Pages

Tuesday, September 1, 2015

कोही बिस्कुन सुकाउन घाम चाहियो भन्छन् त कोही धान रोप्न पानी!

(उद्योग मन्त्री महेश बस्नेतको पुस्तक म महेशको विमोचन कार्यक्रममा सम्बोधन)
मितिः २०७२ श्रावन २७
स्थानः प्रज्ञा भवन, कमलादी

यस कार्यक्रमका सभापतिज्यू,
आजको यस कार्यक्रममा म महेशका लेखक महेश बस्नेतज्यू,
माननीय उपप्रधानमन्त्री, गृहमन्त्री, पार्टीका उपाध्यक्ष वामदेव गौतमज्यू
माननीय मन्त्रीज्यूहरु,
प्राज्ञ, विद्वान् मित्रहरु
उद्यमी, व्यवसायी, कलाकार, साहित्यकार र यस कार्यक्रममा सहभागी हुनुभएका दाजुभाइ दिदी बहिनीहरु ।          
     अलिक अगाडि गाविसका अध्यक्ष, युवा संघका कार्यकर्ता, अलिक पछि युवा संघका अध्यक्ष, अलिक पछि अर्थात् हालका उद्योग मन्त्री, यस भन्दा अलिक पछि..के के...
महेश बस्नेतजीलाई  म हार्दिक बधाइ भन्न चाहन्छु । वहाँले लेख्नुभएको पुस्तक म महेश आज सार्वजनिक भएको छ । मन्त्री हुँदा हुँदै वहाँ लेखक पनि हुनुभएछ । मन्त्री पनि हुनुभयो, किताब पनि निकाल्नुभयो । मान्छेहरुले थाह पाए, महेश बस्नेत युथ फोर्सको प्रमुख मात्र होइन रहेछ । युवा संघको अध्यक्ष मात्र होइन रहेछ । मन्त्री मात्रै होइन रहेछ । साहित्यकार पनि रहेछ । तपाईंहामीले सुनिआएका हौँ, आज पनि अलिकति सुन्यौँ । महेश बस्नेतले अहिलेसम्म आइपुग्दा के के सोच्नुप¥यो । एउटा कुरा म स्पष्ट राख्न चाहन्छु, महेश बस्नेत आज एउटा लेखकको रूपमा,  एउटा कृतिको सर्जकको रूपमा आएको भनेको डाँका रत्नाकर विश्वामित्र ऋषिमा परिणत भएको जस्तो होइन । महेश बस्नेतमा ठूलो रूपान्तरण भएर महेश बस्नेत भएको होइन, महेश बस्नेत महेश बस्नेत थिए, महेश बस्नेत छन्, महेश बस्नेत रहनेछ । महेश बस्नेतभित्र बहुआयामिक प्रतिभा छ, त्यो प्रकट भएको हो । 
     म महेश बस्नेतलाई मन पराउँछु भन्ने सबैलाई थाह छ नेपालमा । त्यसो भएर किताब पढेको होला भनेर सबैलाई लागेको होला, त्यो चाहिँ मैले पढको छैन । किताब चाहिँ पढ्न भ्याइएको छैन, मैले पढेको छैन । यो त छापिइसकियो, अर्को पास गरेर छाप्नुपर्नेमा अल्झिएको अल्झिएकै छु  । यसले गर्दा मैले महेश बस्नेतको यो किताब पढ्न भ्याइनँ । अर्को पास गर्नुछ, छाप्नुछ । हामीलाई गाह्रो छ, पहिले पास गर्नुपर्छ अनि मात्र छाप्नुपर्छ । त्यसले गर्दा म महेश मैले पढ्न भ्याइनँ । तर म के विश्वस्त छु भने नपढीकनै एृउटा दुइटा कमेन्ट गरुँ । यो पुस्तकमा महेश बस्नेत जस्तै इमान्दार केही व्यक्तिहरु छन् भन्ने म विश्वास गर्छु । कसैले त्यसभन्दा पृथक् फेला पार्नुभएमा नजिकका साथीभाइहरुकहाँ टेलिफोन गरे हुन्छ । म त्यति ढुक्क छु, यसमा सही कुरा मात्र छन् । 
