान्छे नै होइनौं जस्तो । आदिवासीहरूकहाँ बसेको छु म । पप्पाको भात खाएको छु । बिहान पकाएर पानीमा राखेको हुन्छ, बेलुका गएर पानी चुहाउँदै खाने हो । पप्पा भात पनि खाएको छु । अरु के के खाएको छु नभनुँ । कसरी कसरी बसिएको छ, त्यो नभनुँ । हामीलाई अधिकार चाहिएको, बस्नलाई कस्तो कुर्सी छ भनेर हेर्ने कुरा होइन । तर अधिकार त थिएन, थिएन, त्यही अधिकार छैन भनेर भन्नका लागि कुर्सी पनि राख्नुपर्ने रहेछ त्यसरी । तिमीहरूको अब अधिकार छैन, तिमीहरूको दिन सिद्धियो भन्नाका निम्ति । 
     जे होस् हामीले दुई प्रकारका अतिवादसँग त्यसपछि जुध्नुप¥यो । एकातिर क्रान्ति नामको हिंसा । राजनीतिक मान्छे खोजिखोजी, समाजका स्थापित मान्छे खोजीखोजी मार्ने कुनै क्रान्ति हुँदैन । गरेको त्यही हो । अर्को स्थिरता, स्थायित्व, शान्ति स्थापना गर्छू भनेर फेरि तानाशाहीतर्फ मुलुकलाई फर्काउने । जनताका नाममा, जनसत्ताको नाममा एउटाको बिगबिगी, अर्कोको बिगविगी राष्ट्रको नाउँमा, शान्तिका नाममा, स्थिरता र स्थायित्वका नाममा । यसबीचमा हामीले लडाइँ गर्नुप¥यो । हामीले धेरै प्रयास धेरैतिर ग¥यौं । अव राजतन्त्र बिदा गरिसकिएको छ । तर त्यसबेलाको उग्रपन्थले अहिले पनि दुःख दिइराखेको छ । यो उग्रपन्थले अझै अलिक समय दुःख दिन्छ । २०५२ सालमा उग्रपन्थी गतिविधि सुरु हुँदा मैले भनेको थिएँ, उग्रपन्थको आयु २० वर्षको हुन्छ, दस वर्ष उकालो चढ्छ, दस वर्ष ओरालो झर्छ । तपाईंहरू विचार गर्नुस्, उकालीओराली ठीक छ । २०५२ देखि २०६२ सम्म उकाली चढ्यो । २०६२ बाट ओराली झर्दै, झर्दै गयो । तर केही केही जन्तु यस्तो हुन्छ, जस्तो अक्टोपस । अक्टोपस काटेर फ्राइ गर्दा पनि चलिराखेको हुन्छ । यो उग्रपन्थ पनि फ्राइ गर्दा पनि दुःख दिन र तर्साउन छोड्दैन । जे होस् हामीले शान्ति प्रक्रियामा ल्याएर हिंसालाई रोक्यौं । 
    दक्षिणपन्थी अतिवादी तानाशाहलाई बिदा ग¥यौं । शान्ति प्रक्रियाका बाँकी कामलाई त हामी टुंगो लगाउँला । तर हिंसात्मक प्रवृत्ति, कानुन नमान्ने प्रबृत्ति, ऐन नमान्ने प्रवृत्ति, संविधान नमान्ने प्रबृत्ति, नियमावली नमान्ने प्रवृत्ति अझै हावी छ । अहिले पाखुरा सुर्काइ, ठूलो पाखुरा सुर्काइ, ए! नियमानुसार जाने ? नियममा चल्न पाइन्छ ? भन्ने त पाखुरा सुर्काइको विषय ! हजुर के गरुँ त भन्दा सहमति साथ हुनुपर्छ भन्छन् । गजब छ परिभाषा पनि । मैले भनेअनुसार सहमति हुनुपर्छ, मेरो सहमतिबिना केही पनि गर्न पाइँदैन । संविधान, कानुनको केही पनि मतलब छैन, आफूले जे भन्यो त्यही हुनुपर्ने । जे–जे हुँदैन, त्यही त्यही भन्ने । देशलाई साम्प्रदायिकतामा कसरी लान सकिन्छ ? कसरी रुवाण्डा बनाउन सकिन्छ ? कसरी वितण्डा मच्चाउन सकिन्छ, त्यसतर्फ नै सोच्ने काम भइरहेको छ । १२५ जातजाति, १२३ भाषाभाषीसहित मिश्रित बसोवास रहेको यस देशमा जातीय वैरभाव, कटुता र घृणाको खेती गर्ने र छिमेकीलाई छिमेकी नदेखेर शत्रु देख्ने ? नातेदारलाई नातेदार नदेख्ने ? यो संभव छैन । युगोस्लाभियामा धेरैका छोडपत्र भए, घृणा बढ्दै गएपछि त्यस्तो हुँदो रहेछ । श्रीमतीले बन्दूक निकालेर श्रीमान्लाई हानिदिइन । श्रीमान्ले बन्दूक निकालेर श्रीमतीलाई कति हाने–हाने अर्को जात भनेर । कहाँ पुग्यो मानवीय चेतना ? यसलाई पाशविक भन्ठान्नुहोला, पाशविक पनि होइन, पशुमाथि नै अन्याय हुन्छ, पाशविक भन्दा । एउटा झुण्डमा बस्छन्, पशुहरू । तर मान्छेलाई झुण्डमा पनि बस्न नदिएर मारामार लगाउने खेल भइराखेको छ । यो पशुवृत्ति भन्दा तल्लो वृत्ति हो । हामी सामाजिक प्राणी हौँ । समाजमा सबै प्रकारका तत्व, सबै प्रकारका जाति, सबै प्रकारका थर, धार्मिक विविधता सबै चीज हुन्छ । अझ हाम्रो देश त भौगोलिकदेखि लिएर विविधतायुक्त हो । 
