Pages

Saturday, May 9, 2015

हरेक सङ्कट राष्ट्रका लागि अग्निपरीक्षा हो......

(नेकपा (एमाले) संसदीय दलका नेता मा. के.पी. शर्मा अोलीज्यूले व्यवस्थापिका संसदको अधिवेशनमा २०७२ वैशाख २५ गते गर्नुभएको  सम्बोधन)

माननीय सभामुख महोदय,

१. विनाशकारी भूकम्पले सिर्जना गरेको अकल्पनीय विनाश, अभूतपूर्व सङ्कट र राष्ट्रिय शोकका बीचमा व्यवस्थापिका–संसदको यस अधिवेशनमा उपस्थित भएका छौं । म आरम्भमै बैशाख १२ गते दिउँसो गएको विनाशकारी भूकम्प तथा त्यस यताका पराकम्पनहरूका कारण जीवन गुमाउनु हुने सबै नेपाल तथा विदेशी दाजुभाइ दिदीबैनीहरूप्रति नेकपा (एमाले संसदीय दल र सिङ्गो पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचारको राम्रो प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछु । भूकम्पका कारण घरबार र व्यवसाय गुमाएर अनिश्चित भविष्यको छायाभित्र त्रिपाल र खुल्ला आकाशमुनि रात गुजार्न वाध्य सबैको दुःखमा गहिरो सह–अनुभूति र ऐक्यवद्धता व्यक्त गर्दछु । यस विपत्तिको सामना गर्ने मनोबल, सामथ्र्य र शक्ति तपाइँहरूलाई प्राप्त होस् भन्ने कामना गर्न चाहन्छु । दुःखको यस घडीमा सिङ्गो नेकपा (एमाले तपाइँहरूसँगै छ र तपाइँहरूको पीडामा मल्हम लगाउन हरदम
साथैमा रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।
२. विनाशकारी भूकम्पले यतिबेला सिङ्गो राष्ट्रसमक्ष अकल्पनीय विनाश र चुनौती खडा गरेको छ । ८ हजारभन्दा बढीको ज्यान गइसकेको छ, सयौं वेपत्ताको अझै यकिन स्थिति पत्ता लागेको छैन र १५ हजारभन्दा बढी घाइते घाउ र चोटपटकसँग अस्पतालमा सङ्घर्ष गरिरहनुभएको छ । तीन लाखभन्दा बढी घरहरू ध्वस्त भएका छन् भने त्यति नै सङ्ख्यामा बस्नै नहुने गरी चर्किएका÷भत्किएका छन् । यसरी झण्डै ३० लाख नेपालीहरूलाई केही सेकेण्डको विनाशलीलाले बेघरबार बनाइदिएको छ । सहर–बजारमा व्यवसाय गरिबस्ने हजारौंको विचल्ली भएको छ । राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, जङ्गी अड्डा, राष्ट्र बैङ्क, मानव अधिकार आयोगको कार्यालय लगायत राज्यका सबै मुख्य अङ्गका भवनहरूलाई भूकम्पले विनाश गरिदिएको छ । यस लगायत हजारौं कार्यालय भवन, सैनिक व्यारेक, प्रहरी चौकीहरू, स्वास्थ्य केन्द्र आदि ध्वस्त भएका छन् । सात हजारभन्दा बढी विद्यालय भवन भत्किंदा लाखौं विद्यार्थीहरूको भविष्यमाथि सङ्कटको कालो बादल मडारिन पुगेको छ । नेपालको पहिचानको रूपमा रहेका विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयंभूनाथ, चाङ्गुनारायण मन्दिर तथा धरहरा, काष्ठमण्डप जस्ता ऐतिहासिक सम्पदाहरू, धार्मिक आस्थाका सयौं केन्द्रहरू एवं पर्यटकीय आकर्षणका स्थलहरू ध्वस्त भएका छन् । नेकपा (एमाले केन्द्रीय कार्यालय भग्न अवस्थामा पुगेको छ । यसरी, दस बर्षको सशस्त्र द्वन्द्व र त्यस यताको झण्डै दशक लामो सङ्क्रमणकाललाई व्यवस्थापन गरेर शान्ति, स्थायित्व, नवनिर्माण र समृद्धिको यात्रा सुरु गर्न लागेको हाम्रो मुलुकमाथि यस विनाशकारी भूकम्पले ठूलो धक्का र निको हुन नसक्ने भावनात्मक र भौतिक घाउ पु¥याइदिएको छ ।
