Pages

Monday, October 27, 2014

रिपोर्टर्स क्लब नेपालको प्रतिनिधिमण्डलसँग


स्थानः बालकोट 
मितिः २०७१।७।३
     सबै नेपालीहरुमा यहाँहरु मार्फत तिहारको, दीपावलीको शुभकामना दिन चाहन्छु । नेपाल संवत् नयाँ वर्ष प्रवेशको सन्दर्भमा शुभकामना भन्न चाहन्छु । जहाँसम्म संविधान निर्माणको प्रश्न छ, संविधानविहीन अवस्थामा देशलाई राख्ने प्रयास सफल हुन सक्दैन । यस प्रक्रियालाई लम्व्याएर अनन्तकालसम्म लाने, अराजकता सिर्जना गर्ने, अस्तव्यस्तता सिर्जना गर्ने र त्यसबाट लाभ लिन सकिन्छ भन्ने भ्रान्त दृष्टिकोणसँग सहमत हुन सकिँदेन । हामीले प्रतिबद्धता जनाएका छौँ, सबै पार्टीहरुले आफ्नो घोषणापत्रमा जनाएका छन्,  पटकपटक भनेका छन्, एक वर्षभित्र संविधान दिन्छौँ भनेर । एक वर्षको सुरुवात माघ ८ गते संविधान सभाको पहिलो बंैठकबाट गरिने भन्ने धारणाअनुरुप माघ ८ गतेभित्र नयाँ संविधान जारी गरिनेछ । पहिलो कुरा तपाईंहरुलाई आश्वस्त पार्न खोजेको, ढुक्क पार्न खोजेको यो हो कि माघ ८ गतेभित्र हामी संविधान जारी गर्छौँ । दोस्रो, संविधान सभामा कसैको पनि एक तिहाइ वा त्यसको आसपास भन्दा बढी छैन । संविधान जारी गर्न कम्तीमा दुई तिहाइ नभई हुन्न । त्यसैले संवाद, सहमति र सहकार्य हाम्रा निम्ति अनिवार्य छ । यो कुरा हाम्रो इच्छा पनि हो र इच्छा नभए पनि बाध्यता पनि हो । एक तिहाइ भन्दा बढी कसैसँग छैन, दुई तिहाइ नभई संविधान जारी हुँदैन भने संवाद, सहमति जरुरी छ । त्यस कारण हामीले हिँड्ने बाटो संवाद, सहमति प्राप्त गर्ने बाटै हो । यसो गर्दा हामी संविधानको पक्षमा कसैको मत अछुतो हुन्छ भन्ने ठान्दैन । सबैले संविधानको पक्षमा मत जाहेर गरून् भनेर हामी प्रयास गर्छौँ । मतभेदहरु होलान्, कसैले कसैलाई चरम दक्षिणपन्थी ठान्ला, कसैले कसैलाई उग्रपन्थी ठान्ला, कसैले कुन कुरामा असहमति जनाउला, तर जे सुकै भए पनि सबैलाई हामी आग्रह अनुरोध गर्दछौँ, संविधानका पक्षमा हामी एकमतले जाऔँ र सबैले संविधान जारी गर्ने कुरामा सहमति जनाऔँ । हाम्रा यी प्रयासहरु अथक रूपमा हामी अगाडि बढाउँछौँ र सहमति प्राप्त गछौँ । अब कथंकदाचित् कसैले समाजमा अस्तव्यस्तता, अराजकता सिर्जना गरेर आफूले फाइदा लिन सकिन्छ भन्ने भ्रम पाल्छ भने त्यस भ्रमअन्तर्गत वा अन्य कुनै कारणबाट दुष्प्रभावित भएर संविधान बन्न नदिने नियत राख्छ भने सहमतिका साथ संविधान बन्न दिनुहुन्न भनी ठान्छ भने र सहमति गर्दिनँ भनेर पानी समाउँछ, कसम खान्छ भने त्यस्तो एक दुई असहमतिका कारण संविधान जारी गर्ने कामा रोकिन सकिँदैन, किनकि यो संविधान सभा कतिपयले वहिप्कार गर्दागर्दै संविधान बनाउनका लागि लगभग असी प्रतिशत सहभागिताका साथ जनताले  पठाएको हो । विश्वास फैलाउन खोज्नेका बीचवाट उत्साहका साथ जनता संविधानका लागि मतदान भएको हो । संविधान बनाउने हाम्रो उद्देश्य कसेका एकदुई असहमतिका कारण रोकिने छैन, प्रक्रियाबाट संविधान बन्छ नै । 
     अर्को कुरा संविधान जारी गर्ने सन्दर्भमा ऋषिजीले भनेको तेस्रो कुरामा जानु जरुरी छैन । सहमतिको हाम्रो अथक प्रयास जारी हुनेछ । कदाचित् कुनै कारणले सहमति हुन सकेन भने आवश्यक संख्या नपुगी संविधान जारी हुँदैन, आवश्यक संख्या पुगे पछि रोकिँदेन, कसैले रोक्न खोज्यो भने त्यसको सामना गरिन्छ । देशलाई अन्धकारमा राख्न खोज्ने, देशमा संविधान आउन नदिने, सहमति गरौँ न भन्दा कुनै हालतमा पनि सहमतिमा आउन नखोज्ने, सहमति बिना लौ संविधान जारी गर त भन्ने २२ दलका २२ सय मानिसको विरोध प्रदर्शन गर्ने । यस्ता खालका प्रयासहरुलाई हामी बुझ्छौँ, यो संविधान बन्न नदिने प्रयास हो । सहमति नगर्ने, सहमति बिना संविधान जारी गर्न नपाइने भनेको के ? यो अनौठो कुतर्क हो, यति सारो कुतके दुनियाँमा कसैले गर्न सक्दैन । नेपालमा मात्रै छन् यस्तो चरम कुतर्क गर्न जान्ने । सहमत नहुने, सहमति बिना कार्य गर्न नपाइने । भने पछि उनले जे भन्छन्, त्यो मात्रै जारी गरिदिनुपर्ने । उनीहरु जे भन्छन् त्यसमा मात्रै सहमत हुन्छन्, अरुले मानिदिनुपर्ने । 
     यता संविधान निर्माणको उद्देश्यका निम्ति वातावरण सहज बनाउनका लागि एमाले, काँग्रेस, एमाओवादी र अरु सम्मिलित राजनीतिक समिति बनेको छ । एक जना मित्रले संयोजक आपूmलाई नभई हुँदैन भनेर महिनौँ साह्रै जिद्दी गर्नुभयो र लौ त भनेर संयोजक उनलाई बनाइयो । संविधान बनाउने राजनीतिक समितिको संयोजक बनाइयो । अर्कातिर वहाँ संविधान बन्न नदिने मोर्चा गठन गरेर लाग्नुभएको छ । अचम्म लाग्छ, भुइँ खोस्रेर, भित्ता हानेर, लौरी खेलेर के गरेको थाह छैन, विद्रोह गछौँं, विद्रोहमा उत्रन्छु, यदि लडाउँछ भने म यता आउँछृ, उता जान्न भनेको त्यो त वहाँको छँदैछ । उता जानुहुन्छ वहाँ, यता आउनुहुन्न भनेको संविधान बन्न नदिनेतिरै जानुहुन्छ । जनता भनेको कै? जनताले आफ्नो मतद्वारा पठाएका पार्टीहरु, बनाएको संविधान सभा होइन ? यो संविधान सभा केका लागि जनताले बनाएको त भन्दा संविधान बनाउनका लागि । संविधान सभाको जुन बनावट जनताले तोकेको छ, त्यो केका लागि । अब संविधान सभामा जतताले प्रतिनिधि पठाएपछि र संविधान सभाको काम संविधान जारी गर्ने भए पछि संविधान सभाका अहिले रहेका प्रमुख पार्टीहरुले लोकतान्त्रिक संविधान बनाउँछौँ भन्ने प्रतिबद्धता जनाए पछि फेरि जनमत संग्रह किन? कति पटक जनतासँग भोटै मात्र माग्न जाने ? जनमत संग्रह भनेको छ, संविधान सभा भनेको छ, के सोध्न जाने जनतालाई? लोकतान्त्रिक संविधान बनाउँछु भनेका होइनौ? देऊ न संविधान भन्दैनन् जनताले ? हामीलाई संविधान बनाउन जनताले पठाएको छ, संविधान लिएर जनतामा जानुपर्छ । चार जना मान्छे असहमत भयो भन्दैमा जनमत संग्रह भन्ने हुँदैन, जनमत हामीलाई थाह छैन र ? जनमत प्रतिविम्बित भएको छैन ? त्यस कारण त्यो उलामालाका पछाडि लाग्नु हुँदैन । जनमत त ८० प्रतिशत जनमत हो । सबै प्रतिविम्बित भएकै छ, त्यस कारण जनमत संग्रह जस्तो कुरा गर्ने, फेरि अर्को वितण्डा खडा गर्नै त्यस खालको कुराको आवश्यकता नै छैन । कसैले देश टुक्र्याउन पाउनुप¥यो भन्यो, जनमत संग्रह होस् भन्यो, पाउँछ ? फेरि त्यति छोडिदियो भने देश टुक्र्याउन पाउने सन्दर्भमा उसले अनावश्यक कुतर्क गर्छ नि, जनतामा भ्रम फैलाउँछ । त्यसकारण कतिपय कुरा छलफलका लागि हुँदैनन्, नियन्त्रण गरिन्छ । देशको एकताको पक्षमा सरकार दृढ उभिन्छ, हामी सँधै सरकारमा हुन्नौँ तर पार्टी उभिन्छ । शान्ति खल्बल्याउने खालका विभिन्न साम्प्रदायिकता, घृणा भड्काउने खालका कुनै कुराहरुसँग हाम्रो पार्टीको सहमति हुँदैन । लोकतान्त्रिक मूल्य मान्यताको लोकतान्त्रिक संविधान हामी निर्माण गर्छौँ, कुनै पनि शब्दको कुनै पनि नामको अलोकतान्त्रिकरण, तानाशाहीकरणका दिशामा, अराजकताका दिशामा, अस्थिरतका दिशामा देशलाई लाने काम सफल हुन दिइन्न । चार जना मान्छे उता¥यो, तोडफोड गरायो, अनि जनताले ग¥यो भन्यो । यस्तो कुरा अब चल्दैन ।  
प्रश्नः अब के प्रक्रियामा गएर माघ ८ गते नै संविधान जारी गर्ने हो र?

