Pages

Thursday, May 28, 2015

एमालेले के गर्न सक्छ, त्यो एमालेले देखाउँदै जान्छ ।

नेकपा (एमाले) अध्यक्ष के. पी. शर्मा ओलीबाट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनका लागि स्वयंसेवक परिचालन अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रममा सम्बोधन ।)
मितिः २०७२।२।७
स्थानः सिद्धार्थ कटेज, धोबिघाट ।
पार्टीका महासचिव कमरेड,
उपमहासचिव कमरेड,
सचिब कमरेडहरु,
स्थायी समितिका सदस्य कमरेडहरु 
र जुनजुन तहमा जुनजुन संगठन जहाँजहाँ भए पनि भोलन्टिरमा लाग्न समर्पित भएका कमरेडहरु !

     हामी कसरी अगाडि बढ्छौँ भन्ने कुरा गोकर्णजीको जर्सी र हेल्मेट हेरेर तपाईंहरुले थाह पाइहाल्नुभयो । कसरी अगाडि जान्छौँ अब ?


    नेपाल एउटा असाधारण संकटग्रस्त अवस्थामा छ, विपत्तिको अवस्थामा छ । भूकम्प देशको केही भागमा गयो, केही भाग बाँकी छ, तर सिङ्गै देश यसबाट अत्यन्तैै पीडित छ,  दुःखित छ । मैले भनिरहनुपर्दैन, १२ गतेको भूकम्प, १३ गतेको भूकम्प, त्यसपछि पछिल्लो आएर २९ गतेको भूकम्प यी कुराहरुलाई मैले सम्झाइरहन पर्दैन । हाम्रो देश भूकम्प आउन सक्ने भूकम्पीय क्षेत्र हो । त्यो हामीलाई थाह हुँदैहुँदै पनि स–साना भूकम्पको क्षति उहिले पूर्वाञ्चलमा भयो, कहिले कहाँ भयो, ती कुराहरु हामीले भोग्यौँ । तर पनि हामीले पर्याप्त ध्यान दिन सकेनौँ । सरकारले ध्यान दिन सकेन र त्यसको उपयुक्त तयारी हुन सकेन । यसले गर्दा यसपल्ट हामीले धेरै ठूलो नोक्सानी व्यहोर्नु प¥यो । भूकम्पले जस्तो झट्का दियो, त्यो भन्दा ठूलो नोक्सानी भयो कि भन्ने आशंका थियो, तर त्यति मात्र भएको रहेनछ । मैले पहिले भूकम्प जाने बित्तिकै त्यस झट्कालाई हेर्दा काठमाडौँका घर, आसपासका घर, ढृङ्गामाटाका घरहरु कसरी अडिए होला, धेरै ठूलो भयावह स्थिति छ, धेरै ठूलो नोक्सानी भएको छ, आठ हजार भन्दा बढी मानिस मरेका छन्, सत्र हजार भन्दा बढी घाइते भएका छन् र सात आठ लाख भन्दा बढी घरहरु ध्वस्त भएका छन् । सात आठ हजारको संख्यामा विद्यालयहरु ध्वस्त भएका छन् । सरकारी कार्यालयहरु ध्वस्त भएका छन् । महत्वपूर्ण कार्यालयहरु ध्वस्त भएका छन् । र हाम्रा ऐतिहासिक पुरातात्विक महत्वका धरोहरहरु समाप्त भएका छन् । यसले हाम्रो जनजीवनमा, जनताको मानसिकतामा जनताको जीवनदेखि लिएर दैनिक कारोवार, दैनिक जीवन, अथवा हाम्रो कृषि,  हाम्रो पर्यटन सबै कुरामा अत्यन्तै गम्भीर प्रभाव पारेको छ । यस्तो अवस्थामा यो जुन भयावह विपत् आइलाग्यो, हामी त्यसको सामना गर्नका लागि स्वयंसेवकको रूपमा हाम्रो पार्टीले योगदान गर्ने कुरा गरिरहेका छौँ । 
