Pages

Wednesday, February 4, 2015

गणेशमान सिंह परिवर्तनका नायक

(ललितपुर महालक्ष्मीस्थानमा अायोजित गणेशमान सिंह मेमाेरियल हस्पिटल तथा रिसर्च सेन्टरको उद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा सम्बोधन, मितिः २०७१।१०।१६)
सम्माननीय प्रधानमन्त्रीज्यू, 
कार्यक्रमका सभापतिज्यू,
विशिष्ट अतिथि,
सम्पूर्ण सहभागी दाजुभाइ दिदीबहिनीहरु, 
सबैमा जय नेपाल । 
    आज बोल्नुपर्ने थुप्रै कुरा छन्, शहीद दिवस, गणेशमानजीको शताब्दी वर्ष, यस सन्दर्भमा अस्पतालको उद्घाटन प्रारम्भ, अस्पताल चलाएको सहाकारीले सहकारी आन्दोलनसम्बन्धी, यस संस्थालाई सहयोग पु¥याउने बिभिन्न सहयोगदाताहरु, यी सबै विषयमा जाँदा लामो समय लाग्ला, त्यस कारण म लामो सयम लिन चाहन्न । बहुत महत्वपुृर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ, यहाँहरुलाई थाह छँदैछ, वहाँ हिँड्न हतार गरिराख्नुभएको छ । त्यस कारण मैल लामो समय लिन मनासिब छैन ।


    आज माघ १६ गते शहीद दिवस । जसरी हामी कार्यक्रमको आयोजना गरिरहेका छौँ, शहीदहरुको योगदान हो । वहाँहरुलो ज्यान हत्केलामा राखेर देश र जनताका लागि, लोकतन्त्रका लागि यदि ज्यान दिन तयार नहुने हो भने, त्यो निर्भीकता नदेखाउने हो भने हामी आजको दिनमा पुग्न सक्दैनौँ । शहीद सप्ताहको आज अन्तिम दिन, शहीद दिवस भनेर जानिने दिन, यस घडीमा म सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । वहाँहरुबाट हामी प्रेरण प्राप्त गरिरहने छौँ, हौसला प्राप्त गरिरहने छौँ । 
मलाई लाग्छ गणेश मान सिंहज्यूलाई नभेटेका स–साना नानीहरु मात्रै होलान् । प्रायः आजका सहभागीहरु सबैले भेटेको, चिनेको व्यक्तित्व हुनुहुन्छ । गणेशमान सिंह मैले धेरै भनिराख्नुपर्ला जस्तो लाग्दैन । विभिन्न युगमा मानिसहरु बसेका हुन्छन्, बाँचेका हुन्छन्, विभिन्न मात्रामा त्यस युगका, त्यस जमानाका, त्यस समाजका, त्यस शासनका भुक्तभोगी हुन्छन् । कोही अलिकति मूक दर्शक हुन्छन् । तर कोही त्यसको अनुचिततालाई हटाउने, त्यसमा रहेका असान्दर्भिकता र अन्यायपुर्ण परिस्थितिहरुलाई हटाउने किसिमको नायकत्व लिन्छन् । गणेशमान सिंहजी मूक दर्शक वा समयको दर्शक मात्र होइन, समयलाई परिवर्तन गर्ने नायक हो । यस्तो नायद्दक हो कि फलामको भीम बनाएर अगाडि राखिदिँदा धृतराष्ट्रले अलि मर्काएका थिए रे । तर गणेशमान सिंह यस्तो लौह पुरुष हो जसलाई मर्काउने तागत कसैसँग थिएन । धृतराष्ट्र नै आए पनि हुँदैनथ्यो । गणेशमानजी त्यो खालको दृढ अठोटको मानिस हो । सायद गणेशमानजी नभएको भए हामी आजै यस ठाउँमा आइपुग्ने थिएनौँ होला । कसैसँग बुद्धि धेरै हुन्छ, कसैले विचार धेरै गर्छ, विचारहरु देख्छ, कसैले विचार देख्छ र त्यसलाई कार्यान्वयन गर्छ । गणेशमानजी विचार गर्ने र लेख्ने भन्दा विचार गर्ने र त्यसलाई कार्यान्ययन गर्ने व्यक्ति हो । वहाँ काममा विश्वास