उत्तरः मैले भनी नै सकेँ, खुलस्त भाषामा माघ ८ गते नै संविधान जारी हुन्छ ।

प्रश्नः तयारी नि?

     हामी अहिले सहमतिकै काम गरिराखेका छौँ, सहमतिकै प्रयास गरिरहेका छौँ, हाम्रो उद्देश्य सहमतिका साथ संविधान जारी गर्ने हो । छ सय एक कोही बाहिर नजाऊन्, हिजो विभिन्न भ्रम पालेर चुनाव वहिष्कार गरेर बाहिर बसेका पनि विरोधमा नरहून् । बाहिर रहेकाले पनि समर्थन गरून्, हामी सबैको त्यो चाहना हो । तर देश तल परे परोस् मेरो कुरा माथि पर्नुपर्छ भन्ने केही मान्छेहरु छन् । देश तल परेर भए पनि आफ्नो कुरा माथि पर्नु पर्ने । त्यसलाई मान्न सकिँदैन । संविधान नबनाउने कुरा कसैको अहंतुष्टिको होला, कोही विभिन्न उद्देश्य र अरु चीजबाट दुष्प्रभावित भएको होला, त्यो मान्न सकिन्न । त्यसकारण सहमति भए पनि प्रक्रियामै जानुपर्छ, सहमति नभए पनि प्रक्रियामै जानुपर्छ । संविधान भनेको कुनै रत्नपार्कबाट घोषणा गर्ने कुरा त होइन । त्यसको एउटा प्रक्रिया छ, निर्णयार्थ पेश हुने प्रक्रिया छ, निर्णय गर्ने प्रक्रिया छ । त्यही प्रक्रियामा जाने हो । अब निर्णय गर्दाखेरि हामीले हेर्नुपर्छ, कतिले मतदान गर्छन्, त्यसबेला मात्र थाह हुन्छ । सहमति त हुन्छ नै, सहमतिका साथै संविधान जारी हुन्छ । तर कोहीकोही एकाधले मानेन भनें......। मौसमविद्हरुले भन्छन् नि आज मौसम सफा छ भनेको आकाशमा बादलका टुक्राटाक्री पनि छैनन् भनेको हो र? हुन सक्छन् नि! टुक्राटाक्री हुँदै गर्छ एकाध, तर मौसम सफा छ । 
     हामी अहिले संक्रमणकालमा छौँ । यसमा विभिन्न पृष्ठभूमिबाट आएका दलहरु छन्, शक्तिहरु छन् । अलोकतान्त्रिक पृष्ठभूमिबाट आएकाहरुलाई लोकतन्त्र स्वीकार्न सहज हुँदेन । मलाई लाग्छ, उनीहरु आफैँ पनि सङ्क्रमणकालीन अवस्थामा छन् भने उनीलाई पनि एउटा प्रक्रिया लाग्छ र त्यसले समयको माग गर्छ । यदि सहमत हुँदैनन् भने एउटा प्रक्रिया र एउटा समयको माध्यमबाट विस्तारै सहमत हुँदै जान्छ । हतियार नउठाउन त भन्दा मान्दैनथे नि, अब गल्ती रहेछ भन्ने ठाउँमा त पुगे । अझै पनि जनताको बीचमा ताउपाउ र विद्रोह रे! विद्रोह भनेको के ? अहिले पनि नेपालमा उत्पात् नै मच्चाउँछु भन्ठानेका छन् कि क्या हो ? त्यो सम्भव छैन । हामी कुन मितिमा छौँ त हामीले थाह पाउनुपर्छ । त्यस्तै कुन ठाउँमा छौँ, कस्तो अवस्थामा छौँ भन्ने पनि थाह हुनुपर्छ । उहिले हाई जम्प गर्ने, लङ्ग जम्प गर्ने भनेर यतिखेर हुन्छ ? त्यसकारण कतिपयलाई पहिलेका सम्झना आउन सक्छन्, तर ती अहिले काम लाग्दैनन् । मेरो नम्र निवेदन यति हो । 

प्रश्नः प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ गते संविधान जारी नभए पनि संविधान जारी नहुँदासम्म म नै प्रधानमन्त्री रहन्छु भन्नुभएको छ, यसमा तपाईंको भनाइ के रहेको छ? 

