Pages

Tuesday, October 14, 2014

बंगालीको अनुवाद गरेर, युरोप हेरेर नेपालमा प्रदेश बन्दैन ।

(एमाले संसदीय दलको बैठकमा दिनुभएको मन्तव्यको अंश, २०७१।६।२३)


     हाम्रो राष्ट्रको, हाम्रो समाजको बनावट मिश्रित खालको छ । १२५ जातजाति, १२३ भाषाभाषीको मिश्रित बनावट हाम्रो सुन्दरता हो, हाम्रो सम्पदा हो, हाम्रो सम्पत्ति हो । यसलाई विभेद, विभाजनको कारण बनाउनहुँदैन । धाँजो जहाँ छ, त्यहीं फेसा ठोक्ने र समाजमा पहाड र मधेशका बीचमा, पूर्व र पश्चिमका बीचमा, लेक र बेँसीका बीचमा, अनि विभिन्न जातिहरुका बीचमा भाँजो हाल्ने खालका कुरा भयो भने त्यसले नेपालको राष्ट्रियतालाई कमजोर पार्छ । त्यो होइन, हामी राष्ट्रिय एकतालाई सबल बनाउने संविधान बनाउँछौँ । हाम्रो राष्ट्रिय एकता र राष्ट्रलाई महत्व दिऔँ भन्ने अभियान भनेर हामीले आज राष्ट्रिय झण्डा वितरण पनि गरेका छौँ । हामीले नेपाललाई हाम्रो ध्यानमा राखेका छौँ, हाम्रो मस्तिष्कमा राखेका छौँ, हाम्रो छातीमा राखेका छौँ– नेपाल! त्यो कुराको एकता हुन पनि जनताको एकता बिना हुँदैन । कतिपयले छुट्टै झण्डा, छुट्टै नाम, छुट्टै के बनाउनुपर्छ, झण्डा जलाउनुपर्छ भन्नेदेखिका कुरा गरे । नेपालकै नाम फेर्नुपर्छ भन्नेदेखि लिएर के कुरा आएन? त्यसकारण नेपाल नेपाल रहन्छ, नेपालको झण्डा नेपालको झण्डा रहन्छ, नेपाल राष्ट्र राष्ट्र रहन्छ । यो राष्ट्रै होइन, राष्ट्रै बनेको छैन भनेको पनि तर्कहरु छन् । कतिपयले यो बहुराष्ट्रिय राष्ट्र हो भन्छन् । बहुराष्ट्रिय राष्ट्र होइन, बहुजातीय राष्ट्र हो । राष्ट्र एउटा हो, नेपाल हो, जातिहरु छन् । यो बंगालीको अनुवाद, बंगालीले जाति भनेको राष्ट्र भन्छन् । त्यो जाति राष्ट्र भनेको हुनाले त्यसबाट नेसन्यालिटीज भन्दाखेरि यस्तो हो भन्न खोजेको होला । कतिपय शब्दहरुका आफ्ना अर्थहरु विभिन्न भाषामा हुन्छ । हाम्रो त रेस, कास्ट, एथ्निक ग्रूप अथवा नेसन, यी कुराहरु पृथक् पृथक् अर्थका कुरा हुन् । कलिलो छ, त्यसैले नेपाल राष्ट्र बनेको छैन भन्छन् । हामीमा कुनै कन्फ्युजन रहनु हुँदैन । हाम्रा हिमालहरु कलिला छन्, हाम्रा पहाडहरु कलिला छन् । के कलिलो हुँदैमा हिमाल होइन? कलिलो हिमाल छ, भूगर्भविद्हरुलाई सोध्नुस् । हाम्रा पहाडहरु कलिला छन्, सोध्नुस् त भूगर्भविद्लाई ! कलिला छन् भन्दैमा हुँदै होइनन् र पहाड? मान्छे कलिलै जन्मन्छ, के मान्छे नै होइन? के जन्मेको हो त? त्यसकारण कलिलो हुँदैमा हुँदेन भन्ने कुरा होइन । नेपाल कलिलो होला, तर यसको उतारचढावको इतिहास, यसको विकास र सभ्यताको इतिहास पाँचौँ, दसौँ हजार वर्ष पुरानो छ । 