३. यस किसिमको महाविपत्ति एकदमै अनपेक्षित थिएन । नेपाल भूकम्पको उच्च जोखिममा रहेको र अव्यवस्थित सहरीकरण, न्यून विकास र विपद् व्यवस्थापनको अपर्याप्त तयारीका कारण कुनै पनि बेला ठूलो विनाश निम्तिन सक्ने खतराबारे गम्भीर बहस भइरहेकै थिए । तर पनि हामीले पर्याप्त तयारी गर्न सकेनौं । त्यसमाथि पनि, सशस्त्र द्वन्द्व र त्यस यताको सङ्क्रमणकालका कारण राज्यलाई हामीले आवश्यक मात्रामा सुदृढ, सक्षम र जनउत्तरदायी बनाउन सकेनौं । विपद्को बेलामा अग्रपङ्क्तिमा रहेर उद्धार र राहतमा खटिनुपर्ने सुरक्षा बलहरूलाई आवश्यक बन्दोबस्ती, नियमित तालिम र साधनस्रोतमार्फत् सुदृढ गर्न सकिएन । लामो समयदेखि स्थानीय निकायहरूमा जनप्रतिनिधिविहीनताको अवस्था सङ्कटको बेला निकै टड्कारो गरी खड्कियो । यी सबै कुराहरूको समष्टिले विपद् व्यवस्थापनको पूर्व तयारी र विपद्को सामना गर्ने हाम्रो सामथ्र्यमा गम्भीर कमजोरीहरू रहेको स्पष्ट देखिएको छ ।
४. र पनि, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायत हाम्रा सुरक्षा अङ्गहरूले सीमित साधनस्रोतका बाबजुद उद्धार र राहतको काममा जुन उत्कृष्ट योगदान गरेका छन्, त्यसको म उच्च सराहना गर्न चाहन्छु । सम्हालिन केही समय लागे पनि कर्मचारी संयन्त्रले पनि क्रमशः आफ्नो दायित्व निर्बाह गर्दै गएको छ । केही ढिलासुस्ती, समन्वयको अभाव र अलमलका बाबजुद पछिल्लो समय सरकारले पनि विपद् व्यवस्थापनको काममा संयोजन गरिरहेको छ । विपद्को बेलामा आ–आफ्नो कार्यक्षेत्रमा दिनरात खट्ने सबै सरकारी निकायलाई म धन्यवाद दिन चाहन्छु । सिङ्गो मुलुक सङ्कटमा परेको बेला हाम्रा मित्र राष्ट्रहरूले जुन तत्परताकासाथ टोली खटाएर पुरिएका मान्छेहरूको जीवितै उद्धार, घाइतेहरूको उपचार र तात्कालिक राहत उपलव्ध गराइदिनुभयो, सिङ्गो नेपाल यसका निम्ति आभारी छ । अनेकौं स्वदेशी र विदेशी सङ्घसंस्था, तराई–मधेस र प्रवासमा रहने अनेकौं समूह र व्यक्तिहरूबाट उदारमन र सेवाभावका साथ सहयोग प्राप्त भएको छ । नेकपा (एमाले संसदीय दलको तर्फबाट म सम्वद्ध सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
५. उद्धारको काम आधारभूत रूपमा सकेर हामीहरू राहत र पुनस्र्थापनाको चरणमा प्रवेश गरेका छौं । यद्यपि अहिले पनि दुर्गमका कतिपय गाउँबस्तीहरूमा राहत सामग्री पुग्न नसकेको, पुगेका सामग्रीको पनि न्यायोचित वितरण हुन नसकेको, यस्तो मानवीय बिषयमा पनि सङ्कीर्ण दलगत÷समूहगत÷व्यक्तिगत स्वार्थ प्रकट हुने गरेको र राहतका नाममा कतिपय ठाउँमा बढी प्रचारमुखी काम भइरहेको एवं कतिपय स्थानमा पीडितहरूको धार्मिक–सांस्कृतिक आस्थामा आँच आउने काम भएको पनि गुनासो सुनिएको छ । यस्ता बिषयलाई गम्भीरतापूर्वक निगरानी गर्न र कुनै पनि पीडितले त्रिपाल, पानी, खाद्यान्न र औषधि जस्ता आधारभूत राहतबाट बञ्चित हुने स्थिति नआओस् भन्ने कुराको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
