Pages

Monday, September 14, 2015

अन्तरिम संविधानभन्दा पछाडि हामी फर्कन्नाैँ ।

     (मिति २०७२ भदाै २७ गते संविधान सभामा गर्नुभएकाे सम्बोधनको पाठ)
  
आज संविधान निर्माण गर्ने अभिभारा जुन जनताले संविधान सभालाई निर्वाचित गरेर दिएको छ, त्यो अभिभारा सुम्पिएर पठाएको छ, त्यसलाई बहन गर्ने अन्तिम विन्दुतिर हामी उभिएका छौँ । यस सन्दर्भमा म खुसी व्यक्त गर्न चाहन्छु । हामीले देशलाई अगाडि बढाउनुछ, यथास्थितिमा राख्नुहुँदैन, रहनुदिन हुँदैन । त्यसका निम्ति संविधान जारी गर्नै पर्छ । यस संविधान जुन अहिले परिमार्जित विधेयकमाथिको अन्तिम छलफल हामी गर्दैै छौँ र अब यो मतदानमा जाँदैछ, यसमा आधारभूत रूपको, सम्भव हुने सम्मको सकारात्मक कुराहरु सामेल गरेर, उपलब्धिहरुलाई जोगाएर, तर एउटै शक्तिले यो गर्न नसकिने भएको हुनाले सबै पक्षको सहमति, कमसेकम संविधान जारी गर्नका लागि सहमतिको संख्या, त्यो सहमतिको स्थितिको प्राप्ति, ती कुराहरुसम्म हामी पुग्नै पथ्र्यो । यस प्रश्नमा हामी मूलभूत देश र जनताका हितहरु, जनताका हकअधिकारका प्रश्नहरुलाई कायम राखेर अरु कतिपय कुरामा लचिलापन पनि देखायौँ । त्यसै गरी लचिलापनका साथ सम्झौताका साथ यो संविधानको अन्तिम परिमार्जित विधेयक आएको छ । प्रमुख तीन दलले संयुक्त रूपमा यसमा संशोधन प्रस्ताव राखेका छन् । अरु कुराहरु  राख्न तत्कालका लागि सम्भव भएन । त्यस विन्दुसम्म राखिएको छ । 
     नेपाल जस्तो प्राकृतिक रूपले सम्पन्न देश यतिबेला गरिब छ । यस गरिबीलाई हामीले समाप्त पार्नुछ । अर्कोतिर केही समय अगाडि मात्र गएको भूकम्पले नेपाललाई धेरै ठूलो नोक्सानी गरेको छ । हामीले देशलाई पुननिर्माणको दिशामा लगेर त्यस भयावह स्थितिबाट मुक्त गर्नुछ । यस बाहेक देशलाई विकास र समृद्धिको बाटोमा लानुछ । नेपाली जनता अहिले पनि गरिबीबाट तड्पेको छ, छटपटाएको छ । खानेलाउने समस्याबाट आवासको समस्याबाट, शिक्षा, स्वास्थ्यको समस्याबाट आक्रान्त छ । त्यसकारण हामीले जनतालाई लोकतान्त्रिक प्रणालीअन्तर्गत अबको संविधानमार्फत लोकतान्त्रिक हकअधिकारहरु उपलब्ध गराएर अगाडि जानुपर्छ । हकअधिकारहरु संविधानमार्फत तत्कालै उपलब्ध गराएर लान सकिन्छ तर समृद्धि तत्कालै हासिल हुँदैन । त्यसका लागि हामीले समृद्धि हासिल गर्ने बाटोतर्फ अगाडि बढ्नुपरेको छ । 