हामी एकदम छिटै तुरन्तै हाम्रो पार्टीले नै सबै गर्न सक्छ भन्न सक्दैनौँ, हामीसँग पैसा छैन, तर विभिन्न ढङ्गले तत्कालका आवश्यकता पूरा गर्दै जान्छौँ, तत्कालका विपत्तिलाई सम्बोधन गर्दै समाधान गर्दै जान्छौँ । अब नेपाललाई नयाँ निर्माणको दिशामा लिएर जाने र यस्ता विपत्तिहरुसँग सामना गर्नसक्ने गरी अगाडि लाने पक्षमा छौँ । हाम्रो सिङ्गै पार्टी पीडित छ र हाम्रो सिङ्गै पार्टी स्वयंंसेवक पार्टी हो, स्वयंसेवामा लाग्छ । हामीले स्वयंंसेवा गर्दा मुख्य रूपमा अस्थायी घरहरु निर्माण गर्ने भनेका छौँ । तर अस्थायी घर निर्माण गर्ने कुरासँग थुप्रै कुराहरु जोडिएर आउँछ । जनता त्रसित छ, आतंकित छ, भयातुर छ, अहिले पनि । जनताको मनबाट त्रास घटाउने र हटाउने पनि हामीले गर्नु जरुरी छ । अर्थात् काउन्सिलिङ्ग पनि हामीले गर्नुपर्छ । काउन्सिलिङ्ग मनोबैज्ञानिक वा मनोचिकित्सकले मात्र गर्छ भन्ने होइन, हामी आफैैले पनि जनताको मनोबल उठाउन गर्नुपर्ने अवस्था छ । जनतालाई त्यो भन्दा अगाडि त हामीले खुल्ला आकाश मुनिबाट आश्रयमुनि पु¥याउनु छ । हाम्रो बालबालिकामा आतंक छ, विद्यालय छैनन्, पढाइ बन्द छ । सकेसम्म सामान्य जनजीवन तर्फ देश फर्कन्छ भन्ने बालमनोविज्ञान पनि उठाउन हामीले तत्काल विद्यालयहरु निर्माण गर्ने र पठनपाठन सुचारु गर्ने काम गर्न जरुरी छ । त्यसपछि सरकारी संरचनाहरु, कार्यालयहरु, भवनहरु, बाटाहरु बनाउन  जरुरी छ र हाम्रा पुरातात्विक महत्वका साँस्कृतिक, ऐतिहासिक धार्मिक भावनाका धरोहरहरु जससँग जनताका भावनाहरु गाँसिएका छन्, ती पनि निर्माण गर्न जरुरी छ । यसका निमित्त हामीले एउटा योजनाबद्ध ढङ्गले एउटा प्राथमिकता तोकेर पनि काम गर्नुपर्दछ । पहिलो प्राथमिकता खाना पनि जनतालई ल्याउने हो । खाद्यान्नको कुरा गर्नुप¥यो हामीले । औषधि उपचारको कुरा गर्नुप¥यो हामीले । र हामी भोलन्टियर भएर जाँदाखेरि कति सक्छौँ, के सक्छौँ, त्यो कुरा पनि गर्छौँ हामी । हामीले भनेका पनि छौँ, हामीले पार्टीगत रूपमा आफ्ना स्रोतहरुलाई परिचालन गरेर थुप्रै ठाउँमा राहतका कार्य गरेका छौँ । म धन्यवाद भन्न चाहन्छु । युवा विद्यार्थीहरुले, युवा संघले, युवा संघले, अनेरास्ववियुले थुप्रै भवनहरु बनाइसकेका छन् । दुई तीन सय भन्दा बढी भवनहरु बनाइसकेका छन् । अनेरास्ववियुले विद्यालय भवनहरु निर्माण गरिराखेको छ । यी अत्यन्त सकारात्मक सराहनीय कुराहरु हुन् । अघि यहाँ इञ्जिनियरले बताउनुभयो, वहाँहरुले पनि विभिन्न ठाउँमा भवनहरु बनाइराख्नुभएको छ । वहाँहरुले कुनै अपेक्षा राख्नुभएन । आदेश, निर्देश, अनुनय कसैको अपेक्षा राख्नुभएन । र कसैको कति सहयोग हुन्छ, त्यसलाई पनि पर्खनुभएन, आफ्नै तर्फबाट जे गर्न सकिन्छ, गर्नुभयो । वहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । तर त्यति नै