     हामी एकै जातिको एउटा राष्ट्र भएर युरोप बनेजस्तो होइन । युरोपमा चाहिँ जर्मन भाषा छ, जर्मन जाति छ, त्यो भूगोल छ एउटा र जर्मन देश । फ्रेञ्च भाषा छ, फ्रेञ्च जाति छ र फ्रान्स देश छ । स्पेनिश भाषा छ, स्पेनिश जाति छ र स्पेन देश छ । इङ्लिस भाषा छ, इङ्लिस जाति छ र इङ्ल्यान्ड देश छ । यस्तो नेपाल होइन । नेपाल बहुजातीय, बहुभाषिक, विविधताले युक्त मिश्रित बसोवास भएको देश हो, जहाँ शताब्दीयौँदेखि मिलेर नेपालीहरु बसेका छन् । यो एकतालाई खल्बल्याउने प्रयास भइराखेको छ । हामी पूर्वीयहरुको एउटा सभ्यता छ । अनि किरातहरुले राज्य गर्दाखेरि कुन सभ्यताअनुसार गथ्र्यो ? किराती राज्य त थियो नि, त्यतिबेला पूर्वीय सभ्यता त थियो नि, त्यतिबेला पूर्वीय सभ्यताका ठेकेदारहरु बाहुनहरु त थिएनन् । यो सभ्यता भनेको एउटा जाति विशेषको होइन । पूर्वीय सभ्यता, लिच्छविहरु त्यही सभ्यतामा, किरातहरु त्यही सभ्यतामा, हूणहरु त्यही सभ्यतामा, गोपालवंशीहरु त्यही सभ्यतामा । त्यसै पूर्वको सभ्यता, हाम्रो सामाजिक प्रबन्ध, त्यसलाई विकास गर्ने क्रममा उनीहरुले राज्य पनि सञ्चालन गरेर आए, सामाजिक पनि प्रबन्ध गरेर आए र यो देश चाहिँ राजनीतिक कारणले किरात र लिच्छविको बीचमा, शाह र मल्लका बीचमा द्वन्द्व परेको होला, तर जातिका कारण परेको छैन । त्यस कारण जातीय मुद्दामा, जातीय विषयमा विकास गर्ने अवसर दिनुपर्छ, शिक्षा, स्वास्थ्यका अवसर दिनुपर्छ, तर हामी घरघरमा राज्य पु¥याउन सक्दैनौँ । एक एक जातको एक एक वटा राज्य भनेको त घरघरमा राज्य भनेको भयो ।
     अब लालबाबुजीको छिमेकमा भन्ने हो भने त्यहाँ अर्को पण्डित छैन, अर्को क्षेत्री, बाहुन, साह, मारवाडी छ । मेरो घरको वरिपरि हेर्ने हो पनि एउटै पनि ओली छैनन्, कोही भोजपुरी बोल्छन्, कोही कानपुरी बोल्छन् । त्यसैले हामी राष्ट्रिय एकतामा जोड दिन्छौँ । अर्को कुरा, सर्वोपरि कुरा हाम्रो देश पछाडि परेको छ, त्यसलाई अगाडि बढाउने, आधुनिकतामा लाने र जनता, देशमा गरिबी छ, त्यसलाई समृद्धिमा लाने । त्यसका लागि हामीले संविधान गर्ने हो । 
     यी कुरामा हाम्रो संविधानमा हामीले कम्प्रमाइज नगर्ने हो । अरु कुरामा हाम्रो लेनदेन हुनसक्दछ । हाम्रो आधारभूत अडानहरु के हुन् भन्दाखेरि राष्ट्रिय एकताविरुद्ध हामी जान दिँदैनौँ, फुट, विभाजनतिर हामी जान दिँदैनौँ । अलोकतान्त्रिक प्रणालीतर्फ हामी जान दिँदैनौँ । अब लोकतान्त्रिक प्रणाली भित्रका यसो गर्दा हुन्छ कि, त्यसो गर्दा हुन्छ कि भन्ने कुरामा, तात्विक असर नपर्ने कुरामा सहमति हुन पनि सक्दछ । अब कमरेडहरुले के भने एक समयमा एउटा कुरा गरियो भनेर त्यसैलाई हाम्रो एकदमै अडान हो, त्यही संविधान हो किन मिचियो भन्ने खालको कुरा होइन । ती संविधान निर्माण गर्ने क्रममा हाम्रा प्रस्तावहरु हुन् । अहिले पनि हामीले ती प्रस्तावहरु गरेका हौँ । 
     महिला अधिकारको च्याम्पियन पार्टी एमाले हो, जातीय विभेद र थिचोमिचोको सबभन्दा ठूलो विरोधी पार्टी एमाले हो । लक्ष्यकेन्द्रित, उद्देश्य केन्द्रित, गन्तव्यकेन्द्रित हाम्रो यात्रालाई सुदृढ एकताका साथ र सक्रियतापूर्वक अगाडि बढाउँछौँ, यस प्रयासलाई असफल हुन दिँदैनौँ ।


No comments:

Post a Comment