     कमरेड प्रदीप ज्ञवालीले अलिकति भन्नुभयो, महेश बस्नेतपछि युवा संघ के हुन्छ भनेर । अलि भर्खरकै हुनुहुन्छ वहाँ, त्यसकारण यस्तो लागेको होला । म अध्यक्ष भएको बेला मैले छोडेपछि के हुन्छ, के हुन्छ जस्तो लाग्छ । मुरारकाजीले छोडेपछि उद्योग वाणिज्य महासंघ के होला ? फेरि अर्काले चलाउँछ । चण्डी ढकालजी त्यहाँ हुनुहुन्छ, वहाँलाई पनि पहिले त्यस्तो लाग्थ्यो, मैले छोडेपछि के हुन्छ ? वहाँले छोडे पनि चल्छ, अहिले मुरारकाजी हुनुहुन्छ, वहाँले छोडे पछि पनि चल्छ । मैले छोडे पछि पनि युवा संघ चल्यो, महेशले छोडेपछि पनि चलिराखेको छ । युवा संघ नेपाल भनेको महेश बस्नेतको होइन, महेश बस्नेतहरुको संगठन हो । यति धेरै महेश बस्नेतहरु छन् त्यहाँ,, यति धेरै प्रतिभाहरु छन् त्यहाँ । अहिलेको जमाना एक जना व्यक्तिको जमाना होइन । सही नीति, सही विचार र त्यसलाई अगाडि यढाउने कुरा हो । त्यो सही नीति, सही विचारलाई अगाडि बढाउनका निम्ति तदनुसारको संगठन चाहिन्छ, त्यस संगठनभित्र एकता चाहिन्छ, त्यसलाई गतिशील बनाउनुपर्छ । युवा संघ नेपालका विचारहरु राम्रो विचार लिएका बुझेका, जनताको बहुदलीय जनवाद जस्तो विचारका अनुयायी युवाहरुको संगठन हो, देशलाई माया गर्ने युवाहरुको संगठन हो । देश र जनताको हितका निम्ति, मानव जातिको सर्वोपरि हितका निम्ति समर्पित युवाहरुको संगठन हो । महेश बस्नेत पछि अहिले युवा संघको अध्यक्ष हुनुहुन्छ– युवा नेतृ निरुदेवी पाल । बहुतै स्पष्ट ढङ्गले दृढताका साथ युवा संघ चलेको छ, वहाँले पनि चिन्ता नगर्नुस्, वहाँ पछि पनि युवा संघ चल्छ । यो सक्षम युवाहरुको, इमान्दार युवाहरुको, कर्मठ युवाहरुको संगठन हो । मैले भनिरहनुपर्दैन अघि नै तपाईंहरुले सुनिसक्नुभएको थियो । जतिबेला नेपालमा आतंकको राज थियो, आतंकको छायाँमुनि सिङ्गै देश दबेको थियो, त्यतिबेला युवा संघ उठेको थियो र त्यसलाई प्रतिवाद गरेको थियो । माओवादीहरुलाई खुसी पार्नत उद्यमीहरुले माओवादीले जति भन्यो त्यति कर्मचारी राखिदिन्थे, कर्मचारी राखिदिन्थे । अलि पििछ उद्योग बन्द भएपनि चलिहाल्ला कि भन्ने हुन्थ्यो आशा । चण्डी ढकालको मोमेन्टो त्यही भएर त बन्द भएको त हो । माओवादी खुसी पार्न खातखत माओवादीलाई राख्नुुभयो, अलि पछि माओवादीले चप्काइहाल्यो । उद्यमीहरु होस् कि, व्यापारी होस् कि, शिक्षक होस् कि प्राध्यापक होस् कि, अघि प्रदीप ज्ञवालीले भन्नुभयो, श्रीमान् मारेको छ, श्रीमती त्यही पार्टीमा लागेको छ । कुनै रहर हुन्छ, आफ्नो श्रीमान् मारेकै हरुको पार्टीमा लाग्ने भन्ने ? हुँदैन साथीहरु । थप मारिदिन्छन्, छोराछोरी पनि मारिदिन्छन्, के गर्ने अब, त्यस्तो अब, त्यस्तो अवस्थामा जानै प¥यो । जतिबेला पनि देशको पक्षमा,  शान्तिको पक्षमा होमिने, उभिने युवा जमात हो । अलिअलि मान्छेहरुले भने, परेड खेल्दा बुटको आवाज आयो । घ¥याकघुरुक, घ¥याकघुरुक सुनियो । परेड खेल्दा अलिकति त्यस्तो त भइहाल्छ । क्याटवाक गरेको त होइन । मान्छेहरुले अलिअलि भने, यस्तो भयो, उस्तो भयो । अलिअलि गर्छ । जे काम गरेको हो त्यसअनुसारको अलिअलि त भइहाल्छ । त्यही भएको हो, त्यसमा धेरै चिन्ता गर्नूपर्ने अवस्था छैन । 
     अब नेपाल फरक ढङ्गले अगाडि बढेको छ । म आग्रह गर्न चाहन्छु, यो ठाउँमा हाम्रा साथीभाइहरु, तपाईहरु, कमसेकम एक दिनमा दश वटा पुस्तक विमोचन गर्न पाइयोस् न । लेख्नुस् न के भयो र ?यो धर्तीको जुन भूभाग छ, यो त बंगालका, रामेश्वरमका अथवा गया, काशी,द्वारका, हृषिकेशका वा अन्यत्रका ऋषिमुनिहरु अल्मलिए भने विचार गर्न, तपस्या गर्न, चिन्तनमनन गर्न यहाँ आउँथे, यहाँ आए पछि अनि ज्ञान खुल्यो । यो त्यस्तो ज्ञान खुल्ने ठाउँ हो । हामीले मात्रै अहिले आएर बनाएको लघुकथा होइन यो । यो त ऋषिमुनिहरुले ज्ञानभूमि, ध्यानभूमि, तपोभूमि, देवभूमि भनेर मानेको ठाउँ हो । यो त यस्तो ठाउँ हो । 
     साथीहरुले कसले पढेको छैन, कसले के गरेको होला । गौतम बुद्धले कति क्लास पढेको छ ? गौतम बुद्ध साक्षर सम्म पनि थिएन । त्यसबेला लिपि गौतम बुद्धसम्म आइपुगेको थिएन । भगवान् बुद्ध साक्षर थिएन । आज निरक्षर गौतम बुद्धले विचार गरेका, चिन्तन गरेका, मनन गरेका, अभिव्यक्त गरेका कुराहरुमा, व्यक्त गरेका धारणाहरुमा धेरै विद्वान्हरुले पीएचडी गरेका छन् । बुद्धका शिक्षामाथि विद्यावारिधि गर्ने कति हो कति विद्वान्हरु छन् । आदित्य दाहाल भन्ने एउटा बच्चा । उनी शारीरिक रूपले सबल छैनन्, विकलाङ्ग स्थितिमा छन्, स्कुल जान पाएको छैन, पढ्न पाएको छैन । अचम्मै बनाइदिन्छ रे भन्ने सुनेपछि झलनाथ खनालले गएर सोध्नुभएछ, मेरो हजुरआमाको नाम लेखिदिनुुुस् त भनेर । थपक्क लेखिदिएपछि झलनाथजी फ्ल्याट् । झलनाथजीलाई पनि हजुरआमाको नाम त थाह थिएन नि । टेलिफोन गरेर घरमा सोध्नुभयो, हाम्रो हजुरआमाको नाम के अरे ? बच्चाले जे लेखेको थियो त्यही नाम भन्यो । यो देशमा जन्मने बित्तिकै त्यस्तो हुन्छ । यो नेपालको भूमि त्यस्तो हो । यो नेपालको माटो त्यस्तो हो । यो नेपालको हावापानी त्यस्तो हो । अनि यहाँका मान्छेले किन नदेख्ने ? यो त साहित्यमय, कवितामय गीतमय देश हो नि यो त, सङ्गीतमय देश हो । शिवले डमरु बजाएर पत्ता पाए कि