Pages

Friday, January 23, 2015

हामी अन्त कतैबाट बोकाउन खोजिएका भारी बोक्दैनौँ ।

 (प्रेस चौतारी नेपालद्वारा मिति २०७१।१०।७ मा आयोजित अन्तर संवादको अध्यक्ष के.पी. शर्मा अोलीज्यूको प्रस्तुतिको प्रमुख अंश)
   
     देश संक्रमणकालबाट गुज्रिरहेको छ । संक्रमणकाल टुङ्ग्याउन हामीलाई संविधान निर्माण गर्नुछ । संविधान निर्माण गर्नका लागि हामीले अहिलेको संविधान सभाको पहिलो बैठकबाट एक वर्ष गनेर एक वर्ष भित्र अर्थात माघ ८ गते भित्र संविधान दिन्छौं भनेर हरेक दलले आफ्ना घोषणापत्रमा लेखे, हरेक दल र नेताहरुले आफ्ना मन्तव्यहरुमा भाषणहरुमा उल्लेख गर्ने गरी आए । सबभन्दा बढी स्पष्ट ढङ्गले एनेकपा (माओवादी)ले भनेको थियो, हामी जनताका अगाडि प्रतिज्ञा गर्दछौं, एक वर्षभित्र संविधान दिन्छौं, ६ महिना सहमतिका लागि प्रयास गर्छौं,     सहमति जुटेन भने प्रक्रियामार्फत लोकतान्त्रिक विधिबाट संविधान दिनेछौं, यो हाम्रो  भीष्म  प्रतिज्ञा   भयो । वहाँहरुले त्यस भाषामा प्रस्तुत गर्नुभएको थियो । चुनाव जित्नका लागि वहाँहरुले त्यसो भन्नुभयो, चुनाव भन्दा पछाडि संविधान बन्न नदिने प्रयास कसरी गर्न सकिन्छ भनेर वहाँहरु लाग्नुभयो । हामीले वहाँहरुलाई वहाँहरु समेतको प्रतिवद्धता याद दिलाउने कोसिस ग¥यौँ । तर भएन ।


     अहिले पक्षधरताको समय होइन । नेपालको सञ्चार क्षेत्रमा, नेपालको बुद्धिजीवी जगतमा एउटा पक्षधरताको प्रवृत्ति देखिन्छ । जो जताको हो उतै उभिनुपर्छ भन्ने । केही केही सञ्चारमाध्यमहरु भारतको संसदमा के भएको थियो, जापानको संसदमा के भएको थियो, कहाँ नराम्रो कुरा भएको थियो, खोज्दै, खोज्दै, खोज्दै हिँडेर यस्तो भएको थियो, यहाँ पनि यस्तै हुनुपर्छ भनेर सन्देश प्रवाहित गर्न हुरुक्क भएर लागेको देखिन्छ । अन्त संसदमा भएको थियो, संविधान सभामा होइन । हामीले संविधान सभा निर्माण गर्दा संसद र संविधान सभाको भिन्नतालाई बुझ्नुपर्छ । संसदमा पक्ष प्रतिपक्ष हुन्छ, हामीले यहाँ पक्ष प्रतिपक्ष भनेका छैनौँ । हामीले संविधान सभा भनेका छौँ, यो सत्तापक्ष र प्रतिपक्ष, बहुमत पक्ष र अल्पमत पक्ष भन्ने जस्तै होइन । संविधान सभा भनेको संविधान बनाउने थलो हो । संविधान देशको हितको संविधान, लोकतन्त्रको पक्षको संविधान र समस्या समाधान गर्ने संविधान खोज्ने । त्यो निर्माण गर्ने ठाउँ हो । संविधानले विगतको हाम्रो गौरवपूर्ण इतिहासको सम्मान गर्नसक्नुपर्छ । आजका गम्भीर र जटिल समस्याहरुको समाधान गर्नसक्नुपर्छ र भविष्यका निम्ति हामीलाई अगाडि बढ्न उपयुक्त बाटो निर्देश गर्न सक्नुपर्छ । त्यस्तो संविधान बनाउने थलो हो संविधान सभा । यसमा कुनै व्यवधान, नाराबाजी, तोडफोड कल्पनै गर्न सकिँदैन । हामीले संविधान निर्माण गर्दा पनि यस प्रकारका गतिविधिहरु संसदमा कहिलेकहिले,  सत्तापक्ष, विपक्ष, रन्का कहिलेकहिले हुनसक्छ । तर संविधानको विषयमा यो कुरा कल्पनै गर्न सकिने कुरा होइन । तर विचित्र, सदन र सडक जोड्न खोज्ने, भित्र तोडफोड गरेर नारा लगाउँदै सडकमा तोडफोड गर्न जाने विचार र प्रबृत्तिका संवाहकहरु समेत संविधान सभामा आएपछि संविधान सभा त अहिले जस्तो देखिएको छ त्यस्तो हुने नै भयो । यो धेर्र अनौठो नै चाहिँ होइन, किनभने त्यहाँ जस्ता शक्ति आएका छन्, त्यस्तो देखिने नै भयो । त्यसकारण अहिले पक्षधरताको समय होइन । हामीले यसलाई समर्थन गर्नैपर्छ जे भए पनि भनेर तर्क खोजेर, कुतर्क खोजेर नराम्रोको पुष्टि गर्ने, नराम्रो पनि ठीकै हो भन्ने कुरा पुष्टि गर्ने अभ्यास गर्ने बेला यो होइन । यति बेला गल्ती कमजोरी गर्ने हामीसँग समय पनि छैन । एक्काइसौँ शताब्दीको दोस्रो दशकको मध्य भागमा आइसक्यौँ, दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । हिजो गरिब रहेका ठाउँहरु आज हामीहरु  जीवन र जीविकाको खोजीमा जानुपर्ने अवस्थामा पुगिसक्यौँ । 
     गौरवपूर्ण इतिहास, विद्वान् र पुरुषार्थी पुर्खा, अत्यन्तै सुन्दर र उर्वर देश, प्राकृतिक स्रोत साधनले सम्पन्न देश, यस्तो देशमा हामी गरिब छौँ । र यस्तो गरिब देशमा क्रान्तिकारीताको लफ्फाजी, अनि जनता भाँड्ने, भड्काउने कुरालाई बहादुरी ठान्ने गलत मनोदशा जस्ता कुराहरु उचित हुन सक्दैनन् ।  त्यस कारण म आग्रह गर्न चाहन्छु, सञ्चार जगतले पनि पहिलो कुरा देश हो  देशलाई माया गरौँ । देशको भविष्यलाई माया गरौँ, यसलाई सुनिश्चित गरौँ । हिजो रहेका असमानता विभेद थिचोमिचोहरु अब लोकतन्त्रमा चल्दैनन्, हामीले त्यसलाई संवैधानिक कानुनी र व्यावहारिक रूपमा अन्त्य गरेका छौँ र गर्छौँ । अब हामी समतामूलक र सभ्य समाजतर्फ अगाडि बढ्छौँ र यसका लागि हामीलाई राष्ट्रिय एकता आवश्यक हुन्छ । जनताको बीचमा जातका आधारमा, भूगोलका आधारमा, समुदायका आधारमा लगायत विभिन्न आधारमा जसरी विभाजित गर्न खोजिन्छ, त्यो उपयुक्त होइन । अत्यन्तै गम्भीर नकारात्मक प्रबृत्ति हो । यति पछाडि परिसक्यौँ हामी, शिक्षामा पछाडि, स्वास्थ्यमा पछाडि, उद्योगमा पछाडि, व्यापारमा पछाडि, सेवाका क्षेत्रहरुमा पछाडि,  हाम्रो कृषि जहाँको तहीं पुरानो कृषि प्रणालीमा आधारित छ, जसमा आधुनिकता छैन, व्यावसायिकता छैन । यत्रा ठूला सम्भावना भएको देशमा हामीले पर्यटनको विकास गर्न सकेका छैनौँ । एन्डोरा भन्ने देशमा पर्यटनको यत्रो विकास गरेको छ कि अर्थतन्त्र त्यसैमा टिकेको छ । त्यहाँ केही पनि छैन । एउटा खोलो छ । हामीकहाँ त हिमाल छ, पहाड छ, जंगल छ, हात्ती छन्, गैँडा छ । यस्तो देशलाई रसातलमा धसाउने अनि हामी त क्रान्तिकारी भनेर ठूला कुरा गर्ने । 
     अब देशको हातमा शासन छ, राजतन्त्र छैन, कुनै जहाँनिया शासन छैन, राजामहाराजाको थिचोमिचो अन्तर्गत जनता बस्नुपरेको छैन । तर जनताले निर्णय गर्ने ठाउँ संविधान सभामा हेर्नुस् त । संविधान सभा स्थगित भइसकेपछि एक हूल त्यहीं बसेर तोडफोड, कुर्सी उचालेको छ, ठोकेको छ, सभा सिद्धिसकेपछि सबभन्दा बढी तोडफोड कच्याककुचुक भयो । 
    वहाँहरुको यो कस्तो सभ्यता, सभा सुरु भयो भन्ने बित्तिकै बुरुरर कुदेर सभाध्यक्षमाथि आक्रमण गर्न गए । मर्यादापालक मानिलिउँ ती मान्छे नै होइनन् । एउटाको हात भाँचिएको छ, अर्कालाई चिथोरेको छ, अर्कालाई हानेको छ । ती छेक्न मात्र बसेकालाई हातै भाँचिदिनुपर्ने ?छेक्न पनि नपाइने ? एउटाको हात भाँचिदिएको छ, अर्कालाई चिथोरिदिएको छ, अर्कालाई डिस्लोकेट गराइदिएको छ, अर्कालाई के गरेको छ । छेक्न नपाइने ? उपद्रव गर्न दिनुपर्ने ?अब म माथिको आक्रमण त भन्नै परेन, वहाँहरुको लामो समयदेखि योजना रहेछ । वहाँहरुको केन्द्रीय समिति सदस्यले साविती बयान मजाले दिइरहेकै छ, तपाईं पत्रकारहरु मार्फत आइरहेकै छ । अलिक लामै समयदेखि वहाँहरु प्रयास गर्दै आउनुभएको, खाली मौका मात्र नमिलेको रहेछ । अस्ति एउटा माइक हान्नुभयो, (माइक पनि त्यतिको तौल भएको पो हुँदो रहेछ हो, त्यो त तौल भएकै माइक रहेछ !) तर नजिकैबाट हान्दा पनि त्यो घुमेर सीधा नलागेर यस्तो पट्टिबाट लाग्दाखेरि फोर्स बाँडिएर अलिकति बच्यो । संजोग म त्यसदिन संसदभित्र जानका लागि होइन, अरुअरु कामले पहिले जाने, त्यसपछि बाहिर आउने भनेको वार्ताको वार्तामै रात गुजारी दियो । किन त्यस्तो गुजा¥यो भनेको त त्यस्तो योजना रहेछ । चार माइक हानेका थिए, पहिलो माइकले लाग्यो । दोस्रो माइक मोरङ्गका ऋषि पोखरेल माननीयलाई लाग्यो । वहाँलाई चोट लाग्यो । तेस्रो माइक पल्ला पट्टि बस्नुभएका विद्या भण्डारीजीलाई खुट्टामा लाग्यो । चौथो माइक चाहिँ त्यतिक्कै आएर खस्यो मात्रै । जे होस् वहाँहरुको योजना नै रहेछ । 