     अर्का पनि कुतर्क छ, सिङ्गो तराईलाई पहाडसँग जोड्न नपाइने । चुरेभावरसम्म पनि जोड्न नपाइने रे । किनभने त्यहाँ पनि अलिअलि भित्री मधेसहरू, त्यता पनि खोंचहरूमा धान फल्छ नि । त्यो धान फल्ने ठाउँ पहाडतिर राख्न पाइँदैन । धान फल्ने जति छुट्टै राख्नुपर्छ रे । यिनीहरूले भनेको जति मान्ने हो भने पहाडका खेतका गह्रा पनि मधेस नै हुन्छ । किनकि धान फल्छ । यो पहाडमा बस्ने मान्छेहरूले धानको भात खाने कुरा गर्ने ? कोदो खानुपर्छ, फापर खानुपर्छ, जौ खानुपर्छ, पिँडालु लगाएर खाए भो, आलु खानुपर्छ । धानको भात खाने ? त्यो चाहिँ ठाउँ नराखे भो । कस्तो मजाको देशभक्ति ? कस्तो जनसंविधान बनाउने ? यो त प्रत्यक्ष देखिने कुरा हो । यसभित्र नदेखिने अरु कुराहरू छन् । देशलाई ध्वस्त बनाउने कुराहरू छन् । जुन देखिदै जानेछन ।
     संक्रमणकाल जति लम्बिन्छ, त्यति यी देशभित्रकाले पनि लगानी गर्दैन । बाहिरको लगानी त आउँदै आउँदैन । लगानी गर्ने भनेको पैसावाला हुन्छन्, पैसावाला भनेको अलिकति चलाख हुन । चलाख नभइकन त पैसा कमिदैन । विदेशबाट आएर यहाँ पैसा लगाउँछ भने हेर्छ नि उसले । अनि गएर त्यहाँ ब्लक गरिदिन्छ, ट्रान्समिसन लाइन तान्न दिँदैन, अर्को चीज गरिदिन्छ । कानुनको राज छैन । अनुचित ढङ्गले भनिदिन्छ, उहिलेदेखि चलिआएको प्रोजेक्टमा स्थानीय जनता कराए भने पाँच प्रतिशत तिमीहरूलाई भनेर । हुँदैन त्यतिले, छब्बीस प्रतिशत चाहिन्छ । यसरी काम गर्न नदिने अनि कुन चाहिँ विदेशी लगानीकर्ता आउँछ ? स्थिरता, स्थायित्व नभइकन, सामाजिक संरचनादेखि लिएर देश विकासका कामहरू सहज ढङ्गले कसरी हुन्छ ? त्यसकारण संक्रमणकाल अविलम्ब टुङ्ग्याउनुछ । संक्रमणकाल टुङ्ग्याउने भनेको संविधान निर्माण गर्ने हो । यस्का लागि पहिलेको स्वामित्व सन्दर्भ–सामग्रीको रूपमा लिन सकिन्छ । अहिले त्यो असफल भएको स्वामित्व लिएर के गर्ने ? प्रयोगमै असफल भएको संविधानसभा, विघटन भएको संविधानसभाले हामीलाई कुनै गाइड गर्नसक्छ ? अहिलेको संविधानसभा आफैँ सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र ढङ्गले निर्णय गर्नसक्छ । 
     अघिल्ले संविधान सभामा जे–जे भनेको थियो, त्यो सार्नका लागि यो बनाएको हो र ? यो संविधान सभा भाग २ हो र ? यो स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न संविधानसभा हो । यसले संविधानका मामलामा हिजोका, अस्तिका, अलिक अस्तिका २००७ सालपछि २०१७ साल किन आयो भन्ने पनि अनुभव लिन्छ, त्यहाँ लेखेको नहोला । लिनु त प¥यो नि । २०४७ साल पछिको संविधान भन्दा पछाडि के भएको थियो भन्ने कुराहरूलाई पनि हेर्ला । विगतको संविधानसभाको दुःखद् अवसान किन भयो ? त्यो पनि हेर्ला । तर त्यही÷त्यही असफल भएको हेरेर पछ्याएर हुन्छ र ? कसैले भेडीगोठको सबै स्वामित्व लियो । अनि कुनै विमारी भेडा फेला