अर्थोक नै बजाएर पत्ता पाए, तर पत्ता पाए यहीँ नै । हाम्रा परम्परागत शास्त्रीय नृत्यहरु जस्तो संसारमा कहीं हुन्छ ? वाद्यवादन कहीं हुन्छ ? तपार्इंंहरुलाई बताऊँ,  नेपालमा जस्ता कवि अन्त छैनन् । कुनै कविता लेखिदिनुस् न भन्दा चार लाइन कविता लेखिदिनेलाई आशुकवि भन्छन् दुनियामा । हाम्रा घाँस काट्नेले वरतिर र परतिर आशुकवि छन् । एउटाले एउटा गीत भन्छ, अर्कोले अर्को गीत भन्छ, अर्कोले अर्को गीत भन्छ । अहिले यहीं कोमल ओली र बद्री पंगेनी भिडाइदियो भने वरतिर र परतिर आँखा सन्काइदिन्छन् । कसैको रचना पढ्नुपर्दैन, यी नेपालीका छोराछोरी हुन् । दोहरीमा कुरा गर्छन् । दोहरीमा, संगीतमा । त्यसभित्र कविता हुन्छ । म यसो गाडीमा हिँड्दै गर्दा गीत सुनिराखेको हुन्छु । अचम्म लाग्छ त्यो । नरो जाँगरिली सानु मलाई हेर्ने आँखा । नदुखाए सानु म बसेको मन । यो भन्दा स्तरीय कविता, यो भन्दा स्तरीय साहित्य, वा स्तरीय भावना कुन चाहिँ स्तरीय आधुनिक कविता देख्नुभएको छ ? मैले त देखेको छैन । अघि म आउँदै थिएँ, एृउटा लोकगीत सुन्दै थिएँ । नजलाए यो मुटु मलामी...किन नजलाए यो मुटु मलामी भनेको ? छक्क परेँ म । यही मुटुमा मैले माया लगाएको छु...। यो भन्दा ठूलो साहित्य तपाईंले कतै भेट्नुभएको छ ? यो कसैले रचना गर्न, सिकाउनै पर्दैन । गाईको बाच्छो जन्मने बित्तिकै बोर्डिङ्ग स्कुल कतै नगइकन, गुरुले नभनी, आमाले नभनी आमाको दूध खान्छ, स्वाट्टै जान्छ । नेपालीहरुका लागि साहित्य, गीत, सङ्गीत, दोहरी त्यस्तै कुरा हो । यो ठाउँमा त हामीले नबोलेर साहित्य नभएको बोलिदिनुस् । नगाएर गीत नभएको हो, गाइदिनुस् । नलेखेर कविता नभएको, लेखिदिनुस् । नलेखेर कथा नभएको हो,, लेखिदिनुस् । महेश बस्नेतले एउटा लेखिदिनुभयो, म महेश । आइगयो । लेखेपछि त आयो । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, यो ठाउँ, यो माटो, यहाँको हावापानी, यो देश, यो भूभाग कवितामय हो, साहित्यमय हो । हजारौँ वर्ष अगाडि हाम्रा पुर्खाले साहित्यमा नवरस सिर्जना गरे । आठमा घटाउन पनि कसैले सक्दैन, दशमा लान नि कसैले सक्दैन । हाम्रो पुर्खाले सप्तस्वर सङ्गीतमा सिर्जना गरे । न आठ बनाउन सकिन्छ, न छमा घटाउन सकिन्छ । त्यही सप्तस्वर सार भने पनि कार भने पनि त्यसैमा...। अरु पनि उपाय छ । महेश बस्नेत मन्त्री भइकन लेखे भने, मन्त्री भइकन, व्यस्त मान्छे । मन्त्री बस्नेतको पुस्तक विमोचन भएको ताली मात्र पड्काउने होइन, भरे गएर प्रति किनेर पनि हेर्नुहोला । 