     मलाई वहाँहरुको सभ्य सम्भ्रान्त क्रान्तिकारी परिभाषामा र व्यवहारमा खासै केही कमेन्ट गर्नु छैन । मैले वहाँहरुलाई राम्रै चिनेको छु र धेरैपल्ट भन्ने गरेको छु, गोरु नाङ्गै देख्दा मलाई लाज लागेको छैन अहिलेसम्म । स्वाभाविक कुरा हो नि । बहाँहरुले ममाथि त एउटा कुरा भयो । सभाध्यक्षमाथि त्यसरी आक्रमण गर्नु र संविधान सभासँगै त्यो शत्रुता, सभा सिद्धियो, सभा स्थगित भयो, तैपनि तोडफोड, तोडफोड । अचम्मै छ तोडफोड जारी छ । पन्ध्रबीस मिनेट कति समयसम्म  त उचाल्ने, पछार्ने, माथि चढेर टेबलमा ढ्याङ्गढ्याङ्ग गर्ने, भत्काउने, माइक भत्काउने आदिको तमासा !  कुन ग्रहबाट आए होलान् यस्ता जस्तो लाग्छ । के हुन् यी जस्तो लाग्यो । दृश्य पनि हे¥यो, मान्छे जस्ता छन् । तर तमासा देखियो । खैर हिजो दिउँसोको सभा पनि वहाँहरुले बिथोल्नु नै भयो । आज ११ बजेको पनि वहाँहरुले बिथोल्नु नै भयो । तर म नेकपा (एमाले)को तर्फबाट नेपाली जनतालाई भन्न चाहन्छु, यो संविधान सभा विघटनको नियति भोग्नका लागि बनेको होइन, असफलताको नियति भोग्नका लागि यो संविधान सभा बनेको होइन । यो संविधान सभा विगतका गल्तीहरु सच्याएर अनुपयुक्त बनावटलाई अस्वीकार गरेर उपयुक्त बनावटका साथ बनेको र संविधान निर्माण गर्नका लागि बनेको यो संविधान सभा हो । त्यस कारण म नेपाली जनतालाई भन्न चाहन्छु, यस संविधान सभाले संविधान दिनेछ । हामीले माघ ८ गते भनेका थियौँ, हाम्रो दौड माघ ८ गते अगाडि नै हामी पूरा गथ्र्याैँ, तर तीन महिना हाम्रो खुट्टा माओवादी नेता बाबृराम भट्टराईले समात्यो,  संवाद समितिको नाउँमा । एक पाइलो कुद्न खोज्यो फेरि समाउँछन् । अर्को पाइला कुद्न खोज्यो फेरि समाउँछन्, गर्दागर्दा हामी धेरै समय अल्झ्यौँ । धेरै मान्छेलाई बुझ्न पनि गाह्रो हुन्छ । किनभने माओवादी शब्द प्रयोग बहुतै चलाखीसाथ गर्छन् र उसको कतिबेर के शब्द प्रयोग हुन्छ भन्न पनि गाह्रो हृन्छ, मान्छेलाई । एक छिनमा एउटा कुरा गर्छ, अर्को छिनमा अर्को कुरा गर्छ र फेरि अर्को छिनमा अर्को कुरा गर्छ । राती त्यो गर्नुभयो वहाँहरुले, हिजो बिहानै देखि नेपाल बन्दको नाममा सञ्चार माध्यमहरु, सञ्चार माध्यमका सामग्रीहरु, पब्लिकेसनका सवारी साधनहरु, पब्लिकेसनका सामग्रीहरु र पत्रकारहरुलाई लिएर हिँडेका सवारी साधनहरु माथि र पत्रकारहरु समेत माथि आक्रमण गरे । मैले भनिरहनुपर्दैन, तपाईंहरुलाई नै थाह छ । 