प¥यो भने ? त्यो म¥यो भने ? स्वामित्व त लिएको हो । त्यसलाई त फ्याँक्नेबाहेक अर्को उपाय हुँदैन । त्यसैले स्वामित्व लिएको भनेर निहुँ खोजेर पाइन्छ ? स्वामित्व लिइसकेपछि छोड्न पाइँदैन, फ्याँक्न पाइँदैन, त्यो त सबै लिनुपर्छ भन्ने हुँदैन । तपाईंले कुखुरा पालनको स्वामित्व लिनुभयो र रानीखेत लाग्यो भने मैले किनेको म छोड्दिन भनेर हुन्छ, त्यो त गयो । त्यसकारण अघिल्लो संविधानसभाका अनुभव हामी लिन्छौं । राम्रा, देशलाई काम लाग्ने, जनतालाई काम लाग्ने रहेछन् भने लिन्छौं । 
     अघिल्लो संविधानसभा अनुपयुक्त बनावटको थियो । त्यसलाई गुरुजी थाप्ने हो भने त्यसले नै निकाल्थ्यो नि संविधान । अतिवादीहरूको भर्खर आएको रापताप थियो । संविधानसभा निर्वाचनलगत्तै मैले टिप्पणी गरेको थिएँ, यो संविधानसभाले संविधान दिन सक्दैन । योसँग त्यो क्षमता छैन । माओवादीको बिगविगी थियो । मैले भनेको थिएँ, एक पाथी जाने भाँडोमा दुई माना दूध राखेर तलबाट बेस्सरी आगो लगाइदियो भने भरिने मात्र होइन, पोखिन्छ । अनि एक पाथी नै भयो त त्यो दूध ? एक पाथी भएको हुँदैन । त्यो सेलाएपछि डेढ माना मात्र बाँकी रहन्छ । माओवादीको बिगविगी त्यही उम्लेको दूध जस्तो हो । वाइसिएलको राप । हतियारको राप । लडाकू भनेर ल्याएर क्याम्पमा राखेको छ । ती सबैको रापलाई लिएपछि त कस्तो भयो भने मान्छे डराएको छ, अनि त माओवादी उम्लिएको मात्र होइन, पोखिन्जेल भयो । कति समय पोखिन्छ ? त्यो सम्भव थिएन । तर अघिल्लो संविधिानसभा अनुपयुक्त बनावटको थियो, संविधान नबनाउने शक्तिको वर्चस्वको थियो । त्यसकारण संविधान नबन्नु बहुत मामुली कुरा थियो त्यतिबेला । 
     लोकतान्त्रिक संविधान बनाउने र राज्य कब्जा गर्ने एउटै कुरा हुन्छ ? चुनावपछि सरकार बनाउनेतिर ध्यान, सेना कब्जा गर्नेतिर ध्यान, भएको प्रधानसेनापति हटाएर आफूले भनेको मान्ने प्रधान सेनापति राख्ने ध्यान । मेरो गुरिल्लासँग फुटबल नखेल्ने नेपाली सेना कहाँबाट आयो ? मेरो गुरिल्लासँग नखेल्ने भनेर रिसइबी, दागा धरेर निहु खोजियो । त्यसपछि सवैले देखें, २०६९ साल जेठ १४ गते । संविधानसभा भङ्ग गरे । अनेक हिसाबले विकल्प देखाउँदा पनि नमानेर बुरुक्क उफ्रेर भङ्ग गरे । पत्रकारहरूले टिभी अगाडि राखेर सोध्नुभयो । प्रधानमन्त्रीज्यू, महान् नेताज्यू, किन सिद्ध्याउनुभयो त संविधानसभा ? उहाँहरूको भनाइ थियो, दुई तिहाइ हाम्रो नभएपछि संविधान बन्न सकेन । अब दुई तिहाइ चाहियो । उहाँहरूको डंक त्यो थियो । अब चुनाव नगराउने, तर चुनाव गराउँछु भनिरहने । के रहेछ, यिनीहरूसँग भने दुई तिहाइ चाहियो भनेर देखाउने ।  दुई तिहाइ भयो भने आफूले भने अनुसारको संविधान जारी गर्छु भन्ने । अरु नमाने पनि केही छैन । दुई तिहाइ चाहियो किन ? दुई तिहाइ भनेको सहमति हो ? दुई तिहाइ भनेको संख्या होइन र ? पहिले त चुनावै नगर्न खोजेको थियो । डा. बाबुराम भट्टराई भ¥याङ्गबाट माथि चढेर भ¥याङ्ग नै फालिदिनु भयो । अनि वहाँ भन्नुहुन्छ, भ¥याङ्ग नै मैले फालिदिइसकेँ, अब को आउँछ ? तपाई तल ओर्लनुस् न त भन्दा कहाँबाट ओर्लने भ¥याङ्ग नै छैन । संसद भङ्ग गरिदिनु भयो । संसदबाट निर्वाचित मै हुँ, अर्को संसद छैन । मलाई हटाउन पनि संसद छैन, अरुलाई बनाउन पनि संसद छैन । भनेपछि प्रधानमन्त्री त मैं रहने भएँ, कति सजिलो ! चुनाव भएपछि जब तलमाथि प¥यो । अनि संबिधान बन्न नदिने खेल खेल्न थालियो ।