तपाईंहरुलाई अचम्म लाग्ला, वामदेव गौतम, जङ्गी स्वभावको कडा गृहमन्त्री । वहाँको गीत सुन्नुभएको छ ? जुङ्गा नभए पनि कस्तो मर्दानगी जस्तो ।  तर वहाँले गाउनुहुन्छ, यो धर्ती आधा भए पनि मेरै हो । म छोरी भए पनि मेरो पनि आधा हो । कविता छ । यतापट्टि ध्यान दिनका लागि मेरो आग्रह छ । यो खाली कवितामा मात्र होइन । सर्वत्र छ । यो त जीवनमय, उर्वर, विचार निस्कने, चिन्तन निस्कने सोच निस्कने, भाका निस्कने, लय निस्कने । कोही आर.डी. बर्मन चाहिन्छ र यहाँ सङ्गीत भर्नलाई ? यस भर्छन् कि हाम्रा केटाकेटीहरुले गाई चराएको ठाउँमा कि भाका भनिसाध्य छैन, रेकर्ड गरिनसक्नु भाका छ । एकै छिनमा एउटा भाका । त्यही भाका आजभोलि सङ्गीत भर्ने सङ्गीतज्ञ लगायो भने कति समय लगाउला ? हाम्रो उर्वरता त्यो छ  हाम्रो सिर्जनात्मकता त्यो छ । अब सिर्जनात्मकता हाम्रो उद्योगमा चाहियो, व्यापारमा चाहियो । आधुनिकतामा चाहियो, हामीले आइटीमा दुनियाँलाई लानुप¥यो । अब कति चाँडो नेपालीले आईटी टिप्ने रहेछ । मोबाइल आयो,, चलाउन जानिसके । ठूलाले त जाने किनेर चलाए पछि । बामदेवले भन्दा वहाँको नातिनीसँग मोबाइल सोबाइल केही छैन, तर हातमा पारुी भने सिकाइहाल्छे । कस्तो जेनेरेसन छ हाम्रो । हामी अगाडि जान सक्छौँ । 
उद्योगी, व्यापारीहरुलाई परेको छ, समाजवादले वर्गात्मक हुन्छ कि भनेर । पचहत्तर  असी वर्ष अगाडिको पुस्तक पढेर पो कुरा गर्नुहुन्छ । केटाकेटीले भूतको फिल्म नदेखाऊ, मलाई डर लाग्छ भने जस्तो । समाजवाद भने नि चीनमा जति वैदेशिक लगानी, उद्योगका लागि अनुकूल वातावरण अन्त कहीं छ ? तीव्र  आर्थिक विकासको दर कहीं छ ? आर्थिक वृद्धिदर उच्च बनाउने र औद्योगीकरणमा तीव्र रूपले जाने अनि हामी त्यो ठान्छौँ । मसँग खल्तीमा एउटा मोबछ । ाइल छ, यसको डिजाइन क्यालिफोर्नियामा, असेम्बलिङ्ग चीनमा । डिजाइन्ड इन क्यालिफोर्निया, बट असेम्बल्ड इन चाइना । अब समाज हेर्दाहेर्दै कता पुगिसक्यो, कता पुगिसक्यो । निजी क्षेत्रलाई अस्वीकार गरिएको, राज्य नियन्त्रित अर्थव्यवस्था, प्लान्ड इकोनोमी इत्यादि भनेको भए अलिकति के भनेको हँ भनेर भन्नुहुन्थ्यो । पब्लिक, प्राइभेट र कोअपरेटिभ । कोअपरेटिभ भनेको प्राइभेट सेक्टरको एउटा फाँट हो, एउटा क्षेत्र हो । कोही उद्योगीले आफैँ उद्योग खोल्यो । कोही गरिबहरु हजार जना मिलेर उद्योग खोल्यो । अनि के बिग्रियो त ? हजार जना मिलेर एउटा उद्योग  खोले । त्यो प्राइभेट नभएर के हो त , उद्यमीहरुसँग अलि छलफल गर्नुपर्ने थियो त्यो चाहिँ भएन । नेपाल अगाडि यढाउनुपर्ने छ, नेपालमा औद्योगिक विकास गर्नुपर्ने  छ । आधुनिकतामा लानुपर्नेछ । हाम्रो नेपाललाई समृद्धिको बाटामा लानुपर्नेछ । यसमा निजी