     हुन त सञ्चारमाध्यम एकोहोरियो भने के हृन्छ भने, कसैले हल्ला चलाइदियो, केपी ओलीले फलानालाई संरक्षण गरिबस्यो भनेर, एक हप्तासम्म छोडेन, सिट्ठी बजाएर बस्यो । हल्लाको भरमा । म पनि छक्क परेँ के भएको होला । 
     तर अब माओवादीले यति गर्दा पनि मान्छेहरुलाई यस्तै हो भन्ने परेको देखिन्छ । त्यसले त्यसै गर्छ । एउटाले भनेको छ, कुकुरले मान्छे टोकेको कुनै समाचार हो ? मान्छेले कुकुर टोक्यो भने गम्भीर हुन्छ । त्यस कारण सञ्चार माध्यमलाई त्यही परेको होला । धेरै अनौठो रूपमा नलिएकै हुनसक्छ । तर देशको अर्थतन्त्रलाई ठूलो नोक्सान छ, अर्थतन्त्रलाई मात्र होइन, बिरामीहरु छन् । अरु छन् । यी सबै कुराहरुमा पनि असर हुन्छ । कतै आवागमनमा असर हुन्छ । कोही कहाँ हिँडेको हुन्छ । यी सबै कुरामा जनजीवन अस्तव्यस्त हुन्छ । यो केका लागि गर्नुप¥यो भन्दा संविधान बनाउन नदिनका लागि । तोडफोड किन गर्नुप¥यो ? संविधान बनाउन नदिनका लागि । अवरोध किन  गर्नु प¥यो ? संविधान बनाउन नदिनका लागि । अरु त केही भनेको छैन नि, संविधान बनाऔँ मात्र भनेको छ । ८ गते भित्र चाहिँ केही पनि सुरु गर्न नै नदिने । एमालेले मात्र भनेको होइन, काँग्रसले मात्र भनेको होइन, माघ ८ गते सबैले भनेको हो । तर त्यही चाहिँ दिन नकटाई नहुने । त्यो दिन कटाए पछि जनतामा अलिकति निराशा पैदा हुन्छ, अविश्वास पैदा हुन्छ, त्यसपछि त्यो अविश्वास र निराशालाई खेल्दै गएर संविधान निर्माणको कुरालाई असम्भव बनाउन सकिन्छ भन्ने एउटा धारणा । तर त्यस्तो हुँदैन । यदि संविधान बनाउने हो भने साम्प्रदायिक विद्वेष भड्किने, साम्प्रदायिक विद्वेष र शत्रुताको जग बसाउने, त्यस कुराको ग्यारेन्टी गरिदिने हो भने संविधान बन्न दिने । अनि यदि भूगोलको आधारमा कटुता, शत्रुता बन्न दिने हो भने संविधान बन्न दिने । एउटा गीत छ– काँचो सुन्तला, नखाँदै यो चाला, खाए के होला । मधेस र पहाडको कुरा गरेका छन् । सप्तरीमा हिजो मात्रै एमालेको कार्यालय जलाइयो, आक्रमण गरियो, तोडफोड गरियो । आज त्यसको विरोध गरेर प्रशासनमा जाँदा फर्केर बाटामा आउँदाआउँदै एमालेको जिल्ला नेता शुभकलाल रामलाई ढुङ्गा प्रहार गरियो, आक्रमण गरियो । प्रदेशको कुरा मात्र गर्दा यस्तो छ, अनि प्रदेश नै त्यसै गरी बनाउने हो भने झन् के होला? 