     सेनाको मलाई समर्थन छ, प्रहरीको मलाई समर्थन छ भनेको कुरा त हामी बुझ्छौं नि । त्यसबेला केही सञ्चारमाध्यमहरूले सोधेको थियो, अब के गर्नुहुन्छ ? मैले भनेँ अब चुनाव गराउँछु । वहाँहरू  त सरकार छोड्दिन भन्नुहुन्छ । मैले त्यस बेला भनेको थिएँ, छोड्न मान्नुहुन्न भने टिपेर मिल्काउनुपर्छ । राणाशासन कुन चाहिँ ऐनको दफाले हटाएको हो र ? निरंकुश राजतन्त्र कुनै संविधानको कुनै धाराले हटाएको हो र ? जनताका अगाडि एक्काइसौँ शताब्दीमा शासनमा पुगेँ, अब म ओर्लन्न भनेर कसैले भन्छ भने टिपेर खसाल्नु पर्छ । त्यतिसाह्रो अलिक परेन । जे होस् हामीले संविधानसभाको दोस्रो निर्वाचन ग¥यौँ र यतिबेला हामी सहमतिका साथ संविधान निर्माण गर्ने प्रयासमा छौं । सवैलाई थाह छ, संविधान सभाको कार्यकाल दुई वर्षको थियो । अर्को एक वर्ष थपियो, फेरि छ महिना थपियो, फेरि छ महिना थपियो, चार वर्षको पु¥याइयो । सिद्ध्याउनु भन्दा त फेरि थपेर कोसिस गरौँ भन्दै थियौँ, तर माओवादीले सिद्ध्याइदियो । जे होस् अर्को संविधानसभाको निर्वाचन भयो र नेपाली जनताले राम्रैसँग के बुझे भने लोकतान्त्रिक शक्तिहरूलाई दुई तिहाइ दिनुपर्छ, नभए संविधान बन्दैन । त्यो बुझेर एमाले, काँग्रेसलगायतका संविधान बनाउन चाहने लोकतान्त्रिक शक्तिहरूलाई दुई तिहाइ दिए । जनताले दिएको यो जिम्मा, यो अभिभारा अनुसार हामी नेपालको अन्तरिम संविधान, अन्तर्राष्ट्रिय प्रचलन, अलिक अगाडिसम्म माओवादी मानसिकता, ती सबै कुराको म्यापिङ्ग के हो भने जनताबाट निर्वाचित संविधानसभाको दुई तिहाइले संविधान बनाउने । यो अन्तर्राष्ट्रिय प्रयोग पनि हो, हाम्रो संविधानको व्यवस्था पनि हो । 
     एउटा चल्ने गरेको छ, प्रक्रिया भनेपछि सातो जाने । सर्वसम्मतिले नै गरे पनि बिनाप्रक्रियाले हुन्छ ? बिनाप्रक्रियाले हुन्थ्यो भने यहीबाट म संविधान घोषणा गरिदिन्छु । हुँदैन त त्यसरी ? कुनै बजारबाट गर्ने कुरा हो र त्यो ? प्रक्रियाबाट संविधान जारी हुन्छ, घोषणा हुन्छ । जति सहमति भए पनि संविधानसभाको प्रक्रियामा जानैपर्छ, त्यसै कारण संविधानसभा छ र संविधानसभामा जानुपर्छ । हामी कसैसँग पनि एक तिहाइको आसपास भन्दा बढी छैन । संविधान जारी गर्न कम्तीमा दुई तिहाइ चाहिन्छ, त्यो भन्दा बढी चाहिन्छ । अनि हामी संवाद गर्ने पक्षमा छैनौं, सहमति गर्ने पक्षमा छैनौं भन्ने कुराको त अर्थ नै हुँदैन । हामी संवादको पक्षमा छौं, सहमतिको पक्षमा छौं । हामीले खोजेको लडाइँ हो र ? माघ १९ हामीले गरेको हो र ? हामी लडाइँ खोज्दैनौं । जनयुद्धको नाममा चलाएको हिँसा हामीले हो र ? हामी जहिले पनि जनताको अधिकारको पक्षमा छौं, जनताको जिउ धनको रक्षाको पक्षमा छौं । हामी जनबलको पक्षमा छौं । हामीसँग अनेक दृष्टान्तहरू छन् । २००७ सालमा रामप्रसाद राईजीहरूले शान्तिपूर्ण ढङ्गले नै यत्रो जनदवाव सिर्जना गर्नुभयो कि शान्तिपूर्ण ढङ्गले नै भोजपुर कब्जा भयो । जनदवाव बेस्सरी परेपछि त कब्जा हुँदो रहेछ नि त ! हिंसा चाहिँदो रहेनछ । 