६. हजारौं विद्यालय भवन भत्किदा लाखौं विद्यार्थीहरूको भविष्य अन्यौलमा परेको छ । म सरकारलाई उच्च प्राथमिकताका साथ विद्यालयहरूको मरम्मत–सम्भार र अस्थायी व्यवस्थापनका माध्यमबाट विद्यार्थीहरूको पठनपाठनलाई सुचारु गर्न, पठनपाठन सामग्री निशुल्क उपलव्ध गराउन गम्भीर ध्यान दिन आग्रह गर्दछु ।
७. मनसुन सुरु हुन अब धेरै समय बाँकी छैन । यसले बेघरबार नागरिकहरूको जीवनलाई थप कष्टकर, दुरुह र जोखिमपूर्ण बनाउनेछ । त्यसबाहेक, भूकम्पका कारण चिरिएको र छियाछिया परेको पहाडी भूभागमा बाढी पहिरोको ठूलो जोखिम निम्तिने खतरा पनि टड्कारो छ । म सरकारलाई बर्खा थेग्न सक्ने गरी जस्तापाता लगायत अन्य सामग्री उपलव्ध गराएर अस्थायी आवासको प्रबन्धमा केन्द्रित भएर लाग्न आह्वान गर्दछु । घर भत्किंदा खाद्यान्न र बिउबिजन पुरिएर धेरै किसानहरू थप सङ्कटमा पर्ने स्थिति पैदा भएको छ । म सरकारलाई गम्भीरतापूर्वक जनताको खाद्य अधिकारको प्रत्याभूति गर्न, पर्याप्त खाद्य भण्डारण र चुस्त आपूर्ति–व्यवस्थापनमार्फत् कोही पनि नागरिक भोकै बस्नु नपर्ने कुराको ग्यारेन्टी गर्न र समयमै बिउबिजन र मलखाद उपलव्ध गराएर कृषि अर्थतन्त्रलाई सङ्कटबाट जोगाउन प्रभावकारी कदम चाल्न माग गर्दछु ।
८. ध्वस्त घरहरूको पुनर्निर्माण र जनतालाई सुरक्षित आवास उपलव्ध गराउने कुरा यतिबेलाको मुख्य चुनौती बनेको छ । नेकपा (एमाले को तर्फबाट भूकम्पबाट घरबार गुमाएका सबै दाजुभाइ दिदीबैनीहरूलाई म आश्वस्त तुल्याउन चाहन्छु– हामीहरू तपाइँहरू मध्ये कसैलाई पनि बेघरबार रहन दिनेछैनौं । राज्यले सम्पूर्ण स्वदेशी विदेशी स्रोतहरूको परिचालन गरेर नागरिकहरूलाई सुरक्षित आवासको प्रबन्ध गर्नेछ । सरकारले आवश्यक रकम अनुदानमा उपलव्ध गराउने छ र नपुग रकम सस्तो सहुलियत व्याजमा दीर्घकालीन ऋण उपलव्ध गराउने प्रबन्ध गर्नेछ । त्यसरी नै, भाडाको घरमा व्यवसाय चलाइरहेका र भूकम्पका कारण व्यवसाय गुमाउनु परेका व्यक्तिहरूका हकमा पनि सरकारले राहत उपलव्ध गराउनेछ । त्यसरी नै, मरम्मत गरेर बस्न मिल्ने घरहरूको मरम्मतका लागि पनि सरकारले आवश्यक रकम उपलव्ध गराउनेछ । निश्चित अवधिभित्र वेपत्ताहरू फेला नपरे उनीहरूको परिवारलाई पनि राहतको प्रबन्ध गराउन सरकारसँग आग्रह गर्दछु ।
९. अव्यवस्थित बसोबास पनि हामीले अहिले भोग्नु परेको विपत्ति र विपद् व्यवस्थापनमा भोग्नु परेको कठिनाइको मुख्य कारण हो । म सरकारलाई अविलम्ब आवासीय, औद्योगिक, शैक्षिक, व्यवसायिक या वातावरणीय प्रयोजनका लागि भूमिको वर्गीकरण गर्न, तदनुरूप बस्ती विकासको ठोस योजना बनाउन, भूकम्प प्रतिरोधी भवनको संहितालाई कडाइका साथ लागू गर्न र व्यवस्थित सहरीकरण एवं बस्ती विकासको यस अभियानमा आवश्यक सहयोग गर्न सम्बद्ध सबैलाई आग्रह गर्दछु ।