मात्र पनि कुरा छैन । यसका दुई वटा पक्ष छन् । अहिले जनतालाई सहयोग पु¥याउने, छतमुनि ल्याउने, सामान्य जनजीवततर्फ फर्काउने, अर्कातिर जनताको मनोबल यसरी उठाउने कि हामी बनाउन सक्ने रहेछौँ है, आश्रय भनेको लाखौँ करोडौँको कुरा होइन, थोरैमा पनि सुरक्षित आवासमा बस्न सकिने रहेछ । त्यो भावनालाई जगाउने र सामान्य जनजीवन तर्फ फर्काउने यो महत्वपूर्ण कुुरा छ । यसभित्र हामीले निर्माणका कामहरु र काउन्सिलिङ्ग दुइटै चिजलाई सँगसँगै लानुपर्दछ । अब तपाईंहरले निर्देशन पुस्तिका नै पाउनुभएको छ, त्यो पुस्तिकाले तपाईहरुलाई गाइडलाइन गर्छ । तपाईं हामीलाई थाह छ, यस विपत्तिको सामना गर्न नेकपा (एमाले)ले बढी गम्भीरताका साथ लिएको छ । 
     वैशाक १२ गते भुइँचालो जाने वित्तिकै त्यसको सामना कसरी गर्ने, जनतालाई हरेश नखान र हाम्रो पार्टी पंक्ति, सभासद्हरु, नेता कार्यकर्ता सबैलाई स्वयंसेवकको रूपमा जनताको उद्धार र राहतमा तत्काल जुट्न हामीले आग्रह ग¥यौँ । भोलिपल्टै हामी बैठक बस्यौँ र त्यसले थप निर्णयहरु ग¥यो । २० गते फेरि स्थायी कमिटी बस्यो र हामीले स्वयंसेवक परिचालन गर्ने विधिवत् निर्णय ग¥यौँ । त्यसको दुई दिन पछि नै हामीले उत्साहित साथीहरु अगाडि बढ्नुस् भनेर एउटा परिचालन कमिटी निर्माण गरिहाल्यौँ । वैशाक १३ गतेको बैठकबाटै हामीले महासचिवको नेतृत्वमा राहत तथा पुननिर्माण समिति गठन ग¥यौँ र त्यसले आफ्नो काम अगाडि बढायो । वैशाख २० गतेको स्थायी कमिटीको बैठकपछि हामी फेरि जेठ ३ गते मदन आश्रित स्मृति दिवसकै दिन हामी फेरि स्थायी कमिटीको बैठक बस्यौँ । त्यसले त्यसलाई विस्तार पनि ग¥यो र त्यसलाई बढी व्यवस्थित ढङ्गले अगाडि बढाउने निर्णय ग¥षो र व्यापक परिचालनमा जानका लागि निर्णय ग¥यो । हामीले बैशाख २२ गते क. गोकर्ण विष्टको संयोजकत्वमा एउटा परिचालन कमिटी बनाएका थियौँ, त्यसलाई व्यवस्थित ग¥यो र त्यसले अब गति लिन थालेको  छ । अस्ति पनि हामीले केही कार्यक्रमहरु ग¥यौँ । आज हामी गर्दैछौँ र अघि नै क. गोकर्ण विष्टले राखिसक्नुभयो १० गते हामी विधिवत् भोलन्टियर साथीहरुलाई विभिन्न ठाउँबाट, जहाँबाट जता अनुकूल हुन्छ, ती ठाउँहरुबाट बिदाइ गर्दैछौँ र काठमाडौँ र त्यसका आसपासका ठाउँहरुमा १० गते ११ बजे हामी साथीहरुलाई बिदाइ गर्छौ । त्यसो भएर कमरेडहरुले गाइडेन्स प्राप्त गर्नुहुनेछ । क. ईश्वर पोखरेलको नेतृत्वमा समग्र उद्धार, राहत, पुनस्र्थापनाको पार्टीको तर्फबाट जे काम गर्नुपर्ने हो त्यसको समन्वय भइरहेको छ । यो भोलन्टियर परिचालन पनि त्यसभित्र पर्छ । क. महासचिव ईश्वर पोखरेलको नेतृत्वमा राहत तथा पुनस्र्थापन समिति बनेको छ, त्यसको एउटा पक्ष यो भोलन्टियरको हो ।  