     हामीले २०४६ सालको आन्दोलन हेरेका छौं । २०६२÷६३ को आन्दोलन हेरेका छौं । जब सडकमा साँचिक्कै जनता ओर्लन्छन, तब हतियारहरू आवश्यक हुँदैन । त्यसैले हामी सहमतिका साथ संविधान बनाउन चाहन्छौं । कथंकदाचित सहमति बनेन भने के गर्ने ? यो पीँढी बाचुञ्जेल त जति पर लम्ब्याए पनि त्यही हो । कि मति फेरिनुप¥यो कि अर्को पींढी आउनुप¥यो । मति फेर्न तयार नहुनु, अर्को पुस्ता आइञ्जेल कति पर्खनु, त्यो पनि गाह्रै हुन्छ । सबभन्दा सजिलो बाटो त संविधानअनुसार जानु नै हो, जो हामीले सर्वसम्मतिले बनाएका हौँ । अहिलेको अन्तरिम संविधान भनेको सबैले सहमतिले बनाएको हो । संविधान सभाको निर्वाचन पछि हामीले सर्वसम्मतिले सर्वसम्मतिले नियमावली बनायौँ । अब माघ ८ मै संविधान जारी गर्ने, सहमतिमै जारी गर्ने प्रयासमा छौं भनेर संविधान जारी गर्न नदिने, मोर्चा बनाएर संविधानका सम्बन्धमा भ्रम फिँजाएर अनि विभिन्न तत्वहरू एक ठाउँ जम्मा भएर संविधान बन्न नदिने खेल खेल्ने कामहरू भइरहेका छन् । तर एमालेका तर्फबाट भन्न चाहन्छु, संविधान जारी गरिन्छ, संविधान अनुसार जारी गरिन्छ, नियमअनुसार जारी गरिन्छ । माघ ८ गते भित्रैमा हामी संविधान जारी गर्छौं । कतिले हामीलाई तर्साउँछन्, हेरौँला, चाखौंला, रक्तपात हुन्छ, भीडन्त हुन्छ, त्यो पनि हेरौँला । तथाकथित जनयुद्ध पनि हामीले देखेका हौँ, विभिन्न घटनाक्रम उनीहरूले मात्र देखेको होइन, हामी पनि यही धर्तीमा हेरिरहेकै छौं । हिजो लडाकू, सेना, महान् जनमुक्ति सेना, हतियार, व्यारेक, क्याम्प सबै हुँदा त टेरिएन भने अहिले अलि लामा नङ पालेको होला, त्यति न हो । यसै कुरासँग तर्सिएर संविधान नबनाउने आवश्यकता हुँदैन । संविधान हामी बनाउँछौं । 
     संविधान बनाउँदा पाँच वटा कुरा हामीले भनेका छौं । नेपाली जनता शान्ति चाहन्छन । हिंसातिर धकेलिने कुरामा हामी सहमत हुँदैनौं । क्रान्ति आदिका नाममा शान्ति खल्बल्याउने, हिंसातर्फ मुलुकलाई धकेल्ने, संविधान नबनाएर जुन उटपट्याङ्ग कुरा अहिले गरिराखेका छन्, त्यसमा एमाले सहमत हुँदैन । हामी शान्तितर्फको यात्रा सुनिश्चित गराउने संविधान बनाउँछौं । हाम्रो लडाइँ लोकतन्त्रका लागि हो । समान अधिकार, समान अवसर, सबैका लागि सुरक्षा र सबैका लागि सम्मान हुने स्थिति, जनताको सार्वभौमसत्ता, अहिले एउटा कुरा छ नि जनादेश होइन मतादेश भन्ने । तीन पत्तावालाले पनि यो कुरा गर्छ । मतादेशबाट त जनादेश प्रकट हुने हो । सुशील कोइरालाजी के हिसाबले प्रधानमन्त्री हुनुहुन्छ ? भोट बढी काँग्रेस पार्टीले पायो । वहाँ त्यस पार्टीको संसदीय दलको नेता । कसैलाई लागेको हुन सक्छ, सुशील नहुनुपर्ने, म प्रधानमन्त्री हुनुपर्ने । अब एक दुई सीट आयो, आएन, त्यो बेग्लै कुरा हो, तर म राम्रो चलाउँथे भनेर पनि कसैलाई लागेको हुनसक्छ । तर जनादेश यस्तो कुरा हो । हुनसक्छ त्यो सुशीलजी भन्दा राम्रो चलाउँथे । तर जनताको आदेश चाहिँ अहिले काँग्रेस प्रमुख पार्टी हुनु हो र काँग्रेसको फैसला भो सुशील दलको नेता । अनि यो गणितीय खेल अरे, ६०१ संविधान सभा हो कि गणतीय खेल हो ? कि यो चाहीँ संख्या होइन ? संविधानमा लेखेको दुई तिहाई गणीतीय खेल हो कि यथार्थ हो ? सरकार चलाउन बहुमत चाहिन्छ भनेको टाउका गनेर हुन्छ भनेर भन्छन् अनि के हातखुट्टा गन्ने ? के भनेको त्यो ? सरकार त बहुमत जोसँग छ, उसैले बनाउँछ । जसका पक्षमा धेरैले हात उठाए, उसैले पाउँछ । टाउकै त गन्ने हो नि ! 