     हाम्रो देश १२५ जातजातिको देश । १२३ भाषाभाषीका जनताको देश । विभिन्न धर्माबलम्बीहरुको देश । हिमाल, पहाड, तराई, पूर्वपश्चिम, विभिन्न पेसा व्यवसाय भएका जनताको देश हो । यस देशमा सबै प्रकारका असमानता र विभेदको अन्त्य गरिनुपर्छ र अनि सबैलाई समान अधिकार, सबैलाई समान अवसर, सबैलाई उत्तिकै सुरक्षा र वरावरी सम्मानको व्यवस्था ल्याउन चाहन्छौँ । हामीले जातीय घृणा, विद्वेष फैलाउन खोजेको होइन । बलियाले पाउने, कमजोरहरुले नपाउने होइन, लोपोन्मुखहरुको, दुर्बलहरुको, कमजोरहरुको पहिचानको बढी समस्या होला नि । अनि ती लोपोन्मुखहरुको पहिचानको समस्याको कसले कुरा ग¥यो? राउटेहरुको समस्याको कुरा कसैले गर्दैछ ? चेपाङ्गहरुको, कुमालको, धिमालको समस्याको कुरा गर्दैछ ? चमार, दुसाध, च्यामे, डोम, कसैको कुरा गर्दैछ ? होइन । यति भन्दा माथि भएको जातले राज्य पाउने रे । त्यो भनेको के हो ? यति भन्दा माथिकोलाई पहिचान चाहिने, त्यो भन्दा तलकालाई पहिचान नचाहिने, सुरक्षा नचाहिने, संरक्षण नचाहिने, केही पनि नचाहिने के हो ? पहिचान एउटा कपटी शब्दावली हो । नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने कपटी खेल हो त्यो । पहिचान, नेपालको पहिचान, नेपालीको पहिचान । आफ्ना–आफ्ना नामका पछि आफ्ना थरसर नामसाम लेखेकै छ नि । अनि के जिवैपीच्छे सबैको एउटै पहिचान हुन्छ ? रामबहादुर भनेपछि एक ठाउँका मान्छे सबै जानिन्छ ? जानिँदैनन् भने आफ्ना–आफ्ना नाम छन्, आफ्ना–आफ्ना थर छन्, अनि आफ्ना–आफ्ना नामथरले पहिचान त पाएकै छ नि । विष्णु पौडेलजी हुनुहुन्छ । विष्णुप्रसाद पौडेल । वहाँको पहिचान त्यो हो । वहाँ नेपाली हो । अब वहाँलाई राज्य दियो भने के हुन्छ ? त्यो राज्यमा बस्ने जति सबै विष्णुप्रसाद पौडेल हुन्छ त पहिचान ? पहिचानको राज्य कस्तो हुन्छ यो ? एउटा राज्यमा बसेपछि पहिचान हुने ! यो सबै के हो भने जनता अल्मल्याउने, जनतालाई मूर्ख बनाउने, समान अवसर, अधिकार र सुरक्षा अनि सम्मानको स्थिति हुन नदिने, पारस्पारिक घृणा र द्वेष फैलाउने, अनि जनताको बीचमा मारकाट मच्चाउने । मैले थुप्रो ठाउँमा भन्ने गरेको छु, ती अफ्रिकाका हुतु भन्ने, बोको हराम भन्नेहरुले बोकेका भारी यही भारी हो । यही भारी हामीलाई बोकाउन खोजिँदैछ । तिनीहरुलाई त्यहाँ बोकाइयो । अनि तिनीहरु तीन चार महिनामा दस लाख मारिए कहीं पचास लाख मारिए । सुडानको हालत हेर्नुस् । नाइजेरियाको हालत हेर्नुस् । रुवाण्डाको हालत हेर्नुस् । त्यस कारण हाम्रो बाटो त्यो होइन । 
     भर्खरै ट्यूनिसियामा लोकतान्त्रिक विधिले संविधान आयो, परिवर्तन आयो । त्यहाँका मान्छेले विभिन्नका प्रयोगका निम्ति दिएका, वितरण गरिएका भारी बोक्न चाहेनन् । आफ्ना ढङ्गले हिँडे । म खुलस्त ढङ्गले भन्न चाहन्छु, नेपाली जनता पनि अन्त कतैबाट बोकाउन खोजिएका भारी बोक्दैनौँ । हाम्रो आवश्यकता अनुसार जनतालाई अधिकारसम्पन्न बनाउँछौँ, अवसर उपलब्ध गराउँछौँ । यस देशको विकास गर्नुछ, यस देशलाई अगाडि बढाउनुछ । यस देशका जनताका गरिबी हटाउनुछ । हामी आफ्नो आवश्यकतामा आफ्नो देश र आफ्नो जनताका निम्ति काम गर्छौँ ।

No comments:

Post a Comment