Pages

Wednesday, November 26, 2014

क. सहाना प्रधानबाट प्रेरणा लिँदै अगाडि बढौँ!

मितिः २०७१।७।२६
स्थानः प्रज्ञा भवन

यस कार्यक्रमका अध्यक्ष महोदय,
मञ्चमा आसीन अतिथि र वक्ता महानुभावहरु,
र उपस्थित दिदीबहिनी, दाजुभाइहरु

      सबभन्दा पहिले म नेपालको बामपन्थी आन्दोलन, लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा लामो समय योगदान गरेर आफ्नो उच्चतम योगदान बनाउन सफल भएकी महिला नेतृ सहाना प्रधान,  जो हामी बीच हुनुहुन्न, वहाँप्रति पार्टीको तर्फबाट र मेरो आफ्नो तर्फबाट धेरैधेरै श्रद्धासुमन अर्पण गर्न चाहन्छु । धेरै  धेरै श्रद्धाञ्जली । मैले अलिकति छोटैमा बोल्नुपर्नेछ ।



      बीसौँ शताब्दी अत्यन्तै ठूला उपलब्धि र परिवर्तनको शताब्दी रह्यो । यी परिवर्तन र उपलब्धिहरु आफैँ आएनन् । परिवर्तन ल्याउन र मानव जातिका लागि उपलब्धि हासिल गराउन सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा वा विज्ञान प्रविधिको क्षेत्रमा वा सञ्चार यातायातको क्षेत्रमा र विविध क्षेत्रमा मानव जातिले बीसौँ शताब्दीमा जुन असाधारण प्रयास ग¥यो, या प्रगति ग¥यो या सफलता प्राप्त ग¥यो, त्यसका पछाडि विभिन्न व्यक्तित्वहरुको भूमिका रही आएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने नेपालको महिला आन्दोलनको सन्दर्भमा सहाना प्रधानजी प्रातःस्मरणीय हुनुहुन्छ, अनुकरणीय हुनुहुन्छ । बीसौँ शताब्दी उपनिवेशवादबाट राष्ट्रहरुको स्वाधीनताको शताब्दी रह्यो । विभिन्न प्रकारका तानाशाहीहरुबाट जनताको मुक्तिको शताब्दी रह्यो । मानवीय चेतनाले साँचै उचाइ लिएको शताब्दी, मानवीय प्रयासले संगठित स्वरूप धारण गरेको शताब्दी र ती संगठित स्वरूपहरुले परिवर्तनका निम्ति शङ्खघोष गरेको, आन्दोलन गरेको आन्दोलनको शताब्दी, खोज, अनुुसन्धान, अन्वेषनको शताब्दीको रूपमा बीसौँ शताब्दी रह्यो । यस शताब्दीमा नेपालको सन्दर्भमा अत्यन्तै प्रभावित गर्ने नेताहरुमध्ये हुनुहुन्थ्यो, एक जना सहाना प्रधान । वहाँहरुले महिला शिक्षाका सन्दर्भमा आन्दोलन चलाउनुभयो, गिरफ्तारी दिनुभयो । यो अहिलेको कुरा होइन, ६७ वर्ष अगाडिको कुरा हो । ६७ वर्ष अगाडि बहाँहरु गिरफ्तार हुनुभयो र ६७ वर्ष अगाडि २००४ सालमा नेपालबाट पहिलो एसएलसि दिने ८४ जना विद्यार्थीमध्ये रहेका ४ जना छात्रामध्येका एक हुनुहुन्थ्यो, सहाना प्रधान । वहाँले त्यसैबेलादेखि, महिला जागरणका लागि, महिला सशक्तिकरणका लागि, महिला शिक्षाका लागि आफू पनि अगाडि बढ्नुभयो र अरुका लागि पनि प्रेरणाको स्रोत बन्नुभयो । 