     हामी जनतामा सार्वभौमसत्ता, लोकतन्त्रका अन्तर्राष्ट्रिय आधारभूत मूल्य र मान्यता भएको संविधान बनाउन चाहन्छौं । अहिले त एउटा ‘जन’ थपिदियो भने लोकतन्त्र सोकतन्त्र केही चाहिँदैन । सर्वोपरि पार्टी, पार्टी भन्दा पनि पोलिटव्यूरो र पोलिटव्यूरो भन्दा पनि एक जना नेता, अध्यक्ष छ कि महासचिव छ कि उही हो । देख्नुभो नि हेटौँडा महाधिवेशनबाट कति सदस्यीय हो केन्द्रीय कमिटी बनाएर आए, बाटामा आउँदा चिसापानीतिर कता झरेछ, यहाँ आइपुग्दा त छैन त्यो केन्द्रीय कमिटी । कस्तो जनव्यवस्था ! महाधिवेशनबाट चुनाव गरे, चुनिएका नेता आए, केन्द्रीय कमिटी बन्यो, यहाँ आएर पोका फुकाएर हेर्दा खतम ! छैन । पदाधिकारी हट्ने, कमिटी नै हट्ने । अलिक पछाडि एकल अध्यक्ष रहे, बाँकी केही पनि रहेन । त्यो भृकुटी मण्डपको यदुवंशीय काण्ड भन्दा पछि अध्यक्ष मात्र रहे, सबै गए । अब फेरि एक वर्षभित्र महाधिवेशन गर्ने भनेको छ । महाधिवेशन पनि यस्तै न हो तमासा । मन प¥यो भने त्यसलाई मानिदियो, मन परेन भने अलि वर आएर भङ्ग गरिदेऊ है भनिदियो, सिद्धियो । यो चाहिँ वहाँहरूको परिभाषामा जनव्यवस्था । नियम कानुन चाहिँदैन । पुप्पकमलजीले यी २५÷२६ वर्ष अनवरत अध्यक्ष भएर नेतृत्व गरिदिएको हामी नेपाली जनतालाई ‘गुन लाइदिएको’ हो । वहाँको आफ्नो कुरा होइन । 
     मैले कुनै पनि तानाशाहले जनताको इच्छा विपरीत जान्छु भनेर बोलेको अहिलेसम्म सुनेको छैन । हरेक तानाशाहले जनताको इच्छाअनुसार, जनताको आदेशअनुसार गरेको छु भन्छ । काम चाहिँ बेग्लै गर्छ, भनाइ चाहिँ जनताको इच्छाअनुसार, जनताको चाहना अनुसार भन्छ । हामीले जनअदालत भन्ने पनि देख्यौँ । जनसरकार भन्ने पनि देखियो । हामीले चाहेको थितिको समाज हो, अराजकता होइन । हामीले चाहेको समाजलाई अगाडि बढाउने, समृद्धितर्फ लाने कुरा हो । त्यसकारण हामी लोकतन्त्र छोड्दैनोँ । लोकतन्त्रविरुद्ध तानाशाहीतर्फको कुनै प्रयास हामीलाई मान्य हुने छैन । हिजो राजतन्त्र हुँदा, सामन्तवाद हुँदा नेपाली जनतालाई भूगोलको आधारमा, जातको आधारमा, समुदायको आधारमा, पेसा, व्यवसायको आधारमा भिन्न भिन्न गरेर दुःख दिने काम भयो । यो हिजो सामन्तवाद हुँदाको कुरा हो । अब सम्पूर्ण नेपाली जनताले समान अधिकार, समान अवसर पाउँछन् । उत्तिकै सुरक्षा हुन्छ र उत्तिकै सम्मान सबैले पाउँछ । नेपाली जनतालाई चाहिएको अधिकार हो । नेपाली जनतालाई चाहिएको सैद्धान्तिक अधिकार मात्रै होइन, व्यावहारिक अवसर पनि त्यसमा हुनुप¥यो । हामी हरेकलाई अधिकार र अवसर, हरेकलाई सुरक्षा र सम्मानको स्थिति बनाएर जान चाहन्छौं । हिजो सामन्ती राजतन्त्रमा विभेद ग¥यो, लोकतन्त्रमा विभेद हुँदैन । 
     अहिले हामीले पछाडि परेको समाजको हिस्सालाई अगाडि लाने सन्दर्भमा दुइ वटा उपाय भनेका छौं । एउटा दिगो र वास्तविक उपायमा तलैदेखि बच्चाबच्चीदेखि राम्रो शिक्षा प्रदान गर्दै ल्याउने हो । मैले भनेको राउटे, दुसाध, चमार, कुमाल, धिमालका छोराछोरीलाई आवासीय ढङ्गले १२ कक्षासम्म पढाइदिने व्यवस्था सरकारले गर्ने ता कि उनीहरू शिक्षित होऊन् । आवासीय किन गरिदिनुपर्छ भने उनीहरू घरबाट फुत्किन पाउँदैनन् । त्यति गरिदिए पछि उनीहरू जागिर गर्दै वा केही गर्दै पनि अगाडि जान सक्छ । पढ्न सक्छ । त्यो चाहिँ उनीहरूलाई इम्पावर (सशक्तिकरण) गर्ने, उनीहरूको क्षमतावृद्धि गर्ने हो । शासनमा र नीति निर्माणमा उनीहरूको सहभागिता