उत्तरः यसमा एउटा कुरामा मात्र आशंका गर्न सकिन्छ, कहीं माघ ८ मा संविधान जारी नगरेर रहन खोजिएको त हैन ? यस्तो आशय त छैन ? तर हामीले के भनेका छौँ भने माघ ८ गतेभित्र संविधान जारी गर्ने हो र संविधान जारी भए पछि सरकार परिवर्तन हुन्छ । माघ ८ गते संविधान जारी भयो भने सरकार परिवर्तन भन्दा अघिल्लो कुरा भयो । त्यही चाहिँ भएन र त्यसको अगुवाइ सरकारले गरेन भने त त्यहीँ गइगयो नि! माघ ८ गते भित्र संविधान जारी गछौँ, संविधान जारी भए पछि सरकार परिवर्तन गर्छौँ भने पछि माघ ८ गते भित्र संविधान जारी गर्न नसके प्रधानमन्त्री चाहिँ म बसिरहन्तु भन्ने कुरा वहाँले कसरी गर्न सक्नुहुन्छ ? त्यो एउटा कथंकदाचित् भन्ने केही भन्नुभएको होला । मलाई त्यस्तो लाग्दैन । वहाँले पटकपटक भन्नुभएको छ, माघ ८ गते संविधान जारी गर्ने र मलाई संविधान जारी गरेपछि रहन पनि मन छैन र संविधान माघ ८ गतेभित्र हुन्छ र त्यसपछि मैले छोड्छु ।

Tuesday, October 14, 2014

बंगालीको अनुवाद गरेर, युरोप हेरेर नेपालमा प्रदेश बन्दैन ।

(एमाले संसदीय दलको बैठकमा दिनुभएको मन्तव्यको अंश, २०७१।६।२३)


     हाम्रो राष्ट्रको, हाम्रो समाजको बनावट मिश्रित खालको छ । १२५ जातजाति, १२३ भाषाभाषीको मिश्रित बनावट हाम्रो सुन्दरता हो, हाम्रो सम्पदा हो, हाम्रो सम्पत्ति हो । यसलाई विभेद, विभाजनको कारण बनाउनहुँदैन । धाँजो जहाँ छ, त्यहीं फेसा ठोक्ने र समाजमा पहाड र मधेशका बीचमा, पूर्व र पश्चिमका बीचमा, लेक र बेँसीका बीचमा, अनि विभिन्न जातिहरुका बीचमा भाँजो हाल्ने खालका कुरा भयो भने त्यसले नेपालको राष्ट्रियतालाई कमजोर पार्छ । त्यो होइन, हामी राष्ट्रिय एकतालाई सबल बनाउने संविधान बनाउँछौँ । हाम्रो राष्ट्रिय एकता र राष्ट्रलाई महत्व दिऔँ भन्ने अभियान भनेर हामीले आज राष्ट्रिय झण्डा वितरण पनि गरेका छौँ । हामीले नेपाललाई हाम्रो ध्यानमा राखेका छौँ, हाम्रो मस्तिष्कमा राखेका छौँ, हाम्रो छातीमा राखेका छौँ– नेपाल! त्यो कुराको एकता हुन पनि जनताको एकता बिना हुँदैन । कतिपयले छुट्टै झण्डा, छुट्टै नाम, छुट्टै के बनाउनुपर्छ, झण्डा जलाउनुपर्छ भन्नेदेखिका कुरा गरे । नेपालकै नाम फेर्नुपर्छ भन्नेदेखि लिएर के कुरा आएन? त्यसकारण नेपाल नेपाल रहन्छ, नेपालको झण्डा नेपालको झण्डा रहन्छ, नेपाल राष्ट्र राष्ट्र रहन्छ । यो राष्ट्रै होइन, राष्ट्रै बनेको छैन भनेको पनि तर्कहरु छन् । कतिपयले यो बहुराष्ट्रिय राष्ट्र हो भन्छन् । बहुराष्ट्रिय राष्ट्र होइन, बहुजातीय राष्ट्र हो । राष्ट्र एउटा हो, नेपाल हो, जातिहरु छन् । यो बंगालीको अनुवाद, बंगालीले जाति भनेको राष्ट्र भन्छन् । त्यो जाति राष्ट्र भनेको हुनाले त्यसबाट नेसन्यालिटीज भन्दाखेरि यस्तो हो भन्न खोजेको होला । कतिपय शब्दहरुका आफ्ना अर्थहरु विभिन्न भाषामा हुन्छ । हाम्रो त रेस, कास्ट, एथ्निक ग्रूप अथवा नेसन, यी कुराहरु पृथक् पृथक् अर्थका कुरा हुन् । कलिलो छ, त्यसैले नेपाल राष्ट्र बनेको छैन भन्छन् । हामीमा कुनै कन्फ्युजन रहनु हुँदैन । हाम्रा हिमालहरु कलिला छन्, हाम्रा पहाडहरु कलिला छन् । के कलिलो हुँदैमा हिमाल होइन? कलिलो हिमाल छ, भूगर्भविद्हरुलाई सोध्नुस् । हाम्रा पहाडहरु कलिला छन्, सोध्नुस् त भूगर्भविद्लाई ! कलिला छन् भन्दैमा हुँदै होइनन् र पहाड? मान्छे कलिलै जन्मन्छ, के मान्छे नै होइन? के जन्मेको हो त? त्यसकारण कलिलो हुँदैमा हुँदेन भन्ने कुरा होइन । नेपाल कलिलो होला, तर यसको उतारचढावको इतिहास, यसको विकास र सभ्यताको इतिहास पाँचौँ, दसौँ हजार वर्ष पुरानो छ । 
     हामी एकै जातिको एउटा राष्ट्र भएर युरोप बनेजस्तो होइन । युरोपमा चाहिँ जर्मन भाषा छ, जर्मन जाति छ, त्यो भूगोल छ एउटा र जर्मन देश । फ्रेञ्च भाषा छ, फ्रेञ्च जाति छ र फ्रान्स देश छ । स्पेनिश भाषा छ, स्पेनिश जाति छ र स्पेन देश छ । इङ्लिस भाषा छ, इङ्लिस जाति छ र इङ्ल्यान्ड देश छ । यस्तो नेपाल होइन । नेपाल बहुजातीय, बहुभाषिक, विविधताले युक्त मिश्रित बसोवास भएको देश हो, जहाँ शताब्दीयौँदेखि मिलेर नेपालीहरु बसेका छन् । यो एकतालाई खल्बल्याउने प्रयास भइराखेको छ । हामी पूर्वीयहरुको एउटा सभ्यता छ । अनि किरातहरुले राज्य गर्दाखेरि कुन सभ्यताअनुसार गथ्र्यो ? किराती राज्य त थियो नि, त्यतिबेला पूर्वीय सभ्यता त थियो नि, त्यतिबेला पूर्वीय सभ्यताका ठेकेदारहरु बाहुनहरु त थिएनन् । यो सभ्यता भनेको एउटा जाति विशेषको होइन । पूर्वीय सभ्यता, लिच्छविहरु त्यही सभ्यतामा, किरातहरु त्यही सभ्यतामा, हूणहरु त्यही सभ्यतामा, गोपालवंशीहरु त्यही सभ्यतामा । त्यसै पूर्वको सभ्यता, हाम्रो सामाजिक प्रबन्ध, त्यसलाई विकास गर्ने क्रममा उनीहरुले राज्य पनि सञ्चालन गरेर आए, सामाजिक पनि प्रबन्ध गरेर आए र यो देश चाहिँ राजनीतिक कारणले किरात र लिच्छविको बीचमा, शाह र मल्लका बीचमा द्वन्द्व परेको होला, तर जातिका कारण परेको छैन । त्यस कारण जातीय मुद्दामा, जातीय विषयमा विकास गर्ने अवसर दिनुपर्छ, शिक्षा, स्वास्थ्यका अवसर दिनुपर्छ, तर हामी घरघरमा राज्य पु¥याउन सक्दैनौँ । एक एक जातको एक एक वटा राज्य भनेको त घरघरमा राज्य भनेको भयो ।
     अब लालबाबुजीको छिमेकमा भन्ने हो भने त्यहाँ अर्को पण्डित छैन, अर्को क्षेत्री, बाहुन, साह, मारवाडी छ । मेरो घरको वरिपरि हेर्ने हो पनि एउटै पनि ओली छैनन्, कोही भोजपुरी बोल्छन्, कोही कानपुरी बोल्छन् । त्यसैले हामी राष्ट्रिय एकतामा जोड दिन्छौँ । अर्को कुरा, सर्वोपरि कुरा हाम्रो देश पछाडि परेको छ, त्यसलाई अगाडि बढाउने, आधुनिकतामा लाने र जनता, देशमा गरिबी छ, त्यसलाई समृद्धिमा लाने । त्यसका लागि हामीले संविधान गर्ने हो । 
     यी कुरामा हाम्रो संविधानमा हामीले कम्प्रमाइज नगर्ने हो । अरु कुरामा हाम्रो लेनदेन हुनसक्दछ । हाम्रो आधारभूत अडानहरु के हुन् भन्दाखेरि राष्ट्रिय एकताविरुद्ध हामी जान दिँदैनौँ, फुट, विभाजनतिर हामी जान दिँदैनौँ । अलोकतान्त्रिक प्रणालीतर्फ हामी जान दिँदैनौँ । अब लोकतान्त्रिक प्रणाली भित्रका यसो गर्दा हुन्छ कि, त्यसो गर्दा हुन्छ कि भन्ने कुरामा, तात्विक असर नपर्ने कुरामा सहमति हुन पनि सक्दछ । अब कमरेडहरुले के भने एक समयमा एउटा कुरा गरियो भनेर त्यसैलाई हाम्रो एकदमै अडान हो, त्यही संविधान हो किन मिचियो भन्ने खालको कुरा होइन । ती संविधान निर्माण गर्ने क्रममा हाम्रा प्रस्तावहरु हुन् । अहिले पनि हामीले ती प्रस्तावहरु गरेका हौँ । 
     महिला अधिकारको च्याम्पियन पार्टी एमाले हो, जातीय विभेद र थिचोमिचोको सबभन्दा ठूलो विरोधी पार्टी एमाले हो । लक्ष्यकेन्द्रित, उद्देश्य केन्द्रित, गन्तव्यकेन्द्रित हाम्रो यात्रालाई सुदृढ एकताका साथ र सक्रियतापूर्वक अगाडि बढाउँछौँ, यस प्रयासलाई असफल हुन दिँदैनौँ ।