      थुप्रै मान्छेहरु आन्दोलनमा सरिक हुन्छन्, तर आन्दोलनको अग्र भागमा रहेर नेतृत्व गर्ने थोरै हुन्छन् । सहाना प्रधान आन्दोलनको अग्रभागमा रहेर नेतृत्व गर्ने नेतृमध्ये एक हुनुहुन्थ्यो । हुन त आजकल पञ्चायतविरोधी आन्दोलन, निरङ्कुशताविरोधी आन्दोलन, २०४६ सालको आन्दोलनलाई अपमानजनक ढङ्गले हेर्ने पनि केही टुप्पोमा पलाएका प्रवृत्तिहरु छन्, राजनीतिक विकासक्रम नबुझ्ने अहिले म जन्मिएर हुर्केपछि मैले गरेको काम मात्र सबकुछ हो, त्यो भन्दा अगाडिको केही पनि होइन भन्ने । यथार्थ त्यस्तो होइन, अगाडिका व्यक्तित्वले गरेका कामहरु अत्यन्तै महत्वपूर्ण छन्, तिनले ल्याएका परिवर्तनहरु अत्यन्तै महत्वपूर्ण छन् । त्यो परिवर्तनको जगमा नै अरु परिवर्तनहरु अगाडि बढ्न सकेका हुन् । सहाना प्रधानजीले महिला आन्दोलनको सन्दर्भमा महिला संघ ती दिनहरुमा गठन गर्नुभयो र राजनीतिक आन्दोलनमा वहाँको संलग्नता एउटा नेताको भूमिकामा रह्यो । वहाँ वास्तवमा नै नेपाली समाजको लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो । राजाको सक्रिय निरङ्कुशताअन्तर्गत चलेको निर्दलीय तानाशाही व्यवस्थामा पञ्चायतका विरुद्ध र निरङ्कुशतन्त्रको विरुद्ध २०४६ सालको आन्दोलनमा बाममोर्चाको सर्वग्राह्य, सर्वस्वीकार्य नेताको रूपमा वहाँले काम गर्नुभयो । त्यस बेला निरङ्कुशतन्त्र र पञ्चायतको अन्त्यको सन्दर्भमा तत्कालीन राजा वीरेन्द्रसँग संवाद गर्ने सानो टिमभित्र वहाँ पनि हुनुहुन्थ्यो र वहाँको अडान त्यतिबेला लोकतन्त्रको पक्षमा बहुतै स्पष्ट थियो । त्यस भन्दा पछि पनि वहाँका प्रयासहरु लोकतन्त्रको पक्षमा सामाजिक न्यायको पक्षमा, समानताको पक्षमा, महिला आन्दोलनको पक्षमा, महिला जागरण शिक्षा, महिला सशक्तिकरणको पक्षमा र सामाजिकीकरणको पक्षमा वहाँका प्रयासहरु अनवरत रही आए । वहाँले विभिन्न भूमिकामा काम गर्नुभयो र हरेक भूमिका, हरेक पाटोबाट वहाँलाई हेर्ने हो भने महिला नेतृको हिसाबमा, महिला आन्दोलनको अग्रणी व्यक्तित्वको हिसाबमा अथवा नेपाली बामपन्थी आन्दोलनको एक जना अग्रणी व्यक्तित्वको हिसाबमा अथवा नेपालको लोकतान्त्रिक आन्दोलनलाई सही दिशा दिने, सही बाटोबाट अगाडि बढाउने कुराको सन्दर्भमा वहाँको योगदान हरेक हिसाबमा असाधारण रहिआयो । सांसदको हिसाबले, मन्त्रीको हिसाबले, पार्टी अध्यक्षको हिसाबले, पार्टी महासचिवको हिसाबले, संयुक्त बाममोर्चाको प्रमुखको हिसाबले अनेक हिसाबले वहाँले भूमिका खेल्नुभयो र ती सबै भूमिकाहरु प्रभावकारी ढङ्गले सम्पन्न गर्नुभयो । 
      नेपाली जनतामा वहाँको भूमिका कस्तो थियो ? कहिलेकाहीं तलवितल पर्दा वहाँको लोकप्रियता कम भयो कि भन्ने नि हुन्थ्यो, तर यसबाहेक वहाँको लोकप्रियता अत्यन्तै राम्रो रह्यो । २०४८ सालको चुनावमा सायद सर्वाधिक मतान्तरले वहाँले विजय हासिल गर्नुभयो, सर्वाधिक बढी मत प्राप्त गर्नुभयो । यसले वहाँप्रति जनताको निष्ठा देखाउँछ । कहिले कहिले अरु कुराहरु हावी हुन्छन्, अरु परिस्थिति हावी हुन्छन् र उल्टा परिणामहरु पनि कहिलेकहिले आउँछ । तर जनताको मनमा वहाँप्रति रहेको सम्मान, विश्वास २०४८ सालको आमनिर्वाचनले देखाएको छ । वहाँ हामी सबैको प्रेरणाको स्रोत हुनुहुन्छ । हामी सबैलाई वहाँले प्रेरणा दिइराख्नुभएको छ । अब पनि हामी लोकतान्त्रिक समाजको निर्माण गर्नसक्छौँ कि सक्दैनौँ ? अब हामी निर्धारित समयभित्र संविधानको निर्माण गर्न सक्छौँ कि सक्दैनौँ? यस संविधानले शान्ति ग्यारेन्टी गर्छ कि गर्दैन ? अथवा शान्ति विरोधी तत्वहरुलाई अस्वीकार गरेर अगाडि बढ्न सक्छ कि सक्दैन ? असमानता र विभेदहरुलाई अन्त्य गरेर समतामूलक समाजको रचना गर्छ कि गर्दैन? यस संविधानले महिला सशक्तिकरण, महिला शिक्षण, महिला जागरण, महिला सामाजिकीकरण र महिलाहरुको प्रभावकारी सहभागिता अभिबृद्धिमा के कस्तो भूमिका खेल्छ, त्यो महत्वपूर्ण कुरा हो । हामी समयभित्र लोकतान्त्रिक संविधान दिन सक्छौँ कि सक्दैनौँ ? नेपालजस्तो बहुजातीय, बहुभाषिक देशमा राष्ट्रिय एकता कायम गरेर, सामाजिक सद्भाव कायम गरेर, देशलाई सुदृढ बनाउने पाटोमा अगाडि बढ्न सक्छौँ कि सक्दैनौँ? 
      हामी समृद्धि चाहन्छौँ, गरिबी हटाउन चाहन्छौँ, पछौटेपन हटाउन चाहन्छौँ । क्रान्तिकारी नारा भित्र, जनतालाई खातिरदारी गरे झैँ गरेर समृद्धिलाई अस्वीकार गर्ने, समृद्धितर्फको हाम्रो यात्रालाई अवरुद्ध गर्न खोज्नेहरु छन् । क. सहाना प्रधानप्रति सम्मान गर्ने हामी हरेकले लोकतन्त्र प्रति समर्पित भएर काम गनुपर्छ । वहाँलाई माया गर्ने, सम्मान गर्ने हामीले वहाँको अनुसरण गर्ने भनेको के? वहाँको महिला सशक्तिकरणको, महिला जागरणको, महिलाको सामाजिकरण र सामाजिक सहभागिताको अभिवृद्धि ठोस योजनाका रूपमा गर्ने नीति योजनाको साथ अगाडि बढ्न सक्छौँ कि सक्दैनोँ ? त्यसमा वहाँप्रतिको हाम्रो निष्ठा प्रकट हुन्छ । म तपाईंहरुलाई भन्न चाहन्छु, जसले जे भने पनि माघ ८ गते भित्र संविधान बन्छ, लोकतान्त्रिक संविधान बन्छ, शान्तिउन्मुख संविधान बन्छ, राष्ट्रिय एकताको पक्षमा संविधान बन्छ, पछाडि पारिएका  समुदाय, वर्ग, क्षेत्रहरुलाई अगाडि बढाउने सन्दर्भमा ठोस काम गार्ने, ठोस नीति साथको संविधान बन्छ । र त्यस मार्फत राष्ट्रिय एकता कायम हुन्छ र समृद्धितर्फ, विकासतर्फका हाम्रो यात्रालाई कमजोर नपार्ने त्यसलाई बाटो देखाउने संविधान बन्छ । संविधान बन्न नदिने पडयन्त्रहरु पनि देखिएका छन् । नमिल्ने, मिल्न नचाहने, सहमति नगर्ने, तर सहमति बिना बाहिर चल्न दिन्नौँ भन्ने अनौठा तर्कहरु पनि आउने गरेका छन् । व्यक्तिगत स्वार्थ वा गुटगत स्वार्थहरुलाई सर्वोपरि राखेर, देश जहाँसुकै जाओस् भन्ने कुतर्कहरुले संविधान बन्ने कुरामा, देशलाई अगाडि बढाउने कुरामा कुनै प्रकारको नोक्सान पर्नु हुँदैन । जसका निम्ति जो हामी क्रियाशील छौँ, जो अग्रजहरुलाई सम्मान व्यक्त गर्दछौँ, हाम्रा अग्रजहरुबाट हामी प्रेरणा प्राप्त गर्ने कुरा गर्दछौँ, हामीले त्यही दृढताका साथ बिना अलमल भ्रममा पार्न खोज्ने शक्तिहरुका भ्रममा नपरीकन अगाडि बढ्नुपर्दछ । त्यसो ग¥याैं भने नै मात्र हामीले क. सहाना प्रधानप्रति साँचो श्रद्धाञ्जली दिएको ठहर्छ । 