अहिले भोलन्टियरको काम, स्वयंसेवाको काम, निर्माणका काम अत्यन्त जरुरी छ र यो एमाले जसरी अरु कसैले गर्न नै सक्दैन । अरुले पनि अलिअलि सिक्न खोजेका छन्, नक्कल गर्न खोजेका छन् । एमालेबाट सिक्न खोज्नु राम्रो कुरा हो । तर एमालेले एक झट्कामा १० हजार व्यवस्थित ढङ्गले गाउँगाउँमा खटाएको छ । अरुका लागि १० हजार भोलन्टियर खटाउन सम्भव छैन । हामीले हे¥यौँ, एमालेको तर्फबाट कार्यकर्ताहरुले थुप्रै निर्माणका काम गरिसकेका छन्, निर्माणका काम गरिसकेका छन् । एमलोले फोटो खिँचाउने खालका र फेसबुकमा प्रचार गर्ने खालका होइन, राहत पु¥याउने खालका कामहरु गरेका छन् । हाम्रो ध्यान नेकपा (एमाले)ले जस लिन श्रेय लिन, एउटा भावना के भने हामी राजनीतिक पार्टी र राजनीतिक पार्टीले श्रेय लिन संगठन, संस्था, व्यक्तिहरु भएको हुनाले हामीलाई राजनीतिको अलिकति लोभ लाग्न सक्छ । तर यस प्रसंगमा हामीले राजनीतिको लोभ होइन, पार्टीको लोभ होइन, संगठनको लोभ होइन, नेपाली जनताको खातिर गर्नुपर्दछ, नेपाली जनतालाई सेवा पु¥याउनका लागि व्यापक भावना राख्नुपर्दछ, पार्टी तिनै उद्देश्यका लागि हो । त्यस कारण हामी प्रचारका लागि काम गर्दैनौँ । मैले अस्ति पनि केही ठाउँहरुमा भनेको थिएँ, हामी मूल्याङ्कनका पछि कुद्दैनौँ, प्रचारका पछि कुद्दैनौँ । तर यसको अर्थ यो होइन कि हाम्रा काम कसैले थाह नै नपाओस् । कोही त्यसबाट उत्साहित हुन नपरोस् । त्यसबाट शिक्षा लिन नपाओस् । त्यसबाट उत्साहित भएर अगाडि बढ्न नसकोस् । त्यसरी गुपचुप राख्ने भनेको होइन । जो फिल्डमा जानुहुन्छ कमरेडहरु, तपाईंहरुलाई केन्द्रीय कार्यालयले नम्बरहरु दिएको छ । त्यस नम्बरमा तषाईंहरुले गरेको कामको कम्तीमा दैनिक हरेक ग्रुपले रिपोर्ट गर्नुपर्छ । बीचमा कतिपय कुराहरु हुनसक्दछ, स्वास्थ्यका समस्याहरु आउन सक्दछ । मैले. धेरै अगाडिदेखि भनेको छु, साथीहरुलाई पूर्ण रूपमा सेवाभावले समर्पित भएर काम गर्ने, तर भोलन्टियर भएर काम गर्ने मानिस बढी युवा उमेरका हुने भएर एडभेन्चरिस्ट तरिकाहरु कताकता देखापर्न सक्दछ, मैले साथीहरुलाई भन्ने गरेको छु, एडभेन्चरिस्ट नहोऔँ, दुस्साहसिक ढङ्गले पेश नहोऔँ । कुनै अनावश्यक बहादृरी देखाउनुपर्ने कुनै आवश्यकता छैन । सुरक्षित रहने कुरामा ध्यान दिने । त्यसैकारण स्वास्थ्यको फस्र्ट एड किटबक्सदेखि लिएर अनेक किटहरु कसरी बनाउन सकिन्छ, यी कामहरु गर्ने र आफू सुरक्षित भएर अरुलाई सुरक्षित गराउने, अरुलाई सहयोग गर्ते । आफू नै सुरक्षित नहुने ढङ्गले नचल्ने भन्ने कुरा मैले साथीहरुलाई भनेको छु । सुरक्षित नै भइएन भने योगदान पु¥याउन सकिँदैन । यसको अर्थ काथर हुनु भनेको होइन । कायरता र हाम्रो भेटघाट हुँदैन । तर हामी कायर नहुने अर्थमा दुस्साहसिक हुनुहुँदैन । पौडी खेल्न जानेको छैन, म त एमालेको कार्यकर्ता, युवा संघको कार्यकर्ता, विद्यार्थीको कार्यकर्ता, गोकर्ण विष्टले चलाएको कार्यकर्ता, ईश्वर पोखरेलले चलाएको के गर्छ त्यो भनेर पौडी खेल्न पस्यो भने त्रिशूलीको माइ डियर हो, नो इस्क्युज भन्छ र ? यस्ता कुराहरु हामीले बुझ्नुपर्दछ र एड्भेन्चरिस्ट हुनुहुँदैन । 