Monday, October 6, 2014

हामी चाहन्छौँ, कोही पनि हामीले जारी गर्ने संविधानभन्दा बाहिर नहोस्!



(नेकपा (एमाले) का अध्यक्ष क. के.पी. शर्मा ओलीले केही समयअगाडि जितिया पर्वको अवसरमा अायोजित एक कार्यक्रममा दिनुभएको भाषणको सान्दर्भिक अंश यहाँ प्रस्तुत गरिन्छ । – निजी सचिवालय)

     अहिले हाम्रो देशको सन्दर्भमा हामी सबैलाई थाह छ ।  हामी सङ्क्रमण कालमा छौँ र यो सङ्क्रमणकाल हामीले केही तीता अनुभवहरु लिएको अवस्थामा गुज्रिरहेको छ । ०६२÷६३ पछि एउटा विशेष सङ्क्रमणकाल सुरु भयो । यद्यपि नेपालमा ००७ सालको आन्दोलनदेखि, राणाशाहीको समाप्तिछि, नयाँ जमानाको प्रारम्भछि नै नेपाली समाज सामन्ती, निरङ्कुश राजतन्त्रात्मक शासन र जहाँनिया राणाशासनको दूई चक्रव्यूहबाट लोकतन्त्रतर्फको लोकतान्त्रिक गणतन्त्रतर्फको यात्रामा प्रवेश ग¥यो । असमानता र विभेदहरु जो समाजमा थिए, तिनलाई हटाएर लोकतान्त्रिक समाज स्थापना गर्ने दिशामा अगाडि बढ्यो । त्यसै गरी अधिकारविहीन जनतालाई अधिकारसम्पन्न बनाउने दिशामा अगाडि बढ्यो । र देशको समृद्धिको दिशामा अगाडि बढ्यो । यो एउटा सङ्क्रमण, उतारचढावहरु भए, कहिले प्रतिगमन भयो, कहिले अग्रगमन भयो, ती कुराहरु हामीले झेल्दै आयौँ । ०६२÷६३ को आन्दोलन अर्कों एक विशेष आन्दोलनको रूपमा, एउटा मोडको रूपमा हामीले लिएका छौँ र त्यस आन्दोलनले एउटा विशेष सङ्क्रमणकाल सुरु ग¥यो । यो विशेष संक्रमणकालका विभिन्न उपचरणहरु रहे । संविधान सभाको गठन, त्यो भन्दा अगाडिको कुरामा म धेरै जान चाहन्न, किनभने जङ्गलमा रहेको माओवादीलाई फेरि हिंसाको बाटोबाट शान्तिपूर्ण लोकतान्त्रिक बाटोमा फर्कने क्रमको सुरुवात भयो । जब शान्ति सम्झौता भयो, उनीहरु संसदमा र सरकारमा सहभागी भए र संविधान सभाको निर्वाचन भयो । निर्वाचन पछि संविधान सभाको कार्यकाल सुरु भयो, दुई वर्ष थियो, चार वर्ष बनाइयो, तर चार वर्षमा पनि संविधान बन्न सकेन,  बन्न दिएन र संविधान सभालाई, संसदलाई असफल बनाउने, भङ्ग गर्ने काम बलजफ्ती भयो । 
     त्यसपछि हामी एउटा भयावह स्थितिमा फँस्यौँ । राजनीतिक संकट र संवैधानिक संकटको अत्यन्तै जटिल खालको स्थितिमा फँस्यौँ, जहाँ राजनीतिक संकटलाई संविधानले समाधान दिन सक्दैन, संवैधानिक संकटलाई समाधान दिने कुनै प्रतिनिधिमूलक संस्था वा संसद छैन, त्यस्तो स्थितिमा हलचल गर्ने स्थिति छैन । हामीले अर्को एउटा छोटो उपचरण, त्यस्तो अवस्थामा देशलाई असफल राष्ट्र हुनबाट जोगाउने, जो बलियो छ, त्यसले शासन गर्ने स्थितिबाट जोगाउने र लोकतन्त्रतर्फ फर्काउनतिर लाग्नुप¥यो र हामी त्यस दिशामा लाग्यौँ । अर्को कुनै अस्थायी र आवधिक बाटोबाट बाटोबाट भए पनि डिरेल भएको लोकतन्त्रलाई फेरि बाटोमा फर्काउनुपथ्र्यो, त्यसका निम्ति हामीले संविधान सभाको दोस्रो निर्वाचनको आयोजना गर्नुं पथ्र्यो । दोस्रो निर्वाचनको आयोजना भयो र त्यो सफलताका साथ, जनताका अत्यन्तै ठूलो सहभागिताका साथ भयो, त्यो हामीलाई थाह छँदैछ ।            एकातिर संविधान सभा असफल भएको तीता अनुभवहरु हामीसँग छन्, अर्को तर्फ दोस्रो संविधान सभाको निर्वाचनको परिणाको भिन्नता र त्यसको अनुकूलताले संविधान बनाउन सकिने, जारी गर्न सकिने अवस्था हामीलाई दिएको छ । नेपाली जनताले एमाले, नेपाली काँग्रेसलगायतका लोकतान्त्रिक शक्तिहरुलाई जो संविधान बनाउने पक्षमा छन्, उनीहरुलाई दुइतिहाइ भन्दा बढी मत प्रदान गरेको छ । शतप्रतिशत हामीले खोज्यौँ भने, कहीं कसैको पनि आउँदैन । शतप्रतिशत कसैले प्राप्त पनि गर्न सक्दैन । अलिकति असहमति त रहन्छ । संविधान जारी गर्ने पक्षमा दुई तिहाइ हुँदा त्यसलाई हामी उपयोग गर्न सक्छौँ कि सक्दैनौँ ? एउटा तथ्य छ, संविधान सभामा कसैको पनि एक तिहाई भन्दा बढी छैन, दुई तिहाई नभई संविधान बन्दैन । संविधान बनाउने हो भने सहमति सहकार्यको बाटो नहिँडीकन कसैले बनाउँछु भन्छ भने, एकतिहाइ भन्दा बढी कसैको छैन, दुई तिहाइ नभई संविधान बन्दैन, कसैसँग सहकार्य गर्दिन, संवाद गर्दिन भन्ने कुराले संविधान बन्नै सक्दैन । त्यसकारण हाम्रो निम्ति सहकार्यको, संवादको र सहमतिका साथ संविधान जारी गर्ने नै हो । हामी चाहन्छौँ कोही पनि हामीले जारी गर्ने संविधानभन्दा बाहिर नहोस् । 
     मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो संविधानका पाँच वटा मूलभूत कुराहरु हुनेछन् । नेपाललाई शान्ति चाहिएको छ, शान्ति खल्बल्याउने, हिंसा भड्काउने, शान्ति स्थापित हुन नदिने कुनै प्रयास हाम्रो संविधानले बोक्ने छैन, बोक्नुहुँदैन । लोकतन्त्रका मूल्य, मान्यता, अन्तर्राष्ट्रय स्तर र मानवजातिले उचाइमा उठाएका अवधारणाहरु हामी छोड्न सक्दैनौँ । विभिन्न प्रकारका भेदभावलाई हामी सहन सक्दैनौँ र सामाजिक सद्भावसहितको समतामूलक सामाजिक न्यायसमेतको समाज हामी स्थापित गर्न चाहन्छौँ । चौथो कुरा राष्ट्रिय एकता खल्बल्याउने अनेक प्रकारका, अनेक नामका, अनेक रूपका प्रयासहरु भइरहेका छन्, हामी राष्ट्रिय एकतालाई कुनै पनि हालतमा खल्बिलिन दिँदैनौँ । र पाँचौं, नेपाल राष्ट्र र नेपाली जनताले भोगिरहेका पछौटेपन र गरिबीका समस्याबाट देशलाई आधुनिकतातर्फ र समृद्धि र सम्पन्नतातर्फ लिएर जान चाहन्छौँ, त्यसका निम्ति हाम्रो संविधानले यी पाँच वटै कुरामा बाटो दिनुपर्दछ । 
     यी कुराहरु प्राप्त नहुने गरी, शान्ति खल्बलिने गरी कुनै सम्झौता हुन्न भन्ने कुरा हामी सबैलाई भन्न चाहन्छौँ । लोकतन्त्रलाई अस्वीकार गर्ने गरी कसैसँग सम्झौता गर्न सकिन्न । असमानता र विभेद कायम राख्ने गरी पनि कसैसँग सम्झौता गर्न सकिन्न । राष्ट्रिय एकता खल्बल्याउने खालका प्रयास र विचारहरुसँग सहमत हुन सकिँदैन । र समृद्धितर्फको हाम्रो यात्रालाई विभिन्ने नाममा भड्काउने, बिथोल्ने प्रयासलाई पनि हामी छूट दिनसक्दैनौँ । तर संवाद, सहमतिबाट नै संविधान बनाउन चाहन्छौँ, सबैसँग कुरा गर्छौँ र हामी अत्यन्तै लचिलो भएर प्रस्तुत हुन्छौँ । यावत् विषयहरुमा मैले भनेको पाँच वटा कुरा हाम्रा आधारहरु हुन्, हामीले छोड्नसक्दैनौँ ।

Thursday, September 4, 2014

चेम्वर अफ कमर्सका पदाधिकारीहरूसँग........