गर्ने व्यक्ति हो । सबै सजिलो थिएन, वहाँले परिवर्तनको बिगुल फुक्दा राणा शासन थियो । वहाँका अगाडि साथीभाइहरु झुण्ड्याइएका थिए । वहाँलाई तर्साइन्थ्यो । सम्भावना अनेक थिए । अर्को समय राजाको प्रत्यक्ष निरङ्कुश शासन आइलाग्यो । ज्यान हत्केलामा राखेर देश फर्कने स्थिति बन्यो । यी सबै परिस्थितिमा गणेशमान सिंह भेटेकाले, नभेटेकाले, देखेकाले, नदेखेकाले, म जेलमा बस्दा गणेशमान सिंह मैले देखेको थिइन, भेटेको थिइनँ, तर गणेशमान सिंह भने पछि मैले पनि टेर्दिनँ यिनीहरुलाई जस्तो लाग्थ्यो । गणेशमानले नटेर्दा हुन्थ्यो मैले किन नटेर्दा हुँदैन ? यसरी नदेखीकन पनि प्रेरणा आउँथ्यो । किन टेर्ने ? नचाहिँदो कुरो किन मान्ने ? गणेशमानले नमान्दा हुन्छ भने अरुले पनि नमान्दा हुन्छ, हामीले पनि नमान्दा हुन्छ । त्यो प्रेरणा, त्यो हौसला, त्यो बुलन्दी नदेख्दा खेरि पनि आउँछ । गणेशमानजी जुन जेल फोरेर भाग्नुभयो त्यही  जेलमा म पनि बसेको थिएँ । मलाई आफ्नो अभिभावक जस्तो लाग्छ गणेशमानजी, हुन त उहिले नै भाग्नु भएको थियो । म के विचार गर्छु भने एउटा जमाना थियो जुनबेला गणेशमानजी जेल फोरेर भाग्नु परेको थियो ।  मेरो जमाना जेल फोरेर भाग्ने होइन, जेल फोरेर निस्कने, जेललाई असान्दर्भिक बनाइदिने । जे होस् गणेशमानजी बीसौँ शताब्दीको एउटा नायक हो । बीसौँ शताब्दी दुनियाँका इतिहासमा स्वतन्त्रताका संग्रामहरु, राष्ट्रिय मुक्तिका आन्दोलनहर, विज्ञान प्रविधिका उथलपुथलकारी घटनाहरु, हवाई जहाजको प्रारम्भ बीसौँ शताब्दीको सुरुमा भयो र बीसौँ शताब्दीको अन्तमा आउँदा उधुम मचियो । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध जस्ता त्यही शताब्दीमा भए । स्वाधीनताका सङ्ग्रामहरु र जनताका मुक्तिका सङ्ग्रामहरु विभिन्न कुराहरु भए । यी सबै कुराहरुमा आफ्नो ठाउँमा, हाम्रो देशमा गणेशमानजी एउटा महानायक हो । नेपालमा गणेशमानजी जस्ता नायकहरु, बीपी कोइरालाजी जस्ता नायकहरु, पुप्पलाल श्रेष्ठ जस्ता नायकहरु, मदन भण्डारी जस्ता नायकहरु जसले इतिहासलाई ठीक ढङ्गले अगाडि बढाउन जनताका साथ निर्भिकताका साथ स्पष्टताका साथ अगाडि बढे । त्यस समयमा त्यस बीसौँ शताब्दीमा त्यस परिवर्तनको शताब्दीमा नेपालमा परिवर्तनको रथ हाँकियो । वास्तममा एउटा निर्भिक सारथी, निर्भिक नायक, निर्भिक योद्धा गणेशमानजी हुनुहुन्थ्यो । म वहाँप्रति मेरो पार्टीको तर्फबाट, मेरो आफ्नो तर्फबाट पनि र यहाँहरु सबैको तर्फबाट पनि नेपाली जनताकै तर्फबाट बहाँ प्रति अत्यन्तै श्रद्धा, सम्मान अर्पण गर्न चाहन्छु । गणेशमानजीलाई धेरैधेरै सम्मान छ, धेरैधेरै श्रद्धा छ । 
     गणेशमानजीका नाममा हस्पिटल खोल्नुभएको छ, सहकारीलाई धन्यवाद । त्यसका नेता र त्यसमा संगल्न सबै साथीहरुलाई धन्यवाद छ । यस संस्थाको यस अस्पतालको सफलताका निम्ति सहयोग पु¥याउने सबैलाई पनि धन्यवाद छ । 