      यतिबेला हामी संविधान निर्माण गर्ने एउटा महत्वपूर्ण ऐतिहासिक अभिभारालाई पूरा गर्न जाँदैछौँ । यतिबेला अप्ठेराहरु पनि छन् । अप्ठेरा भए पनि नेपालमा प्रमुख राजनीतिक दलहरु लगायत अन्य राजनीतिक दलहरु र माननीय सभासद्ज्यूहरुले आफ्नो अभिभारा, आफ्नो संकल्प, जनताको  बीचमा आफूले गरेको कबुल र जनताबाट छानिएर संविधान सभामा आउनुको अर्थलाई सार्थक बनाउने, खेर जना नदिने यसपल्ट जुन अठोट देखाउनुभएको छ, त्यसको म अत्यन्तै प्रशंसा गर्न चाहन्छु । 
     कतिपय कुरा कतिलाई चित्त नबुझेको हुनसक्छ । मलाई पनि चित्त नबुझेका थुप्रै कुराहरु होलान् । अहिले म त्यसमा मेरो समर्थन, त्यसमा मेरो समर्थन जस्ता कुराहरु भनिरहन चाहन्न । जनता अधिकार सम्पन्न हुनुपर्दछ, जनताले सम्पूर्ण रूपमा समानताका अधिकार अवसर प्राप्त गर्नुपर्दछ, जनताको सुरक्षको कुरा, जनताको सम्मानको कुरा यी सबै जनताले अवसर प्राप्त गरेकै हुनुपर्छ । यस कुराको प्रत्यभूति हामीले संविधानमा गर्नुपर्दछ । कतिपय कुराहरु छुटेका हुनसक्छन् । नपुगेका हुनसक्दछन् । यो संविधान देशका लागि बनाउने हो । जनताका लागि बनाउने हो । त्यसकारण देश र जनताका लागि बनृाउने संविधान संविधान जारी भए पछि पनि संशोधन हुुन नसकिने,मागहरुलाई सम्बोधन गर्न नसकिने भन्ने हुँदैन । त्वसकारण म सबैसँग आग्रह गर्न चाहन्छु, कुनै पनि हिसाबले संविधान नै नबनाएर संविधानको कुरामा अड्किरहेर, हाम्रा विभिन्न प्रकारका रायहरु, मनमुटावका कुराहरु अघि सारेर संविधान नबनाएर देशलाई जहाँको तहीं राख्ने, अथवा संविधान बन्न नदिएर हिंसाको सहारामा आफ्ना कुराहरु बलजफ्ती मान्न लगाउन खोज्ने जस्ता कुराहरु उचित हुँदैनन् । 
   हिमाली भेगका, पहाडका वा तराईका, पूर्व वा पश्चिमका, सबै भाषा, धर्म, संस्कृतिका, सबै पेशा, व्यवसायका जनताका हकहितहरु सुरक्षित गर्ने, कहीं कतै केही त्रुटि छ भने, कमी छ भने तिनीहरु आगामी दिनमा सच्याउने काम गर्नुपर्छ । त्यसका लागि हामी तयार छौँ । अहिले संविधान सभा  छोडेर बाहिर गइरहेका साथीहरुलाई, दलहरुलाई सभासद्हरुलाई पनि म भन्न चाहन्छु, कुृनै भावनामा नबग्नुस् । नेपाली जनताले संघर्ष ल्याएको संविधान सभा, त्यो एउटा संविधान सभा असफल भइसकेको तीतो यथार्थजस्ता कुरालाई पनि ध्यानमा राखेर हामीले यस संविधान सभाबाट, अब विलम्ब नगरी संविधान जारी गर्नुपर्दछ । त्यसो गर्न हामी सबै एकजुट भएर सबैको सहभागितामा संविधान जारी गर्नुपर्छ । संविधान बनाउनका लागि हामी आएका हौँ । मैले जे भन्छु, त्यही हुनुपर्छ भन्ने हो भने त्यसलाई अकोै शब्द छ, हामी धेरैवटा पार्टी, धेरै सभासद् छौँ । हरेकको कुरा मैले नै भनेको हुनुपर्छ भन्ने आग्रह नहुन सक्दछ । त्यसकारण हामीले अरुका कुरा पनि सुन्ने र सहमति गर्ने गर्नुपर्दछ । त्यसै गरी हामीले संविधानको विधेयकलाई