     पवित्र, निःस्वार्थ, निडर सेवाभावले हामी अगाडि बढ्नुपर्दछ । कमरेडहरुलाई गाइडेन्सका लागि पर्याप्त सामग्रीहरु आएका छन् र अरु थप पनि आउँछन् । हरेक टिमले आफूले त्रिपालहरु बोकेर जान्छ र त्रिपालहरुको व्यवस्था गरेका छौँ, पालहरुको व्यवस्था गरेका छौँ र जे गर्न सकिन्छ, त्यो गर्छौ । कोही पनि ती कामहरुबाट, अनुगमनका काम, अनुगमन मात्र होइन संभवतः अरु पनि काम गर्छौँ, जसको स्वास्थ्यले जति दिन्छ, देखावटी गर्ने होइन, यथार्थमा गर्ने हो । त्यसकारण ती कामहरु हामी गर्छौँ । एक जना कमरेडले उठाउनुभएको छ, फलाना जिल्ला किन परेन, त्यतातिर पनि काम हुन्छ । एक जना कमरेडले उठाउनुभएको छ, फलाना कमरेडले यसो गर्ने, उसो गर्ने भन्ने । त्यहाँका पार्टीहरुसँग तालमेल गरेर नै काम गर्ने हो । त्यहाँका सगठनहरु छन्, तिनीहरुसँग तालमेल गरेर नै काम गर्ने हो । यहाँबाट त हामी दश हजार भोलन्टियर छौँ । नेकपा (एमाले) का भोलन्टियरहरु भोलन्टियरको रूपमा बर्दीधारी त्यो अनुशासनभित्र बस्ने, आदेशको पालना गर्ने, त्यो भोलन्टियरको संख्या दस हजार हो । तर सिङ्गै एमाले, अध्यक्षदेखि लिएर तमाम एमाले, जनवर्गीय, पेशागत संगठनका सदस्यहरु समेत जति मोबिलाइज गर्न सक्छ, एमाले पार्टीले माया गर्ने, सद्भाव राख्ने मान्छेहरु पनि भोलन्टियर हुन्, योगदानकर्ता हुन् । हामी सबैलाई समेट्छौँ र अगाडि बढाउँछौँ । यतिबेला तत्काल बिपत्ति आइपर्दा देशभित्र पनि एक खालको अन्यमनस्कता रह्यो । के भन्ने कसो भन्ने खालको रह्यो, एउटा कुरा । बाहिरबाट आएको सहयोग पनि त्यस्तै ढङ्गले रह्यो, त्यो एउटा कुरा हो । तर अब हामीले ती सबै कुरालाई व्यवस्थित गर्नुपर्दछ । र हामीले प्राप्त गरेका र हामीले पठाएका राहतहरुको लेखो राखेर, कहाँकहाँ हामीले केके ग¥यौँ भन्ने कुरा राखेर नै काम गर्नुपर्दछ । त्यस हिसाबले पहिले अलिकति हामीलाई जे प्राप्त भयो त्यो वितरण ग¥यौँ । तर आफूलाई चाहिने सामानहरु पाल, त्रिपालदेखि लिएर ब्रस, मञ्जनदेखि लिएर अघि गोकर्णजीले भन्नुभयो जुत्ता कस्तो लगाउने हो, चप्पल कस्तो लगाउने हो, सजिलो ठाउँमा जाने होइन, काम कस्तो गर्ने हो, ती कुराहरु बुझेर हामीले आफ्नो पहिरन,  आफ्नो भेषभूषादेखि लिएर त्यस ढङ्गको तयारी गर्नुपर्छ । 