बढाउने वास्तविक बाटो हो त्यो । यसकारण हामीले सेलेक्टिभ ढङ्गले समानुपातिक भनेर, समावेशी भनेर, अलिकति कृत्रिम हुन्छ त्यो कुरा । आरक्षणका कुरा हामी किन गर्छाैं भने पुरुष र महिला चुनाव लड्ने हो भने पुरुषले एकाधबाहेक धेरै ठाउँमा जित्छ । त्यसकारण महिलालाई आरक्षित ठाउँ चाहियो, जहाँ उनीहरूले प्रतिनिधित्व गर्न सकून् । दलित अझै आउनसक्ने स्थिति बनिसकेको छैन, त्यसकारण आरक्षित ठाउँ चाहियो । साँचै पछाडि परेको तप्कालाई समावेशी गरेर ल्याउनुपर्छ । हामीले असमानता र विभेदको अन्त्य गर्नुपर्छ र सामाजिक न्याय सहितको समतामूलक समाज स्थापना गर्नुपर्छ । यो हाम्रो तेस्रो बुँदा हो ।
     चौथो बुँदा १२५ जातजाति १२३ भापाभाषी र मिश्रित बसोवास भएको यस देशमा राष्ट्रिय एकता हामीले कायम राख्नुपर्छ । हामीले बुझ्नुपर्छ हामी कस्तो अवस्थामा छौं र हाम्रो देशको भूगोल कस्तो छ । अरु ठूलाठूला देशहरू उपनिवेश हुँदा पनि हाम्रा पुर्खाले हाम्रो देशको स्वतन्त्रता कायम राखे । लडेर देश बनाए र लडेरै देश जोगाए । यति बेला हाम्रो पीँढीमा आएर हाम्रो एकता विथोलिने खालका कुरा हामी गर्छौँ भने त्यो उचित हुँदैन । त्यसकारण हामी राष्ट्रिय एकताको पक्षमा छौं । देशलाई भोलि गएर विखण्डनतर्फ लाने खालका प्रयासहरूलाई हामी बुझ्छौं र ती कुराहरूलाई स्वीकार्न सकिँदैन । अर्को पाँचौँ कुरा छ, नेपाली जनताको सबभन्दा ठूलो समस्या पछौटेपन र गरिबी हो । देशलाई आधुनिकीकरणमा लानुपर्छ, आधुनिकतातर्फ लानुपर्छ र गरिब जनतालाई समृद्ध बनाउने ठोस कदम, ठोस व्यवहार, ठोस प्रयास अगाडि बढाउनु पर्छ । संमृद्धि हाम्रो चाहना हो । हरेक नेपालीले के खाऊँ, के लाऊँको स्थितिमा होइन, खान लाउन पाउनुपर्छ, बस्ने घर पाउनुपर्छ र छोराछोरी पढाउन सकिएन भन्ने होइन, पढाउन सकिने अवस्था सिर्जना गर्नुपर्छ । विमारी हुँदा उपचार गर्ने अवस्था निर्माण गर्नुपर्छ । जीवन निर्वाहका लागि आवश्यक कुरा त यी नै हुन् । 
     अहिले नेपाली जनताको ठूलो हिस्साले भोग्नुपरेको समस्या त यी नै हुन्, जसले गर्दा चालीस लाख युवा बाहिर छन । यही कारण हो । यसकारण हामीले हाम्रा उद्योगका क्षेत्र, हाम्रा व्यापारका क्षेत्र, हाम्रा सेवाका क्षेत्र, पर्यटनका क्षेत्र, ऊर्जाको क्षेत्र, हाम्रा अरु संरचना निर्माणका क्षेत्र अनेकलाई काममा लगाएर रोजगारीका थप अवसर सिर्जना गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण र व्यावसायिकीकरण गर्नुपर्दछ । के खाऊँ के लाऊँको अवस्थाबाट मुक्ति, गरिबीबाट मुक्ति नेपाली जनताका सपना हुन् । चराले पनि रूखको हाँगामा एउटा सानो गुँड लगाउन पाएको छ, तर मान्छे भएर पनि नेपाली जनताले एउटा सानो गुँड लगाउन पाएको छैन । अनि यहाँ सरकार बन्छन्, सरकार फेरिन्छन्, क्रान्तिकारी कुरा गर्छन् । के अर्थ हुन्छ त्यसको ? कति समय त्यही चलाइराख्ने ? त्यसकारण अबको कदम हो गरिबी हटाऊ, रोजगारी सिर्जना गर, रोजगारी उपलब्ध गराऊ । विकासका काम अगाडि बढाऊ । यस निमित्त हामीले नेपाली जनताको समृद्धिका सपनालाई नष्ट पार्ने खालका कुनै कुरा हुन दिँदैनौं । यस सानो देशमा धेरै वटा प्रदेश, १० वटा कि १४ वटा कि १५ वटा, हिजो कसले मानेको थियो ? त्यो बेग्लै कुरा थियो । हामीलाई एक थान संविधान देख्ने इच्छा थियो, त्यसैले हिजो धेरै वटा अनुचित कुरा भए पनि ल आओस् भन्ने थियो । अनि संविधान नै नआएपछि त ती कुराहरू गइगए नि !