क्षेत्रको महत्व आजको समयमा भनिरहनुपर्दैन । एउटा थियो समय, भारतले बैंकहरु राष्ट्रियकरण ग¥यो । विदेशी सामानहरुको प्रवेशमा रोक लगाएको थियो । त्यहाँकै सामानहरु मात्र प्रयोग गर्नुपर्ने त्यो थियो । त्यस्तो एउटा फरक खालको प्रयोगको अवस्था थियो । तर श्रीलंका जस्ता ठाउँहरु र अरु कतिपय ठाउँहरुले सोसलिस्ट कन्सेप्ट भनेर शिक्षालाई निःशुल्क ग¥यो । जसले गर्दा श्रीलंका अगाडि बढेको छ । आज पनि ९६, ९७ प्रतिशत भन्दा बढी त्यहाँको साक्षरता दर छ । तीसौँ वर्ष युद्धले सिद्धाउन खोज्दा पनि श्रीलंका अगाडि बढेको किन ? त्यहाँको पढाइको स्तर धेरै माथि छ, गुणस्तरयुक्त छ । निजी क्षेत्रमा पढाउने भनेको नै एउटा शौक मात्र हो । त्यसको अर्थ अरुसँग छैन । यी कुराहरु हामीले थाह पाउनुपर्छ भन्ने मलाई लाग्छ । प्लान्ड इकोनोमी भनेको राज्य नियन्त्रित हो र अर्को शब्दमा भन्ने हो भने निजी क्षेत्रलाई निषेध गरिएको हो । त्यो अर्थव्यवस्था भनेको आज हामीले भनिरहेको अर्थव्यवस्था होइन । हामीले भनिरहेको अर्थव्यवस्था भनेको यो शब्दमा धेरै अल्मलिनुपर्ने कुनै जरुरी छैन । हामीले भनेको उदार वा नवउदार अर्थव्यवस्था पनि होइन । हामीले भनेको पुँजीवादी अर्थव्यवस्था होइन । बनाउने भनेको होइन । अनुत्तरदायी राज्य होइन । हामीले भनेको शोषणको प्रणाली वा फाइदा लिने प्रणाली होइन, हामीले सिङ्गै समाज माथि उठाउने प्रणालीको कुरा हो । उत्तरदायी राज्यको कुरा गरेको हो । त्यस कारण म साथीहरुलाई भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । 
     अघि अलिकति प्रदीपजीले उठाउनुभयो । म साथीहरुलाई भन्न चाहन्छु, हामी अहिले असाधारण मोडमा छौँ । ऐतिहासिक चौबाटोमा छौँ । संविधान जारी गर्ने चौबाटोमा छौँ । हामी सबैलाई थाह छ , अब नेपालमा लगभग दुई हप्ताभित्र नयाँ संविधान आउँछ । २ करोड ७० लाख नेपाली कोही हिमाली भेगमा कोही पहाडी भेगमा कोही तराइमा छन् । १२३ जातजाति १२३ भाषाभाषी छन्, विभिन्न धर्माबलम्बी छन् । यसो भए पछि अलिकति मतभेद त भइहाल्ने भयो । जसलाई बिस्कुन सुकाउनुपरेको छ, उसले घाम लगाइदेऊ भन्छ । जसलाई खेत रोप्नुपरेको छ, उसले पानी पारिदेऊ भन्छ । दुइ वटै एकै चोटि कसरी पूरा हुन्छ । तर एकै चोटि पूरा नभए पनि बिस्कुन सुकाउने घाम पनि लागइदिने र खेत रोप्ने पानी पनि पराइदिने । त्यसलाई मिलाएर गर्ने । सविधान सिङ्गै देशको हित, सिङ्गै जनताको हित, समग्रताको हित, देशको एकता, सामाजिक सद्भाव र राष्ट्रको एकता, राष्ट्रिय गौरव र विकास, जनताको गरिबी हटाउने र खुसियाली ल्ल्याउने, समृद्धितर्फ जाने यी कुराहरुको ग्यारेन्टीका