     म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने स्वास्थ्य बिग्रियो भने त्यसको तत्काल उपचार गर्नुपर्छ । स्वास्थ्य बिग्रिए पनि लागिरहने, त्यसमा पनि एडभेन्चर देखाउने होइन, स्वास्थ्य बिग्रियो भने त्यसको रिपोर्ट गर्ने र त्यसको समयमै उपचार गराइहाल्नुपर्छ । म तपाईंहरु सबैलाई र हाम्रा दश हजार भोलन्टियर सबैलाई शुभकामना भन्न चाहन्छु, दश हजारमध्ये एक जना पनि भोलन्टियर बिरामी पर्नु हुँदैन, अस्वस्थ हुनुहुँदैन  अस्वस्थ हुनुहुँदैन, केही हुनुहुँदैन । 
     धेरै साथीहरु, युवा साथीहरु घर बनाएर सिकेर तालिमप्राप्त भएर आएका छैनन् । काँटी ठोक्ने भन्दा हातैमा ठोक्ने हुन सक्छ । यस्ता समस्याहरु हुन्छन् । देख्दा खेरि ट्वाँङ्गट्वाँङ्ग हान्दा गइहाल्छ भन्ने होला । तर होइन ।  एउटा ठोक्यो बाङ्गिन्छ, अर्को ठोक्यो बाङ्गिन्छ हुन्छ । काँटीले कसले ठोक्दैछ भन्ने जान्ने हुन्छ । त्यसैले जान्ने मान्छेसँग सोधेर गर्नुपर्ने हुन्छ । त्यो कुरा हामीले सिक्नुपर्छ । मामुली कुरा हो जस्तो लाग्छ, तर सिक्नुपर्छ, सावधानीका साथ काम गर्नु पर्ने हुन्छ । 
     हामीले सेवा गर्न खोजेका हौँ, समस्या निम्त्याउन खोजेका होइनौँ । अरु हाम्रा निर्देशनमा नै आइसकेका कुरा छन् । अनृुशासन हुनुपर्छ, अनुशासित ढङ्गले काम गर्नुपर्छ । मैले विद्यार्थीहरुलाई निर्देशन दिने क्रममा पनि ‘फोर डी’को कुरा गरेको थिएँ । पहिलो कुरा समर्पण भाव, सेवाभाव, डेडिकेसन चाहिन्छ । त्यो डेडिकेसनलाई हामीले एकदम डिसिप्लिनका साथ काम सम्पादन गर्न प्रयोग गर्नुपर्छ । कमाण्डर भनेको कमाण्डर हो । स्वास्थ्यले साथ दिँदैन भने विधिवत् कमाण्डरलाई भनेर छुट्टी लिनुपर्दछ । विधिवत् ढङ्गले चल्नुपर्दछ । अघि मैले यहाँ गाउँगाउँबाट उठ भन्ने गीत सुनेँ । यत्रो मान्छेले गीत गाएको खासै बुझिएन । यत्रो मान्छेले गीत गाउँदा त त्यहीँ भत्किएला कि जस्तो हुनुपर्ने, उचालिएला कि जस्तो हुनुपर्ने । अलि भएन । हामी हरेक कुरामा उत्साहित हुनुपर्छ । गाउँमा गएर गीत गाउँछौँ भने उठ्ने सन्देश जानुपर्छ, हामी आफैँ पनि प्रेरित हुनुपर्छ र अरुलाई पनि प्रेरित गर्नुपर्छ, नत्र हामीले भोलन्टियर परिचालन गीत किन राख्ने ? हामी पनि उत्साहित हुनुपर्छ, अरु पनि उत्साहित हुने स्वर र लयमा गाउनुपर्छ । त्यसले मान्छेहरुको भावनालाई बलियो बनाउँछ । यो मान्छेहरुको भावनालाई बलियो बनाउनका लागि हो, उत्साहित बनाउनका लागि हो, हिम्मतिलो बनाउनका लागि हो । मेलोडी, भोकल र हाई लोको कुरा छोडिदिनुुस्, उत्साहित बनाउन जान्नुप¥यो । त्यसकारण गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ....। त्यसलाई सबैको भन्दा बढी भोल्युमका साथ, सबैको भन्दा बढी उत्साहका साथ । यति उत्साहित कि यति उत्साहित कि पढ्नेलाई पनि यति तगडा रहेछ भन्ने पर्ने गरी, लेख्नेलाई पनि यति तगडा रहेछ भनी पर्ने गरी ।