अगाडि बढाएका छौँ । म आग्रह गर्नचाहन्छु, कोही पनि साथीहरुप्रति कुनै आग्रह पूर्वाग्रह राख्नुपर्ने आवश्यकता छैन । बाहिर गएका साथीहरु र माननीयज्यूहरुलाई पनि म आग्रह गर्न चाहन्छु, विभिन्न दलहरुलाई पनि म आग्रह गर्न चाहन्छु, तपाईंहरुका जे भनाइहरु हो, जे मागहरु हो, जे मागहरु हो, ती मागहरुमा छलफल गर्ने, यथोचित ढङ्गले सम्बोधन गर्न हामी तयार छौँ, मेरो पार्टीको तर्फबाट म भन्न चाहन्छु, हामी तयार छौँ । संविधान रोकेर, प्रक्रिया रोकेर होइन, प्रक्रियालाई अगाडि बढाऔँ । सर्वसम्मतिले संविधान, अझ त्यसमा पनि हाम्रो जस्तो विविधताले युक्त समाज, विविध पार्टीहरु, विविध विचारहरु छन् । मतहरुमा विविधता छ, सोचहरुमा विविधता छ, तर एउटा स्वागतयोग्य कुरा के छ भने संविधान जारी गर्ने कुरामा, यस प्रक्रियालाई अगाडि बढाउने कुरामा सहमति छ । यो राम्रो कृुरा हो । लोकतन्त्रमा असहमतिहरु हुन्छन् । लोकतन्त्र भनेकै असहमत हुने, मतभेद राख्न पाउने, विरोध गर्न पाउने हक हो । लोकतन्त्र भनेको प्रतिपक्षको हक हो । असहमति प्रति सहिष्णुता, त्यही हो लोकतन्त्र । त्यसकारण असहमति हुनुहुँदैन भन्ने कुरा होइन । तर असहतिहरुलाई सहमतिमा परिणत गर्न सकिन्छ । तथ्य त एउटा होला नि । कसैले बुझेको छैन भने त्यसलाई छलफल को क्रममा बुझाउन सकिन्छ । तर कसैलाई बलजफ्ती थोपर्न सकिँदैन । त्यसकारण आफ्ना आफ्ना दृष्टिकोण आफ्ना आफ्ना मूल्य मान्यताहरु राखून् । यसभन्दा अगाडि दुई जना साथीहरुले आफ्ना मतहरु दर्ज गराउनुभयो । त्यो एउटा तरिका हो । आफ्ना मतहरु दर्ज  गर्ने र संविधान निर्माणको प्रक्रियामा सहभागी भएर जाने । मेरा पनि केही चित्त नबुझेका कुराहरु हुन सक्दछन् । मेरो दलमा पनि केही चित्त नबुझेका कुराहरु हुन सक्दछन् । तर अहिले यतिबेला मैले त्यसलाई प्रस्तुत गर्ने भन्दा पनि छलफलका क्रममा हामी भोली गएर सच्याउनुपर्ने ठाउँहरुमा हामी बताउँला, अहिले म कुनै त्यस्ता कुराहरु राख्न चाहन्न । 
     हामी जुन विन्दुमा पुगेका छौँ, यो उपलब्धि हो । यस उपलब्धिमा म खुसी व्यक्त गर्छु । अरु साथीहरुलाई पनि म आग्रह गर्न चाहन्छु । आग्रहहीन ढङ्गले वहाँहरुका मागहरुलाई, वहाँहरुका भनाइहरुलाई छलफलमा राख्न र यथोचित ढङ्गले सम्बोधन गर्न भोलि पनि सकिन्छ, आउनुहोस् । जनताका समस्याका कुरा छ, भावनाका कुराहरु होलान्, मागहरु होलान् । कतै कर्णालीका कुराहरु छन् । भूगोलको हिसाबले अरु भूगोलका तराईका कुराहरु होलान् । अथवा अरु विभिन्न वर्ग, समुदायका कुरा होलान् । महिलाहरुका हकअधिकारका कुराहरु होलान् । दलितहरुका कुरा साथीहरुले उठाइराख्नुभएको छ । ती कुराहरु होलान् । अहिले ती कुराहरुलाई सिरानी हालेर संविधान बन्न नदिने हिसाबमा हामी जानुहुँदैन अथवा बनाउन नसक्ने अवस्थामा हामी जानुहुँदैन । अहिले संविधान सभाबाट संविधान जारी गरौँ । 