साथ हुन्छ । म सबै साथीहरुलाई आग्ह गर्न चाहन्छु । यो भएन भने रक्तपात हुन्छ । तर्क गर्दैन । किन त्यो हुनुपर्ने हो भनेर तर्क गरे त हुन्ज्यो नि । मैले भनिराखेको छु, मैले भनेको हुनुपर्छ, नभए रक्तपात हुन्छ । अर्कोले त्यो भन्दा ठीक विपरीत भन्छ । त्यो हुँदैन । भाये भने रक्तपात हुनछ । अनि मैले अलिकति ठट्टा गरेर भनेँ, के रक्तदान गर्ने हो भनेर । अनि त्यो ठट्टासँग मान्छेहरु रिसाउँछन्, त्यसलाई सिरियस बनाउँदा पनि भएन हेर्नुहोस् । खाली लडाइँझगडाको मात्र कुरा नगरौँ न । हरेकले आफ्नो कुरालाई माथि पारेकै हुनुपर्ने, भनेको जस्तो हुनुपर्ने । यो कसरी हुन्छ ? हामीले एउटा देशका निम्ति, सम्पूर्ण जनताका निम्ति मिलन विन्दु खोज्नुप¥यो । मिलनविन्दु खोजिन्छ, हामी सल्लाह गरिराखेका छौँ । मस्यौदा पठायौँ, जनताको सुझाव ल्यायौँ, त्यसलाई सामेल गरेका छौँ । अझ त्यस माथि पनि आवश्यक पर्दा आवश्यकता अनुसार तर्कको आधारमा, औचित्यको आधारमा, न्यायको आधारमा यसमा आवश्यक संशोधान पनि हामी गर्न सक्छौँ, गर्छौँ पनि । जनताले संविधान बनाउने मौका पाएको छ । जनताले नि सक्दैसक्दैन, लडाइँ झगडा मात्र हुन्छ भन्ने कुरा कसरी ? अब एउटा एउटा विषयमा लडाइँ । राजधानी कैलाली गर्ने कि धनगढी गर्ने कि अत्तरिया गर्ने कि दिपायल राख्ने कि सुर्खेत राख्ने कि ? धनगढीकोले भन्छ, धनगढी राजधानी हुँदैन भने रगतको खोलो बगाइदिन्छु । फेरि अर्को नेपालगञ्जमा नहोस् त भन्छ । दिपायलबाट लगेर देखाउन् त भन्छन् अर्काले । ए बाबा ! अब यता सुरु भइसक्यो । राजधानी वीरगञ्ज बनाउने कि, विराटनगर बनाउने कि, हेटौँडा लाने कि भनेर अर्कोले सुरु गरिसक्यो फेरि । प्रदेश बनाउने कहाँ छ कहाँ छ, राजधानीमा मारामार सुरु भइसक्यो । अनि मरिहाले पछि त्यो राजधानी यहाँ भए पनि त्यहाँ भए पनि के गर्नुहुन्छ ?  खाली अन्य कुरा गरेको छ । संविधान बनाउने, देशलाई अगाडि बढाउने कुरा गरौँ, तर्कको आधारमा गरौँ । हामी तर्क चाहन्छौँ, तथ्य चाहन्छौँ, त्यस आधारमा हामी परिमार्जन गर्छौँ, मैले त्यही कुरा साथीहरुको बीचमा राख्ने गरेको छु । संविधान छिटै हुन्छ । मैले संविधानमा लागिरहेको हुनाले तपाईंहरुलाई यति कुरा पनि बताउन मैले उचित ठानेँ । फेरि एक पल्ट म साहित्यकार महेश बस्नेतजीलाई बधाई  भन्न चाहन्छु । धन्यवाद भन्न चाहन्छु । वहाँले अझ सुन्दर, आकर्षक साहित्यिक कृतिहरु रचना गर्नुहोस् । फेरि एक पल्ट म धन्यवाद भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । सबै साथीहरुलाई धेरैधेरै धन्यवाद छ । धेरैधेरै शुभकामना !

No comments:

Post a Comment