     अब धेरै कुरा नभनूँ । एज ए  होल नेतृत्व महासचिव कमरेडले गर्नुहुन्छ, भोलन्टियर परिचालनको सम्पूर्ण अथोरिटी गोकर्ण कमरेडले त्यो गरिराख्नुभएको छ । अघि तपाईंहरुले सुन्नुभयो, को को कहाँ खटाइएको छ भन्ने कुरा । हो खटाइन्छ, अध्यक्षलाई पनि खटाइन्छ, उपाध्यक्षहरुलाई खटाइन्छ । वरिष्ठ नेताहरुलाई खटाइन्छ । जसलाई जुन कामको जिम्मा छ, त्यसलाई सफल पार्न उसले सबैलाई खटाउँछ, मलाई यहाँ किन खटायो भन्ने छैन, त्यो काम गर्नुपर्छ । 
     साधारणतया राजनीतिक पार्टीहरुको काम राजनीति गर्ने, संगठन गर्ने, प्रचार गर्ने सभा गर्ने हो । कहिलेकहिले यस्तो अवस्थामा संगठन गर्ने होइन, सेवा गर्ने परिस्थिति हुन्छ, जुन परिस्थितिमा सेवा गर्नुपर्छ । म सबै साथीहरुलाई त्यो पवित्र, उदात्त भावनाका साथ डिटर्मिनेसन र डाइनामिज्मका साथ मैले फोर डी भनेको छु, त्यसका साथ अगाडि बढ्नुस् । पार्टीले यसलाई संयोजन गरिराखेको छ, गर्छ । तोकिएका नतोकिएका सबै भोलन्टियर हौँ । यो ज्याकेट लगाएर भोलन्टियरको काम गर्नुपर्छ । त्यसकारण म जति सक्छु त्यो म गर्छु, अरुले जति सक्छ त्यो गर्छ, हामी सबैले यस संकटबाट देशलाई पार लगाउनुछ । यसलाई भोलिपर्सि हुँदा हामी हाम्रो भूमिकालाई बढाउँदै लानुपर्छ । विचारको हिसाबले, संकल्पको. हिसाबले सामथ्र्यको हिसाबले देश निर्माण गर्ने पार्टी यही हो ।  अनि देश बनाउने पार्टीको रूपमा, त्यसको कार्यकर्ताको रूपमा हामी अगाडि बढ्छौँ । आत्मविश्वासका साथ हामी बनाउँछौँ यो देश, हामी जोगाउँछौँ यो देश । हामी नयाँ निर्माण गर्छौैँ । र अहिले हामीले सामना गरिरहेको अप्रत्यासित विपत्तिको जुन समस्या छ, तिनको समाधानमा नेकपा (एमाले)ले अगुवाइ गर्छ, नेतृत्व गर्छ । अब दस गते पछि देशले थाह पाउँछ, एमाले के हो भन्ने कुरा । 
     एकपटक चाइनिज सेनाले बाढीलाई मान्छे हातेमालो गरेर रोक्यो । त्यत्रो याँग्सेको कटानलाई रोक्यो । दुनियाँ छक्क प¥यो । पानीको बहाव मान्छेमा लागेपछि भित्तामा लागेन । त्यसपछि उनीहरुले मिलाउँदै लगे । मान्छे खाली कम्प्युटर चलाउने, अनुसन्धान गर्ने, अनौठा, अनौठा काम मात्र गर्ने होइन कि कहिलेकहिले पत्यार नहुने काम गर्छ । हाम्रा दश हजार भोलन्टियरले यस पालि देखाउने काम गर्नेछ । एमालेले के गर्न सक्छ त्यो एमालेले देखाउँदै जान्छ । सबैमा शुभकामना भन्न चाहन्छु । यो सबै कामको संयोजनका लागि कमरेड महासचिव, गोकर्ण विष्टलगायत हुनुहुन्छ । मेरो त काठमाडौँमा अनुगमन छ, युवाहरु साथमा हुनुहुन्छ, भनेपछि काठमाडौँमा अनुगमन दरिलै हुन्छ । सबैलाई धन्यवाद, सबैलाई शुभकामना । 

No comments:

Post a Comment