     आज कतिपय मान्छेहरुले ठानेका छन्, अब गणेशमान छैनन्, पेल्न सकिन्छ, अब गणेशमान मरिसके । गणेशमानजीका पार्थिव शरीर मात्र नभएको हो । वहाँका आदर्शहरु, वहाँले देखाएका बाटाहरु, वहाँले दिएका प्रेरणाहरु जीवित छन् र जीवित रहनेछन् । जातपातका कुरा छोडिदिनुस् सबै गणेशमानका सन्तति गणेशमानलाई प्रेरणा मान्न तयार भएको, जातको कुरा छ र यहाँ ? जातपात होइन, गणेशमानका सन्तति हौँ । मैले भन्ने गरेको छु, बलभद्र, अमरसिंह छैन भन्दैमा आज नेपाललाई थिचोमिचो गर्न कसैले सकिन्छ भन्ने ठानेको छ भने त्यो भ्रम हो । गणेशमान छैनन् भनेर आजका लुरेलाम्रेले के गर्लान् भन्ने ठान्छ भने त्यो भ्रम नपाले हुन्छ । यसो प्रधानमन्त्रीलाई हेरेर दाह्री फुलेको कमजोर बुढो देखेर के गर्लान् र यिनले भन्ने ठान्छन् भने ......राजनीति भनेको खलीफाले अखाडामा खेल्ने कुस्ती होइन । तपाईंहरुले हाम्रो प्रधानमन्त्रीको दृढता देख्नुभएको छ । ज्यान सानो सानो छ, आँट चाहिँ पहाड जस्तो छ । त्यस कारण हामी सबै यहाँसम्म आइपुगेका छौँ, यो आन्दोलन, यी संगठनहरु र पार्टी खास उद्देश्यका लागि बनेका हुन् । कसैले घर बनाउँछ भने खास उद्देश्यका लागि बनाउँछ । जस्तो अस्पताल भयो भने अस्पताल सञ्चालनका लागि बनाइन्छ । कुनै चीज केही गरिन्छ भने कुनै उद्देश्यका साथ गरिन्छ । नेकपा एमाले र नेपाली काँग्रेस जस्ता पार्टीहरु कुनै ख्यालख्याल गर्न बनाएको होइन, समाज परिवर्तनका लागि, लोकतन्त्रका लागि, नेपाली जनताको गरिबी हटाएर समृद्ध नेपाल बनाउनका लागि बनाइएको हो ।  गणेशमानजीका समर्थकहरु अनुयायीहरु आज हजारौँ मात्र होइन, लाखौँ छौँ हामी । त्यस कारण नेपाल अलिकति हच्केला कि दच्केला कि,, कसैले पाखुरा सुर्कँदैमा कसैले खुट्टा ढ्यापढ्याप बजार्दैमा लोकतन्त्रको बाटो छोड्ला कि, राष्ट्रलाई दूरगामी ढङ्गले प्रतिकूल असर पर्ने दूरगामी काममा जुटाउन सकिएला कि...यस्ता सपना नदेखे हुृन्छ । हामी राष्ट्रलाई दूरगामी रूपमा नोक्सान पर्ने कुनै कुरा हुन दिँदैनौँ । सामाजिक सद्भाव बिथोल्ने खालका कुरा हुन दिँदैनौँ । मैले बहुत स्पष्टताका साथ भनेको छु । अत्यन्त कटुतापूर्ण ढङ्गले, बैमनस्यतापूर्ण ढङ्गले नेपालका विरुद्ध लागेका छन् ।  म बुझ्दिन किन हो, सिङ्गै पहाड र तराई कतै मिल्नै नहुने, जति जे प्रदेश भए पनि तराई र पहाड छुट्टिएकै हुनुपर्ने । यो किन चाहियो ? यो हामी मान्दैनोँ, हामीले स्पष्ट भनेका छौँ । लोकतान्त्रिक प्रणालीबाट पर हट्ने कुरा हामी मान्दैनौँ । हामीलाई पछाडि फर्कन मञ्जुर छैन । हामीलाई कबिलातन्त्रतिर जान मन्जुर छैन । १२५ जातजातिको मिश्रित बसोवास भएको यस देशमा हामी सामाजिक सद्भाव खल्बलिन दिँदैनौँ । सामाजिक सद्भावका साथ अगाडि बढ्छौँ । लोकतान्त्रिक बाटोमा अगाडि बढ्छौँ । हामीलाई चाहिएको कबिलातन्त्र हो कि लोकतन्त्र हो ? हामीले चाहेको जातीय कलह हो कि कानुनी राज हो ? 