     यस देशमा महिला हकअधिकारका लागि, महिला  समानताका लागि महिला आन्दोलन, सामाजिक न्याय र समानताका लागि मेरो पार्टी नेकपा (एमाले) एमाले सदैव संघर्षरत रहिआयो, अहिलेसम्मको जुन उपलब्धि छन्, त्यसमा एमाले अग्रपंक्तिमा रह्यो । दलितहरुको हकअधिकारका सम्बन्धमा, उत्पीडितहरुका सम्बन्धमा नेकपा (एमाले)ले कुनकुन समयमा केके ग¥यो भन्ने कुरा सबैले देखैकै छ । सरकारमा सहभागी गराउने कुरादेखि राष्ट्रपतिमा उम्मेद्वार बनाउने कुरासम्ममा एमाले लागेकै थियो । मन्त्री, सभासद् एमालेले बनाएकै छ र अहिले पनि आफ्नो पार्टी भित्र पनि उत्पीडितहरुलाई कोटा दिएको छ । त्यस कारण म तमाम माननीयज्यूहरुलाई र देशभरिकै तमाम उत्पीडित, महिला, पछाडि परेका समुदाय सबैलाई भन्न चाहन्छु, जनतालाई समानताका हकअधिकार दिलाउने, यथोचित हकअधिकार दिलाउने कुराहरुमा नेकपा (एमाले) पछाडि पर्दैन । नेकपा (एमाले(ले भोलि संविधान संशोधनमार्फत अझ संविधानका कतिपय धाराहरुलाई उन्नत ढङ्गले, अग्रगामी ढङ्गले, न्याय र समानताको पक्षमा कुनै कुराहरु हुन्छ भने त्यसलाई लिएर जानेछ । त्यसलाई सम्बोधन गर्ने काम हामी गर्छौँ । 
अहिले आन्दोलन भनेर जुन चलिरहेको छ, त्यसको आवश्यकता नै छैन । जनताद्वारा निर्वाचित संविधान सभाबाट संविधान बनाउने प्रक्रिया अगाडि बढेको छ, यसमा संवादको सम्भावना छ, यसमा आफ्ना कुराहरु प्रभावकारी ढङ्गले राख्ने ठाउँ छ । यस्तो अवस्थामा संविधान सभाका बहस छलफल छोडेर, दलहरुका बीचका संवाद छोडेर आन्दोलनमा जानुपर्ने कुनै आवश्यकता छैन । आन्दोलन रहरको विषय हुँदैन । अझ म के भन्न चाहन्छु भने आन्दोलनका नाममा अनेक प्रकारका राष्ट्र विखण्डनका कुरा गर्ने, जनतामा साम्प्रदायिक विद्वेष भड्काउने र देशलाई हिंसातर्फ लान खोज्ने, प्रहरी देख्यो कि हमला गर्ने, जुलुसमा पेट्रोल बोकेर जाने, प्रहरीलाई पेट्रोल खन्याइदिने, आगो लगाइदिने, प्रहरी कार्यालयहरुमा हमला गर्ने, निहत्था प्रहरी देख्यो भने हमला गर्ने जस्ता खालका कुरा उचित हुँदैन । अर्कोतिर यसले द्वन्द्व र भिडन्त बढाउँछ । त्यो खतरा प्रकट हुनसक्दछ । त्यतापट्टि जान हुँदैन म आग्रह गर्न चाहन्छु । सरकारको पट्टिबाट ताकेर गोली चलाइएको भन्ने कुरा आएको छ । त्यसरी ताकेर गोली चलाइएको हो भने यस्तो खालको हुनुहुँदैन । सबै जनताप्रति