    देशको परिस्थिति हामीलाई थाहा छ । हामी भयानक हिंसाको चपेटाबाट निस्किएर शान्ति प्रक्रियाबाट यहाँ आइपुगेका छौँ । तानाशाहीबाट फुत्किएर, त्यसलाई पराजित गरेर यहाँ आएका छौँ ।
    संविधा
नले बाटो नदिने, राजनीतिले समाधान दिन नसक्ने, राजनीतिक पार्टीहरु किनारा गरिने, सरकार परिवर्तन गर्ने कुनै ठाउँ नहुने, पुरानोलाई हटाउन पनि ठाउँ नहुने, नयाँ बनाउन पनि ठाउँ नहुने, निर्वाचन गरौँ भन्ने हो भने पनि निर्वाचन आयोग नै नभएको, आयोग बनाऔँ भने पनि सिफारिस गर्ने ठाउँ नभएको, त्यसलाई सुनुवाई गर्ने ठाउँ नभएको ।
    यस्तो बहुआयामिक संकट, यस्तो संकटबाट संविधान सभाको दोस्रो निर्वाचन भएपछि संवैधानिक र राजनीतिक हिसाबले सुरक्षित ठाउँमा बल्ल आएका छौं । अब हामीसँग संसद छ । कुनै संवैधानिक संकट प¥यो भने व्यवस्थापिका संसदले त्यसलाई संशोधन गर्छ, कुनै राजनीतिक संकट प¥यो भने व्यवस्थापिका संसदले समाधान दिन्छ, राजनीतिक दलहरुले सरकारमा छन्, तिनीहरुले समाधान दिन्छन्। अब हामी राष्ट्रिय राजनीतिमा मुलुकलाई असफल राष्ट्र हुनबाट, बलियाले लिनबाट जोगाएर लोकतान्त्रिक बाटोमा फेरि फर्काएका छौँ ।
    यसले ठूलो परिवर्तन ल्याएको छ । परिवर्तन मात्र होइन, यस निर्वाचनले सकारात्मक परिवर्तन ल्याएको छ । पुराना स्थापित लोकतान्त्रिक पार्टीहरुको दुई तिहाइको जस्तो स्थिति छ । यस्तो अवस्था भनेको संविधान जारी गर्ने अवस्थाको ग्यारेन्टी हो– खुट्टा टेक्ने हो भने । संविधान जारी गर्ने काममा हामी छौं ।