     हामीलाई अलिकति आरोप लाग्ने गरेको छ आजकल, सहमतिमा आएन भनेर । हामी र हामी मात्रै सहमतीय प्रक्रियाबाट अगाडि जान खोजिरहेका छौँ । एमालेले संविधान बनाउँछु भनेर के गर्ने, एक तिहाइ नै छैन । दुई तिहाइ नभई संविधान बन्दैन । नेपाली काँगेससँग एक तिहाइको आसपास छ । दुई तिहाइ बिना संविधान बन्दैन । एमाले र काँग्रेस दुइटा हुँदा पनि संविधान बनाउन संख्या पुग्दैन, अरुसँग कुरा गर्नु पर्छ । अनि यो सहमतीय प्रक्रिया होइन ? सहमतीय प्रक्रियाबाट अगाडि जाऔँ भनेर भन्दा केही तत्वहरुले बलजफ्तीय प्रक्रियामा अगाडि लान खोज्छ । संविधानले हुँदैन, कानुनले हुँदैन, प्रक्रियाले हुँदैन, म जे भन्छु त्यही हुनुपर्छ रे । 
     हामी भनिरहेका छौँ सहमतिका हाम्रा चार क्याटागोरी छन् । पहिलो आवश्यक संख्या अर्थात् दुई तिहाइ पु¥याृउने क्याटागाेरी । हामी दुई तिहाइ पु¥याएर संविधान जारी गर्न चाहन्छौँ । त्यत्तिमै सीमित हुनुपर्छ भन्ने छैन, त्यसपछिको हाम्रो प्रयास सहमतिलाई अत्यधिक बनाउने भन्ने हुन्छ । तेस्रो प्रयास संविधान सभामा भएका सबैलाई सहमत गराउने हाम्रो प्रयास हुन्छ । चौथो प्रयास, संविधान सभाभन्दा बाहिर पनि किन कसैलाई थक्थक्याएर हिँड्न दिने ? उनीहरुलाई पनि सम्झाएर लोकतन्त्रको र राष्ट्रनिर्माणको मूलप्रवाहमा सामेल गर्न दिने हाम्रो प्रयास हुनेछ । यसरी हाम्रो प्रयास चार वटा हुनेछ । तर सहमति नमान्ने धर्म भाक्ने, मैले जे भन्यो त्यही हुनुपर्छ भन्ने जिद्दी लोकतन्त्रसँग मेल खाँदैन । हामी सहमतीय प्रक्रियामै छौँ ।  सहमतिको साथ नै हामी संविधान जारी गछौँ । तर क–कसको बीचमा चाहिँ सहमति हुँदा सहमति हुने, क–कसको बीचमा हुँदा चाहिँ नहुने ? यहाँ एक दुई जना दूई चार जना मान्छे छन् तिनीहरुको बीचमा सहमति नभई सहमति नहुने रे । उसलाई सहमति गरौँ न त भन्दा नगर्ने । अगाडि बढौँ न त, छलफल पनि जारी राखौँ भन्यो भने तोडफोड, उधुम कत्रो ! संविधान बनाउन आएका हुन् कि तमासा देखाउन आएको ? अब अहिले यसो गर्छौँ, उसो गर्छौँ भनेर घुर्की लाएर बाहिर हिँडेका छन् ।  म तपाईंहरुलाई भनिदिन चाहन्छु । अहिले आन्दोलन गर्छौँ भनेर हिँडेका छन् । यिनीहरुले ब्यारेकमा पालेर राखेका छन् जनता, सिठ्ठी बजाउने बित्तिकै फुरुरुर्र कुदेर बस्ने ? किन आन्दोलन गर्ने त भन्दा संविधान बन्न नदिन । कसले मान्छ ? ठीक छ, प्रधानमन्त्रीज्यूले पहलकदमी लिइराख्नुभएको छ , कुरा गर्दै हुनुहुन्छ, राम्रो छ । प्रधानमन्त्रीले कुरा गर्नै पर्छ । सम्झाउनै पर्छ, सम्झिन सक्नेसम्मलाई । तर कोही सम्झिँदैन भने पनि यस देशमा संविधान बनाइन्छ । निकट भविष्यमा संविधान बनाइन्छ । लोकतान्त्रिक संविधान बनाइन्छ । सामाजिक सद्भाव बढाउने संविधान बनाइन्छ । देशको भौगोलिक अखण्डतालाई अहिले मात्र होइन, पछि सम्मलाई कायम राख्ने हिसाबको संविधान बनाइन्छ । हाम्रो यात्रा लोकतन्त्र तर्फको हो, सुशासनतर्फको हो, कानुनी राजतर्फको हो । राष्ट्रको एकतातर्फको हो र जनताका निम्ति समृद्धि तर्फको हो । यस कुरामा आश्वस्त रहन म यहाँहरुलाई आग्रह गर्न चाहन्छु । तपाईंहरु नेतृत्व कमजोर हुन्छ कि खुट्टा कमाउँछ कि दुईचारले धाकधक्कू लगाउने बित्तिकै लत्रिन्छ कि भन्ने चिन्ता लिन पर्दैन, यो घाममा सुकाएको कर्कलो होइन, यो दह्रो छ , त्यस कारण तपाईंहरु ढुक्क हुनुहोस् । संविधान निर्माणको काम अगाडि बढ्छ, हामी सबैलाई मिलाएर लिएरु जान चाहन्छौँ । कोही मिल्दैन भने सरी भन्नुपर्छ हामीले, संविधान हामी बनाउँछौँ, बनाउँछौँ, यो सङ्क्रमणकाललाई लम्व्याउनु छैन । 
     फेरि यस महत्वपूर्ण कामका लागि म दीपकप्रकाश वाँस्कोटाजी लगायत सबै साथीहरुलाई धन्यवाद भन्न चाहन्छु । 

No comments:

Post a Comment