हामी संवेदनशील हुनुपर्दछ । तर जनताको नाममा जुन खालको एृउटा हिंसा भड्काउने कुरा भइरहेका छन्, ती कुराहरु उचित हुन सक्दैन । त्यसकारण कैलालीको घटना होस् वा धनुषाको घटना होस्, वा अरु तिर होस्, हामी हिंसा  भड्काउने खालका घटनाहरु उचित होइनन् । तसर्थ मेरो आग्रह यो छ कि हामी संवादमा बसौँ, संविधान जारी गरौँ । फेरि गर्नुपर्ने हेरफेरहरु गरौँ  र अगाडि बढौँ ।
लामो समयदेखि जनताले वलिदान दिएको छ, अहिले पनि हामी तनाबतर्फ जान सक्दैनौँ । यस देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डतालाई कुनै पनि हिसाबले होच्याउने वा यसप्रति चुनौतिको भाषा बोल्ने कुरा नेपाली जनतालाई स्वीकार्य हुनसक्दैन । कसैले तराईका नाममा,  मधेशका नाममा यस्ता कुराहरु गरेका हुनसक्छन् । यी कुनै आन्दोलनका नारा, आन्दोलनका माग होइनन् । यो आन्दोलन होइन । यी राष्ट्रको हित विपरीत, राष्ट्रिय एकता विपरीतका कुराहरु हुन् । यस्ता दुष्प्रयासहरुलाई नेपाली जनताले  कुनै पनि हालतमा स्वीकार्दैन । 
नेपाली जनताको देशभक्ति इतिहासद्वारा प्रमाणित देशभक्ति हो । दुनियाँमा उपनिवेश हुँदा पनि नेपाल सदैब स्वतन्त्र रह्यो । दासतालाई अस्वीकार ग¥यो । त्यसैले अहिले पनि कुनै पनि प्रकारको दासता स्वीकार्दैन र आफ्नो भौगोलिक अखण्डतामा तलमाथि पुग्न दिँदैन । मधेसका नाममा केही मान्छेले उत्ताउला कुरा गर्दैमा मधेसी जनतामा देशभक्ति छैन भन्ने कुरा होइन । तिनीहरु ती उत्ताउला कुराको पछाडि कृदेका छैनन् । यो केहीको मात्र कुरा हो । 
     म अनसनमा बसिरहेकाहरुलाई पनि भन्छु, अनसन बसिरहन पर्दैन हामी संवादमा बस्न सक्छौँ । ती मागहरुलाई सम्बोधन गर्न सक्छौँ । हामीले विभिन्न ठाउँमा समावेशी, समानुपातिकमा जाने र अन्तरिम संविधान भन्दा पछाडि नफर्कने कुरालाई हामीले प्रत्याभूत गरेका छौँ । 
     जनताबाट निर्वाचित संविधान सभाबाट आधिकारिक ढङ्गले संविधान जारी बनाउनु र जारी गर्नु आफैँमा ठूलो उपलब्धि हो, ठूलो वैधानिकता हो, ठूलो संवैधानिकता हो । त्यो कुरा हामी स्थापित गर्न खोजिरहेका छौँ । अब हामी अगाडि बढिसकेका छौँ । संविधान अबिलम्ब जारी गर्नुपर्छ । यसबाट हामीले गणतन्त्र, संघीयता, जतताका हकअधिकार संस्थागत गर्दैछौँ । नेपाली जनताका विभिन्न कोणबाट आएका कुराहरुलाई वास्तवमा यस विधेयकले संस्थागत गर्दैछ । केही बाँकी छ भने हामी नै हौँ, ती कुराहरुलाई हामी सम्बोधन गर्नेछौ । त्यसकारण सबै जनालाई म आग्रह गर्न चाहन्छु, यस कुरामा सबै जना सहभागी होऔँ, आफ्नो योगदान दिऔँ ।

No comments:

Post a Comment