   
       देशको आर्थिक अवस्था– व्यापार घाटा, उद्योगहरु धमाधम बन्द भइरहेको स्थिति – यी सब हामीलाई थाह छ । यसमा हामीले गर्ने भनेको प्रगतिशील सुधार हो । हामी कुनै परिवर्तनकारी छलाङ मार्ने स्थितिमा छैनौं । अहिलेको संरचनाले पनि हामीलाई त्यसो गर्न दिँदैन । अहिलेको पस्थितिगत संरचनाले हामीलाई प्रगतिशील सुधारमा जान दिन्छ । अहिले आम रुपमा तपाईंहरुको चाहना पनि त्यही नै हो भन्ने मैले पाएको छु । तर देशको समग्र स्थितिमा समग्र परिवर्तन ल्याउने हो भने यति बजेटको ठाउँमा त्यति बजेट, यसका ठाउँमा त्यो गरेर मात्र हुनेवाला छैन । त्यसमा हामीले ठूलो परिवर्तन गर्नुपर्छ । हाम्रा उद्योग नीति, हाम्रा व्यापार नीति, हाम्रा ट्रेड युनियन नीतिहरुमा तालमेल हुनुपर्छ,, सामञ्जस्यता हुनुपर्छ । एउटा नीतिले अर्को नीतिलाई, एउटा ठाउँको व्यवहारले अर्को ठाउँको व्यवहारलाई धराशायी बनाउने खालको हुनुभएन । आ–आफ्नो सीमामा सबै बस्ने खालको र राष्ट्रिय हितमा हाम्रो उद्योग, व्यापार हुने खालको हामे नीति हुनुप¥यो ।
    अहिले अलिक अगाडिसम्म जनताको जितेको मनस्थिति प्रबल थियो । यो जितेको मनस्थितिले लोकतन्त्र र अराजकतालाई मिसाइदिन्छ । जितिसकेपछि पनि विस्तार विस्तारै मुलुक फेरि भयावह अवस्थामा प¥यो । फेरि अर्को खालको निराशा छायो । संविधान सभा भंग भयो र संविधान बन्दैन कि भन्ने खालको आशंका छायो । अन्यत्र आएको निराशा त्यति डरलाग्दो हुँदैन, तर आम जनतामा छाएको निराशा भयानक हुन्छ । निराशा पैदा भएपछि उसलाई विश्वास हुँदेन । विश्वास नभएपछि उसले आक्रोश मात्र व्यक्त गर्छ र कुनै रचनात्मक काम गर्दैन । व्यापारमा पनि त्यही हौ । विश्वास नै भएन भने व्यापार कसरी चल्छ ? लगानी नै गर्दैन ।
    त्यसै गरी आम जनतामा यो भएन र त्यो भएनको आम प्रतिक्रिया उत्पन्न हुने र जनता निराश हुने खालको अवस्था देशका लागि शुभ लक्षण हृुँदैन । अहिले हामी जनतामा व्याप्त निरशालाई आशामा परिणत गर्न चाहन्छौँ ।
    मैले भन्ने गरेको छु – हाम्रो देश व्यापारमा पनि पुरानो देश हो । हाम्रा समुदायहरुर पनि व्यापारमा पुराना समुदाय हुन्,  हालाँकि हाम्रो उद्योग धन्दा अलि पछि सुरु भयो । तर अन्तर्राष्ट्रिय व्यापारमा पनि हाम्रो देश पुरानै देश हो । तर औद्योगीकरणतर्फ जान, आधुनिकतातर्फ जान भरसक निषेध गरिएको थियो । निरंकुश सामन्ती राजतन्त्रात्मक प्रणाली र राणाहरुको जहानिर्या शासनको चपेटामा मुलुकलाई औद्योगीकण हुन दिइएन ।
    एउटा कलेज खोल्दा त्यतिबेलाका शासकले भनेका थिए – म आफ्नो खुट्टामा आफैं बञ्चरो हान्दैछु । त्यो साँचो थियौ – जनता शिक्षित भएपछि, सचेत भएपछि तानाशाही सहँदैनन् । उनीहरुले त्यो कुरा बुझेर नै जनतालाई विभाजित राख्ने, जनतालाई निरक्षर राख्ने र स्कुल कलेज पढ्न नपाइने प्रकारको थिति बसाउन खोजेका थिए । तर समयका क्रममा त्यो सभव भएन र त्यसलाई तोड्दै जानु मात्र होइन, आफैं हिँड्नुप¥यो । र आफैै वाध्यकारी स्थितिमा जाँदा पनि बुझेरै कदम चालेको देखिन्छ– म आफ्ना खुट्टामा आफैं बञ्चरो हान्दैछु । त्यस अन्धकार युगबाट, मध्ययुगीन सामन्ती निरंकुशताबाट आधुनिकतातर्पm हाम्रो पाइला सुरु भएको ६४ वर्प भएको छ ।
    मेरो विचारमा यी ६४ वर्षका हाम्रा उतारचढावहरु अनावश्यक र अनुचित पनि भए । तिनलाई लोकतन्त्रको बाटोमा, जनताको इच्छाको बाटोमा, देशको उन्नतिको बाटोमा जान दिनुपथ्र्योे, लान प्रयास गर्नुपथ्र्यो  । त्यसको सट्टा आफ्ना हितहरुमा बढी केन्द्रित हुने काम भयो । यसले गर्दा कहिले फर्किफर्की तानाशाही आउने, कहिले तानाशाहीलाई अस्वीकार गर्ने नाममा हिंसाको नयाँ चक्र चल्ने भयो । त्यसबाट देश अलिकति मुक्त भएन ।
    हाम्रा पुर्खाहरु विद्वान थिए । बाँकी संसारमा अन्धकार हुँदा यहाँ ज्ञानविज्ञानको उन्नति भएको थियो । अनि हाम्रो भूभाग धर्ती सबभन्दा सुन्दर, उर्वर र जीवनमय भूभाग पनि हो । मैले भन्ने गरेको छु– ठूला देशहरुमा हात्तीगैँडा जन्मेका थिएनन्, सानो देश हो, तर पनि हात्तीगैंडा यही जन्मेको छ । ठूला देशमा यार्चा गुम्वा हुँदैन, हाम्रो देशमा हुन्छ । ठूला देशमा डाँफेमुनाल हँुदैनन्, हाम्रो देशमा छन् । जो अरुकहाँ र्छैनन्, त्यो हाम्रैमा हुन्छ । हाम्रो यो भौगोलिक विविधताले जैविक एवं साँस्कृतिक विविधता जन्माएको छ । यो सुन्दरता हो यसलाई विभाजनको कारण, मनमुटावको कारण बनाउन हुँदेन ।