     नेपालमा धेरै बटा प्रदेश सम्भव नै हुँदैन । एउटा संविधानसभा, संसद त हामीले आफ्नै भवनमा चलाउन नसकेर भाडामा चलाएका छौं । एउटा राष्ट्रपति बस्ने ठाउँ नभएर शीतल निवासमा परराष्ट्र मन्त्रालय खाली गराएर बसाएको छ । राष्ट्रपतिका ठाउँमा प्रदेशमा गभर्नर हुन्छ, प्रधानमन्त्रीका ठाउँमा मुख्यमन्त्री हुन्छ । मन्त्रीहरू हुन्छन् । विधायिका हुन्छ । सिङ्गै सरकार चाहियो । अनि कहाँबाट पैसा ल्याएर हामी प्रहरीलाई पाल्छौं ? प्रदेश सरकारले पाल्नुपर्छ प्रहरी । कर्मचारी कहाँबाट पाल्छौं ? स्वास्थ्य कर्मचारी कहाँबाट पाल्छौं ? शिक्षा कर्मचारी कहाँबाट पाल्छौं ? कहाँबाट आउँछ पैसा ? अझ गजब छ । चुरे भावरले तल तराईको भूभाग ठ्याम्मै बिसाउन नपाउने, माथि कोदोबारीबाट चाहिँ शासन चलाऊ । यो खालका कुराहरू हुन्छन् । यदि धेरै वटा प्रदेश बनाउने हो भने आउँदो ५० वर्ष संरचना निर्माण गर्दै ठीक हुन्छ हामीलाई । 
     त्यसकारण हामीले अन्तअन्त हेरेर होइन, नेपाल हेरेर थोरै प्रदेश भनेका छौं । अन्तका भूगोल र सम्भावना हेरेर हुँदैन । यहींका भूगोल र सम्भावना हेर्नुपर्छ । मैले अक्सर भन्ने गरेको छु, एन्डोरा भन्ने एउटा सानो देश छ, स्पेन र फ्रान्स बीचमा । यस्तो टुरिस्ट हब छ, घर थोरै, होटेल धेरै छ । त्यहाँको जनता भन्दा बढी टुरिस्ट हुन्छन् । त्यसो भए पछि त्यहाँको अर्थतन्त्र सबल छ । सानै देश भए पनि नेपालभन्दा धेरै चल्छ । किनभने अर्थतन्त्र ठूलो छ । भेटिकन सिटी चल्ला, तर नेपाल यति अविकसित ठाउँ छ, यति पछाडि परेको ठाउँ छ, तुइनमा समाउँदै मान्छे तरेका छन्, पुल छैन । बाटा कस्ता छन् फेरि नामै स्वर्ग जाने बाटो भनेर राखेका छन् । कथंकदाचित् पल्लो छेउ पुगियो भने आज गइएन स्वर्ग नभए बीचैबाट स्वर्ग गइयो । त्यहाँबाट सवारी साधन चढेर गइयो स्वर्ग नै पुगिने हो कि ! नजाऊँ, हप्तादिन लाग्छ, जाउँ स्वर्ग पुगिने हो कि । अनि यस्ता देशमा अरुअरुका स्वार्थहरू यहाँ ल्याएर थोपरिदिएको छ । हामी नेपाली जनताका आकांक्षा हामीले लागू गर्नुछ । नेपाली जनताका आकांक्षालाई सम्बोधन गर्नुछ । गरिबीतिर जाने होइन, समृद्धितिर जाने बाटो खन्नुपर्छ । विभिन्न नाममा फेरि पछाडि फर्कने होइन, अगाडि बढ्नुपर्छ । संविधान जारी गरेपछि राजनीतिक रूपमा सुशासन र विकास चाहिन्छ । सुशासन र विकास हाम्रो नारा हुन्छ । तसर्थ संविधान बनाउन ढिलो गर्न हुँदैन । विकासका हाम्रा प्रयास त्यतिकै ढिलो हुन्छ । स्थिरता, स्यायित्व छैन भनेर कोही विकासका निम्ति तयार हुँदैन, आन्तरिक न वाह्य । त्यसका निम्ति स्थिरता, स्थायित्व चाहिन्छ । 
     अहिले संविधान निर्माणको प्रश्नमा स्पष्टतः दुई वटा धार छ । नेपालको  एकता, नेपालको भविष्य, नेपालको अखण्डता र नेपाली जनतालाई समृद्धितर्फ लाने प्रयास एउटा छ । त्यसो हुन नदिएर क्षतविक्षत बनाउने अर्को कुरा छ । कसैकसैले यसो भन्ने गर्छन्, यत्रो सानो बीउ त हो, तीप् यसो माटोमा घुसारि दिइराखे के बिग्रियो त ? के फरक पर्छ भनेर । त्यही त्यो विषबृक्ष यति ठूलो हुन्छ कि तपाईं त्यसको हाँगो मुन्टो केही टिप्न सक्नुहुन्न । चढ्न पनि सक्नुहुन्न । ए सानो बीउ छ, त्यसलाई माटामा घुसार्न दिएर के फरक पर्छ ? फरक पर्छ, त्यसैले घुसार्न दिँइदैन । हामी कुनै अलमलमा पर्ने छैनौं । त्यसैले अव सवै नेपालको पक्षमा, राष्ट्रको पक्षमा एकताको पक्षमा लाग्नुपर्छ । विभिन्न ट्रेन्डहरू हामीले देखिराखेका छौं । अलग देश बनाउने, अलग झण्डा, अलग राष्ट्रिय गान, अलग राष्ट्र भनेर घोषणा गर्ने । अनि मैले पहिले पहिले घरमा झण्डा राख्दिनथेँ, अहिले धुरीमा ठूलै झण्डा राखेको छु, झण्डा च्यात्ने जलाउने उपद्र्याहहरू देखेपछि । यो त हामीले त माया गर्नुपर्ने चीज रहेछ भनेर । जति देशलाई अहित गर्न खोज्छन्, त्यति देशको हितको पक्षमा हामी दृढताका साथ उभिनुपर्छ । देशै भत्काउन खोज्ने, देशै ध्वस्त पार्न खोज्ने, अरुका छौंडाका रूपमा यहाँ फट्याकफट्याक गर्ने, अनि तिनका विरुद्ध नौनी लगाएर बोलिदिनु पर्ने ? जस्ताको तस्तै भनि दिनुपर्छ, यो बेठीक बाटो हामी जाँदैनौं भनेर ।