     अहिले केही पनि परिवर्तन भएन, महिलाहरु जहाँ छ, त्यहीं छन् भन्ने प्रचार चलाइएको छ । म महिला दिदीबहिनीहरुलाई भन्न चाहन्छु,  यस्तो होइन । सहाना प्रधानले जतिबेला थाल्नुभएको थियो त्यतिबेला महिला आन्दोलन आन्दोलनकै रूपमा थिएन । योगमाया जस्ता केहीले धार्मिक भावमा एकप्रकारको विद्रोहको स्थिति कहिलेकहिले बनाएको देखिन्छ । तर महिला सशक्तिकरण, महिला जागरण, महिला शिक्षा र सामाजिकीरणको सन्दर्भमा समाज त्यहाँ थिएन । २००७ सालको आन्दोलनले जुन परिवर्तन ल्यायो, त्यस पछि नै वास्तवमा विभिन्न संघसंस्थाहरु, संगठनहरु, आन्दोलनहरु, अभिव्यक्तिहरुले आकार लिने र अगाडि बढ्ने अवसर प्राप्त गरे र नयाँ युगमा नेपाल प्रवेश ग¥यो । अब यस अवसरलाई, यस ठाउँलाई, पहिले पुगेको ठाउँबाट पछाडि फर्कने होइन, अगाडि बढ्ने काम गर्नुपर्दछ । निराश हुने अवस्था छैन । विगतका यी ६२ वर्षहरुमा महिला शिक्षा, महिला जागरण, महिला आन्दोलन, महिला सशक्तिकरण वा महिला सशक्तिकरणको ६५ वर्ष अगाडि अत्यन्तै नगण्य, न्यून थियो, आज अघिल्लो संविधान सभामा नै एक तिहाइ महिला सहभागिता रह्यो । यो संविधान सभामा पनि लगभग त्यही अनुपातमा छ । र हामी भन्न सक्छौँ, दक्षिण एसियामा र संभवतः एसियामा कहीं पनि यस बरावरको महिला सहभागिता नहोला । दुई तीन चार सय वर्ष अगाडिदेखि विकास गरेका देशहरुमा पनि नेपालमा महिला सहभागिताको स्थिति जति माथि पुगेको छ, त्यो छैन । प्रतिस्पर्धाको कुरा गर्लान्, तर महिला सशक्तिकरणको कुरामा, महिला सहभागिताको कुरामा हामी गर्व गर्न सक्दछौँ । यसमा महिला संगठनले महिला आन्दोलनले गर्व गर्नुपर्दछ । अखिल नेपाल महिला संघलाई यस सन्दर्भमा म धन्यवाद भन्न चाहन्छु । निर्भिक भएर साहसिक ढङ्गले अखिल नेपाल महिला संघले आन्दोलनको नेतृत्व गरेको छ, र विभिन्न मुद्दाहरुलाई उठाएको छ । कहिले कहिले महिलाहरुले यी मुद्दाहरु उठाउँदा, महिलाहरुको सहभागिताको प्रश्न उठाउँदा आलोचना सहनुपरेको छ, प्रताडित हुनुपरेको छ । कहिले कहिले निन्दा सहनुपरेको छ, कहिलेकहिले झञ्झट झेल्नुपरेको छ । ती सबलाई पार गर्दैै आज यस ठाउँमा हामी आइपुगेका छौँ । जुनसुकै संगठनले पनि अखिल नेपाल महिला संघको महिला सशक्तिकरण र सहभागिता वृद्धिको आन्दोलनलाई साथ सहयोग गर्नै पर्ने परिस्थिति निर्माण भएको छ र त्यसरी अगाडि बढेको छ । 
      अहिले राजनीतिलाई राजनीतिभन्दा पृथक् विचार भन्दा पृथक्, उद्देश्य भन्दा पृथक्, अनि काम गर्ने संस्थाहरुलाई ओझेल पार्ने खालका अनेक प्रयासहरु भइरहेका छन्, गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था आदिका नाममा महिला आन्दोलनलाई दिग्भ्रमित गर्ने र सचेतनता, जागरण र सशक्तिकरणका नाममा महिलाहरुलाई विभाजित गर्ने, अथवा द्वन्द्वरहित ढङ्गले चलाउने यस खालका प्रयासहरु भइरहेका छन् । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, त्यस प्रयासमा होइन, हाम्रा लक्ष्यहरु हाम्रा उद्देश्यहरु स्पष्ट राखेर अगाडि बढ्यौँ भने हामीले सफलता हासिल गर्न सक्दछौँ । जो सृकैले जेसुकै भने पनि नेकपा (एमाले) यसको पृष्ठभागमा, यस उपलब्धिको पृष्ठभागमा छ र अखिल नेपाल महिला संघ यसको अग्रभागमा छ । हामीले यी पक्षहरुलाई ध्यानमा राखेर सही उद्देश्यबाट सही लक्ष्यतर्फ, सही गन्तव्य निर्धारण गरेर, सही बाटो तयार गरेर अगाडि बढ्नुपर्दछ र त्यस बाटोमा तपाईंहरु सफल पनि हुनुहुन्छ, कठिनाइहरु पनि छन्, समाजका अन्तरकुन्तरमा, विभिन्न पिछडिएका ठाउँहरुमा कतिपय बेठीक कुराहरु भइरहेका छन्, महिला हिँसाका कुराहरु विभिन्न ढङ्गले भइरहेका छन् । म अखिल नेपाल महिला संघलाई धन्यवाद भन्न चाहन्छु यसले लामो समयसम्म घरेलु हिंसाका विरुद्ध, अनेक प्रकारका हिंसाका विरुद्ध आवाज उठायो र देशव्यापी रूपमा आन्दोलन चलायो । अहिले महिला विरुद्धका कतिपय घटनाहरु बढेका हुन् कि जस्तो देखिने गरी सतहमा आएका छन् । पहिला गुपचुप हुन्थे, महिला संघले पीडित महिलाहरुलाई प्रेरित ग¥यो । अपराधीहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ, सजाय दिलाउनुपर्छ भन्ने अभियानबाट जुन सचेतना जागृत भएको छ, त्यसले अलिकति घटना घट्ने बित्तिकै त्यसले प्रचार पनि पाउने भयो, त्यस कारणले गर्दा अलिकति बढी घटना घटेको हो कि जस्तो देखिन्छ । घटनाहरु यो भन्दा धेरै हुन्थे पहिले तर गुपचुप, भित्रभित्र हुन्थे, तर तिनलाई सतहमा ल्याएर नाङ्गो पार्ने दिशामा महिला संघले बहुतै राम्रो काम ग¥यो । म धन्यवाद भन्न चाहन्छु, खाली मत प्राप्त गर्ने दिशामा मात्रै होइन, शिक्षा र चेतना वृद्धि गर्ने कुरामा, दक्षता बृद्धि गर्ने कुरामा, महिला सशक्तिकरणको कुरा र सामाजिकीकरणको कुरा, सम्पूर्णमा उत्तिकै ध्यान दिएर अखिल नेपाल महिला संघले काम गरेको छ, जो धन्यवादको पात्र छ । 
      मैले भनिरहनुपर्ला जस्तो लाग्दैन, आज महिला आन्दोलन जहाँ पुगेको छ, त्यसको पृष्ठभागमा कमरृड सहाना प्रधानको योगदान छ । सहाना प्रधानबाट प्रेरणा पाएर, मार्गदर्शन पाएर, त्यस जगमा आजको महिला आन्दोलनले विकास गर्न पाएको छ । यतिबेला म तपाईंहरुलाई शृभकामना भन्न चाहन्छु, तपाईंहरुको आन्दोलन अझ सफलताका साथ अगाडि बढोस् । तपाईंहरु आदरणीय व्यक्तित्व सहाना प्रधानज्यूबाट प्रेरणा प्राप्त गरिरहनुस्, सही कुराका लागि लड्ने हौसला प्राप्त गरिरहनुुुस् । स्वार्थको गठजोड राजनीति होइन, अभियान होइन । लक्ष्यकेन्द्रित, उद्देश्य केन्द्रित, गन्तव्य केन्द्रित, सही प्रयास नै आन्दोलन हो । तपाईंहरुलाई सहाना प्रधानबाट प्रेरणा लिएर आन्दोलनमा लागिरहने हौसला मिलोस् । मेरो धेरैधेरै शुभकामना छ । 
फेरि एकपल्ट म आदरणीय सहाना प्रधानजीमा श्रद्धा–सुमन अर्पण गर्दछु र यहाँहरुसँग बिदा लिन्छु, धन्यवाद!

No comments:

Post a Comment