    जातजातको लडाई.हुने, भाषा भाषाको लडाईं हुने हो भने अन्त शत्रु खोज्न जानुपर्दैन, तरवार निकालेर छिमेकीलाई हानिदिए हुन्छ, किनकि छिमेकी त अर्कै जातको हुन्छ । अब यो स्थितिबाट हामी सोमालिया र कोसोभो भन्दा पनि बढी खतरनाक स्थितिमा पुग्छौं । यी पक्षहरुमा सबैको ध्यान जानुपर्छ, र तपाईंहरुको, जो चेम्बरमा हुनुहुन्छ, व्यावसायिक उद्देश्यहरु छन्, व्यावसायिक हितसम्बन्धहरु छन् । ती हितसम्बन्धहरुले यस्ता कुराहरुलाई, अनुचित कुराहरुलाई निषेध गर्नतिर, प्रोत्साहित नगर्नेतिर नै ध्यान दिन्छ, मैले  तपाईंहरुको थप ध्यानाकर्षण गरेको हुँ ।
    कतिपय देशहरुमा उद्योग वाणिज्य महासंघ वा परिसंघ (सिएनआई) हुँदैन । चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज हुन्छ । चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज भएन भने त्यसले उद्योग हेर्दैन । हामी कहीं जाँदा पनि चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजले स्वागत गर्ने गर्दछ,, कुरा गर्ने गर्दछ । त्यसकारण तपाईंहरुको यो पुरानो संंस्था विभिन्न कारण पछाडि प¥यो र नेपाल चेम्बर अफ कमर्स भन्दा पनि चेम्बर अफ कमर्स, काठमांडाँै जस्तो भयो । अहिले तपाईंहरुले ६२ देशहरुमा विस्तार गरेको भनेर भन्नु भयो, यो राम्रो समाचार हो । यसलाई तपाईंहरुले साँचै राष्ट्रिय चेम्बर अफ कमर्सको रुपमा विकास गर्नुहोस् । यसमा तपाईंहरुले घटक संगठनहरु निर्माण गर्न सक्नुहुन्छ । ७५ वटै जिल्लामा संगठनहरु निर्माण गर्न सक्नुहुन्छ । व्यापारको क्षेत्रमा तपाईंहरुले सिङ्गै देशलाई अगाडि लिएर जान पनि सक्नूहुन्छ ।
जुरे घटनाले ल्याएको समस्या सम्बन्धमा
    यसमा तपाईंहरुका माग जायज छन् । १५ दिन भइसक्दा पनि बाटो खोल्न नसक्नु सरकारको कमजोरी हो । दसैं आउादैछ, दसैंमा उपभोक्ता सामग्रीहरु अत्यधिक चाहिन्छ । त्यति बेला आपूर्ति हुननसक्नु हाम्रा निम्ति सुखद् हुने छ्रैन । त्यसैले त्यसको ब्यवस्था गर्न सरकारले अविलम्ब ध्यान दिनैपर्छ । पुरानो बाटो खृुुलेन भने नयाँ बाटो खोलेर पनि सामान ल्याउनुपर्ने हुन्छ । त्यसै गरी हामीले केरुङको बाटोबाट अस्थायी व्यवस्था गर्न सक्दछौँ । त्यहाँ अलिकति घुम्तीहरु चाहिँ छन् ।
    अर्को कुरा त्यहाँबाट ल्याएका सामानहरु बैरेनीबाट पूर्व–पश्चिम जहाँ पनि पु¥याउन सजिलो छ । यो बाटो अहिले अस्थायी व्यवस्थाको रुपमा प्रयोग गरे पनि पछि स्थायी रुपमै प्रयोगमा ल्याउन सकिन्छ ।
    अहिले राजदूतहरु खाली छन् । बन्नेहरु पनि छन्, तर नियुक्त गर्न सकिएको छैन । यसबाट हाम्रो कूटनीतिक क्षमता र व्यवहारमा असर पु¥याएको छ । लगभग ४० लाख युवाहरु देशबाहिर छन् । तिनीहरुलाई दैनिक समस्याहरु पर्छन्, त्यसलाई हेर्न र व्यापार बढाउन पनि राजदूत चाहियो ।
    आर्थिक विकास हुनुपर्छ भन्ने तर कसरी हुनुपर्छ भनेर कसैले पनि नभन्ने, आर्थिक कूटनीति गर्नुपर्छ भनेर भन्ने तर नगर्ने– व्यस्तो हाम्रो चलन छ । अब हामीलाई मुखको भरकाृ कुराले मात्र पुग्दैन । ठोस रुपमा जानुपर्छ । देशको आर्थिक उन्नतिका लागि कृषि, उद्योग, व्यापार सेवा क्षेत्र, पर्यटन, संरचना निमाणका सम्बन्धमा केकस्ता आर्थिक नीतिहरु चाहियो भन्ने हुनुप¥यो । र्हामीलाई आर्थिक नीति चाहियो भन्ने मात्र होइन, यी यस्ता खालका आर्थिक नीति सरकारले अपनाओस्, यसप्रकारले देशको उन्नति हुन्छ भन्ने ठोस योजना होस् भन्ने हुनुप¥यो । यसबाट हामीलाई फिडब्याक पनि हुन्छ र हामी त्यसमा जान पनि सक्छौँ ।
    जहाँसम्म विद्युतीकरणको प्रश्न छ, पाँच वर्षभित्र लोडसेडिङ्गबाट देशलाई मुक्त गर्ने र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने भन्ने छ । यो कुरा गफ चुट्ने मात्र कुरा होइन । हामीसँग प्रचुर मात्रामा खनिज छ र प्रचुर मात्रामा जलस्रोत छ, न हामीले पानीको समुचित उपयोग गर्नसकेका छौँ, न हामीले खनिजको समुचित उपयोग गर्न सकेका छौँ, खनिजको त चाहिँदो मात्रामा अन्वेषण पनि हुन सकेको छैन । यो ढुङ्गाको देश हो, यहाँ हीरा जस्ता मूल्यवान् कतिका होलान्,  अन्वेषण, अनुसन्धान हुनसकेका छैनन् । हामीसँग प्रशस्तै रुबी होलान्, तर कहाँ छन् भनेर खोज्न सकिएको छैन, यस्तै भएका कुराको उत्खनन पनि गर्न सकिएको छ्रैनन् । हामी कहाँ यत्रो हाइड्रो पावर छ, कुनै विद्वान्ले देखाइदिनु पर्दैन हामीलाई नै थाह छ । त्यसलाई हामीले देशका लागि उपयोग गर्नु पथ्र्यो, तर स्वतः विनाशका लागि छोडिदिएका छौँ । यसबाट हामीले लाभ लिनुको साटो विनाश व्यहोरी राखेका छौँ । अब हामीले पाकृतिक विपत्ति पर्खेर बस्ने होइन, जलस्रोतलाई नियन्त्रण गरेर विकासका लागि लगाउनु प¥यो ।