१०. ध्वस्त संरचनाहरूको पुननिर्माण हाम्रा लागि अत्यन्त ठूलो चुनौती हो । नागरिकहरूका निजी आवास, विद्यालयहरू, सरकारी कार्यालयहरू एवं हाम्रा ऐतिहासिक–सांस्कृतिक धरोहरहरूको पुनर्निर्माणका लागि हामीलाई खबौंको कोष आवश्यक पर्छ । हाम्रो मात्रै स्रोतले मुलुकको पुननिर्माण संभव छैन भन्ने स्पष्ट छ । यसका लागि हामीले हाम्रा छिमेकी लगायत सबै मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय, दातृ निकाय र गैरआवासीय नेपालीहरूको सहयोगको ठूलो अपेक्षा गरेका छौं । यसबीचमा प्रकट भएको सद्भाव र स्वतःस्फूर्त रूपमा उठिरहेको सहयोगले हामीलाई साँच्चै प्रभावित तुल्याएको छ र सङ्कटको यस घडीमा हामी एक्लै रहेनछौं भन्ने भावनाले हाम्रो मनोबललाई अझ उचो बनाएको छ । पुनर्निर्माणको हाम्रो समग्र योजनामा खुलेर सहयोग गर्न म सम्बद्ध सबैसमक्ष अपिल गर्न चाहन्छु । यहाँहरूको सहयोग सरकारको संयन्त्रमार्फत्, पारदर्शी रूपमा र वास्तविक खाँचो भएको ठाउँमा सदुपयोग हुनेछ भन्ने विश्वास म दिलाउन चाहन्छु । यसका लागि आवश्यक अनुगमन संयन्त्रको निर्माण पनि गरिनेछ । अन्तर्राष्ट्रिय या निजी क्षेत्रको सहयोग सरकारको समन्वय बिना आफूखुशी प्रयोग हुने स्थिति बन्यो भने त्यसले दोहोरोपन उत्पन्न हुने, रकम सही ढङ्गले सदुपयोग नहुने, मुलुकको आवश्यकता र मौलिकताले प्राथमिकता नपाउने र यसले सम्बन्धित मुलुकको पराश्रयी स्थितिलाई मात्रै बढावा दिने विभिन्न मुलुकका अनुभवलाई समेत ध्यानमा राखेर एउटै राज्यसंयन्त्रमार्फत् सहयोग परिचालन गरिनु पर्ने कुरामा म विशेष जोड दिन चाहन्छु ।
११. सभामुख महोदय, हरेक सङ्कट राष्ट्रका लागि अग्निपरीक्षा हो र यसले नयाँ संभावना पनि बोकेर ल्याएको हुन्छ । आज हामी विनाशकारी भूकम्पले सिर्जना गरेको महाविपत्तिको सम्मुख खडा छौं । तर नेपाल राष्ट्रले विगतमा पनि यस्ता सङ्कटको बहादुरीका साथ सामना गर्दै आएको छ र आज पनि सामना गरेर यसमाथि विजय प्राप्त गर्न सक्नेछौं भन्ने कुरामा म विश्वस्त छु । कहिल्यै घाम नअस्ताउने उपनिवेशवादको पनि बहादुरीका साथ प्रतिरोध गरेर राष्ट्रिय स्वाधीनता जोगाउन सक्षम हाम्रो राष्ट्रले यस विपत्तिमाथि अवश्य विजय प्राप्त गर्नेछ ।
आजभन्दा ८२ बर्ष अगाडि, त्यस्तो प्रतिकूल अवस्थामा पनि यसभन्दा ठूलो भूकम्पको विनाश पार गरेर आएका नेपाली जनताले यस अग्निपरीक्षालाई पनि अवश्य पार गर्नेछन् । विनाशको भग्नावशेषबाट नयाँ समाजको निर्माण हुनेछ । यसका लागि यतिबेला हामीलाई तीनवटा कुराको अपरिहार्य आवश्यकता छ । पहिलो– यस सङ्कटमाथि विजय प्राप्त गर्न सकिन्छ र मूलतः हाम्रै बलबुताबाट गर्न सकिन्छ भन्ने आत्मविश्वास । दोस्रो– ससाना मतभिन्नता, सङ्कीर्णता र स्वार्थलाई पञ्छाएर राष्ट्रिय सङ्कटको सामना गर्ने एकता र दलहरू एवं सबै पक्षबीच सहकार्यको वातावरण । एवं तेस्रो, सबै स्वदेशी तथा विदेशी मित्रहरूको निस्वार्थ, उदारमना र सेवामुखी सहयोग । यस्तो बेलामा सेवाको भावनाका साथ सबै युवाहरूलाई भूकम्पप्रभावित क्षेत्रमा स्वयंसेवक भएर खट्न म आह्वान गर्दछु । संविधान निर्माणका पनि हामी केन्द्रित बन्न आह्वान गर्दछु । यसका लागि म फेरि एकपल्ट सम्बद्ध सबैमा हार्दिक अपिल गर्न चाहन्छु ।
नेकपा (एमाले) यस विपत्तिको घडीमा जनतालाई साथ दिन सधैभरि सबैभन्दा अगाडि रहनेछ र आफ्नो तर्फबाट गर्नु पर्ने सबै योगदान, सहयोग र त्यागका लागि तयार छ भन्ने विश्वास पनि
दिलाउन चाहन्छु ।
धन्यवाद !

No comments:

Post a Comment