औद्योगिक ऐनका सम्बन्धमा
    औद्योगिक ऐन लगायत जुन २२ वटा ऐनहरु संसदमा पेश भएको छ ती ऐनहरु छिटो पास हुनु जरुरी छ । उद्योग वाणिज्य महासंघ र तपाईंहरुको पनि धारणा यसले अलि प्रगतिशील सुधार, अलिकति सकारात्मक वातावरण दिन्छ र यसबाट हामीलाई अगाडि बढ्न सहयोग मिल्छ । यसमा नेकपा (एमाले) ले समर्थन जनाउँदछ । यी ऐनहरु पास भए पछि केही सकारात्मक प्रभाव चाहिँ पक्कै पुार्दछ ।
    मैले भनिहालेँ अहिले तपाईंहरुको माग भनेको परिवर्तनकारी नभई सकारात्मक, प्रगतिशील सुधारमै छ, परिवर्तनकारी हिसावको छैन । तर हामी कृषिको क्षेत्रमा र उद्योग वाणिज्यको क्षेत्रमा परिवर्तन हिसाबमा गएनौँ भने जुन विशाल व्यापार घाटा छ त्यसलाई पूर्ति गर्न सक्दैनौँ र त्यो बढ्दै जानेछ । हामी –आपूर्ति गर्ने श्रमिक देशको रुपमा रहन्छौँ यस स्थितिलाई हामीले बदल्नै पर्दछ ।
साझा आर्थिक एजेन्डाका सम्बन्धमा
    साझा आर्थिक एजेन्डा राम्रो कुरा हो । तर अहिलेसम्म के भइरहेको छ भने प्रायः दलहरु मुखले हुन्छ, हुन्छ भन्ने तर काम गर्ने बेलामा एउटा, एउटा निहुँ निकालेर हिँड्ने–यस्तो भइरहेको छ ।
    मैले भन्दै आएको छु – संयुक्त राष्ट्र संघको बढापत्र,  सार्कको बडापत्र, हामीले हस्ताक्षर गरेका अनुबन्धहरु प्रतिको हाम्रो प्रतिबद्धता पनि आधार हुन् । यी सिद्धान्तहरुमा आधरित भएर राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर वैदेशिक सम्बन्ध, व्यवहारहरु निर्धारण हुन्छन् ।
    हाम्रो व्यापार नीति पनि यिनै कुराबाट निर्देशित हुन्छ । सकेसम्म हामी समानताका आधारमा सम्बन्ध कायम गर्छौ, त्यसमा पनि हामीले सुविधायुक्त व्यवहार प्राप्त गर्नुपर्छ किनभनेह हाम्रा छिमेकीहरु आर्थिक विकासमा धेरै अगाडि गएका छन् । छिमेकीहरुसँग बराबरीको सम्बन्ध मात्रात्मक हिसाबम ागर्न सकिँदैन, तर सार्वभौम राष्ट्रको हिसाबमा हामी बराबरको सम्बन्ध कायम गर्न सक्छौँ । धेरै अगाडि पुगिसकेका हाम्रा छिमेकीहरुले हामीलाई सुविधायुक्त व्यवहार दिनुपर्छ ।
ऊर्जा संकट, उच्च प्रविधि नहुनु, उच्च व्याजदरका कारण उत्पादन लागत बढेको सम्बन्धमा
    यसमा कर प्रणालीमै सुधार गर्न आवश्यक छ । कच्चा पदार्थ आयात गर्दा पनि कर तिर्नुप¥यो अनि वस्तु उत्पादन गर्दा पनि कर तिर्नु प¥यो, साथै भ्याट पनि गर्दा वस्तु उत्पादन महँगो भयो । कर यहाँ लाग्ने कि वहाँ लाग्ने, सब्सिडी दिने कि रिटर्न दिने भन्ने हुनुप¥यो ।
    हामी राष्ट्रिय उत्पादनलाई बढावा दिने भन्छौँ, त्यसअनुसार त्यसका लागि के गर्ने हो भन्ने कुरा तय हुनु प¥यो । हामी विश्व व्यापार संगठन (डब्लूटिओ) मा प्रवेश गरेका छौँ, तर राष्ट्रिय हितलाई संरक्षण र, संबद्धन गर्न डब्लूटिओले रोकेको छैन । हामी राष्ट्रिय हितको संरक्षण पनि गर्छौ र डब्लूटिओको मान्यताअनुसार पनि जान्छौँ ।
    हाम्रो देश धेरै पछि आधुनिकतामा प्रवेश ग¥यो । त्यसपछिको ४० वर्षसम्म तानाशाही र हत्याहिंसा चल्यो । मोटामोटी २४ वर्ष लोकतन्त्रले काम गर्न पायो । अब चाहिँ विज्ञान प्रविधिले विकास गर्ने अवस्था आएको छ । यसका लागि विज्ञान प्रविधि मन्त्रालयलाई पनि सक्रिय बनाउनुपर्छ र अरुले पनि काम गर्नु पर्छ ।
    राष्ट्रलाई जे चाहिन्छ त्यो राष्ट्रले भित्र्याउँछ, तपाईहरुलाई जे चाहिन्छ त्यो तपाईंहरु भित्र्याउनुस् । तपाईंहरुले भित्र्याउँदा सेवा सुविधा जे चाहिन्छ त्यो राष्ट्रले उपलब्ध गराइदिनुप¥यो । तपाईंहरुले प्रविधि भित्र्याउँदा उत्पादन हुन्छ, रोजगारी बढ्छ । राष्ट्रले जे सहयोग पु¥याउनुपर्ने हो पु¥याउनुपर्छ । हामी हाम्रो तर्फबाट सहयोग पु¥याउन तयार छौँ ।
    उच्च व्याजदर घट्नुपर्छ ।
अन्तमा,
    हाम्रो देश जडीवूटीको देश हो, हाम्रो देश पर्यटनको देश हो । तर हामीले त्यसको उपयोग गर्न सकेका छैनौँ । अरुले बसेको बुद्धको मूर्ति देखाएर पर्यटक भित्र्याउँछन्, तर हाम्रो त बुद्ध जन्मेकै देश हो ।
    नेकपा (एमाले) को केन्द्रीय  कार्यालयमा आउनु भएकोमा तपाईंहरुलाई धन्यवाद छ । फेरिफेरि यस्ता अन्तक्र्रिया दुवै पक्षका प्रतिनिधि पनि बसेर गर्दै जानुपर्छ । धन्यवाद !